कवि विप्लव, जसको जिब्रो निकै संवेदनशील छ

आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा डा. विप्लव ढकाल ।

सुरुमा कृपया यहाँको परिचय ?
म निरन्तर साधनामा लागिरहेको एउटा कवि हुँ । वाङ्मयको अनुसन्धानमा पनि मेरो गहिरो रुचि छ । लगभग चार दशकदेखि अक्षरको गिटी कुट्दै हिँडिरहेको एउटा स्वप्नदर्शी यात्री हुँ । मेरो दृष्टिमा आफ्नो परिचय यही हो ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मलाई सबै किसिमको खानामा रुचि छ । मेरो जिब्रो निकै संवेदनशील छ । गुलियो, अमिलो, पिरो सबै स्वाद मन पर्छ । जापानी परिकार ‘सुसी’ र ‘करी राइस’ अत्यन्तै मन पर्छ । किनभने यी स्वादिला र स्वस्थकर खाना हुन् । आत्मसन्तुष्टि मिल्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
म भ्रमणप्रिय व्यक्ति हुँ । धेरै ठाउँ घुमेको छु । तर मलाई आफूले बाल्यकाल बिताएको मेरो जन्मभूमि याकु अत्यन्तै मन पर्छ । खासगरी गोठालो जाँदा घुमेका वनजङ्गल, भीर, पहरा, खोलानाला र डाँडाकाँडाले मेरो मनमा गहिरो प्रभाव पारेका छन् । यिनैको स्मृतिबाट म कवितामा बिम्बक‍ो खोजी गरिरहेको हुन्छु ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
धेरै विषयका धेरै किताबहरू पढेँ । खासगरी कविताका किताबहरू खोजीखोजी, दोहर्याई तेहर्याई पढेँ । तर मलाई सबैभन्दा मन परेको किताब ‘महाभारत’ हो । यो हाम्रो सभ्यता र ज्ञानपरम्पराको महायात्रालाई सूक्ष्म र व्यापक रूपमा प्रतिबिम्बित गर्ने एउटा महाग्रन्थ हो । राजनीति, कूटनीति, समाजशास्त्र, संस्कृति, मनोविज्ञान, अध्यात्म आदि बहुविषय समेटिएको यति गहिरो पुस्तक लेख्न त्यस जमानामा कसरी सम्भव भयो होला ? म छक्क पर्छु ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई यो धर्तीमा जन्म दिने आमा पुष्पकुमारी र बुबा तोयानाथ, मेरो जीवनयात्रामा निरन्तर साथ दिने श्रीमती पद्मा र मेरो भविष्यको संवाहक छोरो विकल्प मेरा सबैभन्दा प्रिय व्यक्तिहरू हुन् । मेरो जीवनका आधारस्तम्भ हुन् । यी चार व्यक्तिलाई अलग राखेर म आफ्नो अस्तित्वको कल्पना गर्न सक्दिनँ ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
म एकोहोरो स्वभावको मान्छे हुँ । कुनै काममा लागेपछि संसारै बिर्सेर घण्टौँसम्म, महिनौँसम्म, वर्षौँसम्म एकोहोरो काम गरिरहन सक्ने धैर्य र जाँगर मभित्र छ । आफूले थालेको काम नसकी भोकनिद्रा केही थाहा पाउँदिन । निदाएँ भने पनि मृत्युतुल्य निदाउँछु । निदाएको बेला भूकम्प गयो भने अरू मान्छे घरबाट भागेर फर्किसकेपछि मात्रै थाहा पाउँछु । मेरो यही स्वभाव नै मेरो शक्ति पनि हो, कमजोरी पनि हो । मलाई मेरो यही बानी रमाइलो लाग्छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
स्वदेशी नेताहरूमा मलाई विपी कोइराला, राजा महेन्द्र र मदन भण्डारी मन पर्छ । फरकफरक वैचारिक कित्ताका यी तीनै जना व्यक्तित्वहरू नेपालको इतिहासमा आफ्नो स्पष्ट विचार र दृष्टिकोण बोकेका प्रभावशाली नेताहरू हुन् । राजनीतिक नेतृत्वमा हुनुपर्ने विशिष्ट गुण यिनमा रहेको छ । विदेशी नेताहरूमा मलाई महात्मा गान्धी र नेल्सन मण्डेला विशेष मन पर्छन् ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
नेपालमा बसोबास गर्ने हरेक जातजातिका चाडपर्वहरूका आफ्नै विशेषता र महत्त्व रहेका छन् । चाडपर्वहरू हाम्रो मौलिक पहिचानका विशिष्ट आधारहरू हुन् । मलाई सबै जातजातिका चाडपर्वहरूप्रति उत्तिकै सम्मान छ । माझकिरातमा जन्मेको मान्छे हुँ । राईहरूको साकेला नाच पनि नाचेको छु । मलाई सबभन्दा बढी मन पर्ने चाडचाहिँ तिहार हो । यसभित्रको विविधताले म सधैं रोमाञ्चित हुन्छु । एउटै चाडभित्र अनेकौं विशेषताहरू समेटिएका छन् । तिहार मलाई प्रकृति र संस्कृतिको अनुपम सङ्गम हो जस्तो लाग्छ । यसमा जीवनका सबै रङहरू मिसिएका छन् ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मैले रोजेको पेशा शिक्षण पेशा नै हो । लगभग तीन दशक कक्षाकोठामा उभिएर मैले जीवनको ऊर्जाशील समय बिताएको छु । कक्षा १ देखि स्नातकोत्तरसम्म मैले सबै तहका विद्यार्थीहरूलाई पढाएको छु ।सरकरी र निजी दुवै क्षेत्रमा लामो समयदेखि कार्यरत छु । त्यसैले शिक्षण पेशा मेरो जीवनपद्धतिसँग अभिन्न रूपमा गाँसिएको पेशा हो । म आफ्नो पेशाप्रति गर्व गर्छु । मलाई लाग्छ- यो पेशा एउटा गतिशील र जीवन्त पेशा हो । यसमा हरेक दिन आफूलाई नवीकरण गर्ने अवसर पाइन्छ । शिक्षक आफैंमा एउटा विद्यार्थी पनि हो । समयको गति र युगको परिवर्तनलाई सबैभन्दा नजिकबाट शिक्षकले नै पढ्न र बुझ्न सक्छ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
म बहुलतामा विश्वास गर्छु । विविधतालाई प्रेम गर्छु । विविधताभित्रको एकत्वलाई सम्मान गर्छु । रङहरूको एकत्वबाट नै जीवनको इन्द्रेणी निर्माण हुन्छ । मलाई लाग्छ- सबै रङहरू जीवनका रङ हुन् । तिनका आआफ्नै अर्थ र विशेषता भए पनि जीवनको पूर्णतालाई अभिव्यक्त गर्न सबै रङहरूको उत्तिकै महत्त्व हुन्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
गीतको सन्दर्भमा पनि म विविधतालाई नै सम्मान गर्छु । सबै किसिमका गीतहरू सुनेको छु । गाउँघरमा लोकगीत सुन्दै बाल्यकाल बिताएको व्यक्ति हुँ । थुप्रै लोकगीतहरू सुनेको छु । भजनहरू सुनेको छु । राष्ट्रिय गीतहरू सुनेको छु । शास्त्रीय गीतहरू सुनेको छु । नबुझे पनि अनेकौं भाषाका गीतहरूको लयलाई आत्मसात गरेको छु । सुफी गीतहरू अलि बढी सुनेको छु । यी सबै प्रकारका गीतहरूले मलाई मेरो सपना खोज्न प्रेरित गरेका छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button