अरबबाट राजा आए, गए

सुशील लामा

आफ्नाहरुलाई सदियौं देखि ढाट्ने-छल्ने
ढटुवाहरुले
अरबको मौसुफ सवारी हुदैँ गर्दा
एक्काईस तोपको सलामी टक्र्याए
सधैं-सधैं कुरुप भएर बसेका
सडकको मुटुमा परेको खाल्डाखुल्डी पुरे
गरिबीको तुवाँलोले बिरंगिएको भित्ताहरु
सौंजन्यमा पाएको नक्कली रंगमा पोतिए
भाडामा ल्याएको गमला फुलेको
फुलै-फुलको कोशेली ले स्वागत गरे
बागमती-बिष्णुमतीमा बग्दै गरेको
नेपाली पहिचानलाई
सकेसम्म लुकाए नसकेकोमा
त्यो रुडबाट राजालाई छलाए
अरबबाट राजा आए अनि गए…

आफ्नो देशको राजालाई
गद्दीबाट झारे,
कुनि के-के तन्त्र ल्याए
तन्त्रलाई मन्त्र बनाएर देशमा भएको युवालाई
राजाले शासन गरेको देशमा
दामासाईमा बगरेलाई बेचेको खसी-बोका सरि
बेचे, लिमाल गरे
महंगो शहरको सस्तो श्रमबजारमा
स्टार लक्जरी होटेलमा
लक्जरी मान्छेहरुले भेटे राजालाई
के-के कुरामा सम्झौता गरे उनीहरु जानुन्
तर
के बिपिन जोशिका आमाको मनमा परेको घाउमा
लगाउलान त मलम ?
के खलिफा र जसिम बिन हमाद अन्तर्राष्ट्रिय खेलमैदानमा
रगतपसिना पोखाएका नेपाली ले
अन्तरास्ट्रिय श्रमिकले पाउने
अधिकार को सुनिश्चित गर्लान् ?
५० डिग्रीको घाममा आफू सुकेर
आफ्नाहरुको जिन्दगीलाई हरियाली बनाउने
युवाहरूको वेदनालाई सुनी देलान् ?
छाडिदिम यस्ता झ्याउकुरा
अन्ततोगत्वा !
अरबबाट राजा आए, उनी फर्केर गए ।

कतारको राजा हतार-हतार आए
हतारैमा फर्की पनि हाले
आशा गर्ने आशेहरुलाई के-के पाए
देशको के-के गुमाए ?
झण्डै-झण्डै उपहार बनेर
नबोलेनी मान्छेजस्तै गुणिलो
रुद्रकली र खगेन्द्र राजा सँगै जानू परेन
यसरी जानू पनि नपरोस् ।
अरुको देशको राजा आउँदा
हाम्रा देशको राजवादी हरुले सामाजिक संजालको
पाना-पानामा राजा ल्याए ।
राजा र राजकाजको कथा सुनाए ।
उच्च ओहदाको धेरै कुरा सुने
भुइँ मान्छेको न कथा सुनाए न ब्यथा ।
देश प्रेमको कुरा गर्ने
शासकले देश बनाउने युवालाई सास्ती होईन
साथ दिएर, देश फर्काउने मेसो गरौँ ।
अरुको देशको राजाको आशामा
युवाशक्तिलाई देशबाट नधकेलौँ ।
अरबबाट राजा आए, गए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button