
आँशु
सुशील लामा
हृदयको नदेख्ने गोप्य भाषामा बोल्छन्,
आँशुहरू
मनुसनमा बर्षिने झरीका थोपाहरू जस्तै
मुजा परेका गालाहरूको कुलेसी हुँदै
कोमल कलिला गालाको बाटो हुँदै
मुटु छेक्ने छातिको बाटा तल झर्छन्।
प्रत्येक थोपा हरुमा
लुकेको छन् अनेक कथा,
एक पलको क्षणभरको प्रदर्शन
मनको बेजोडका भाषा,
भावनालाई शान्त बनाउने शान्तिको नदी
आँशु … !
बिरहमा बग्ने आँशु
बादल चिरेर पहाड बगाउदै गरेको उग्र झरीजस्तै,
दिनको उज्यालोमा चम्किरहेको
उज्यालो अनुहारबाट खर्चिने
खुशीको आँशु
हाँसोका साथ नाच्छन्, धेरै उज्यालो क्षणहरूमा,
उज्यालो अनुहार बोकेकाहरु
जीवनको उत्सव, एक शुद्ध आनन्द
प्रत्येक आँखाबाट झर्ने आँशु-
शान्त फुसफुसे वर्षा जस्तै,
बिस्तारै झरेको झरीले
सफा पारे झैं पारीको पारीलो पाखा
आत्मालाई शुद्ध पार्छन्,
चराएको चोटहरू पखाल्छन्,
धन्य छ ।
सधै साथ रहने
प्रीय आँशु … !!
पिडाको गहिरो गहिराइमा,
जहाँ हृदयहरू प्रायः डुल्छन्
डुबुल्की मार्दै गरेको मनहरुलाई
खर्चिने-
सहानुभूतिको आँशु
अरुको कुभलोको लागि,
वैमानी पुर्वक देखाउने
देख्नेलाई देखाउन बगाउने गोहिँको जस्तै आँशु
समर्पणमा साझा हुने भावना-
गहिरो सम्बन्धलाई उर्वर पार्न
बगाएका आँशु-
मौनता भंग गर्दै बग्ने आँशु
प्रेमको आँशु
भक्तिको शक्ति आर्जनको निम्ति
ईश्वरलाई सम्झेर बगेका आँशु
प्रेमीको आँखामा-
प्रेमको प्रमाण स्वरूप छछल्केका आँशु
एक अनन्त अज्ञात खोज
आँशुलाई-
बग्न दिनुहोस्, लाज र डर बिना,
आँशुमा-
उपचार पाउँछौं
आँशुमा हामी अनुग्रह पाउँछौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)