
म बेचिएको मान्छे !
सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक-११, हाल: लिमासोल, साईप्रस
हो, म बेचिएको मान्छे
म बेचेर टाढा आईपुगेको छु
मलाई किन्नेले खोज्दै गएको थिएन मेरो ठाउँमा
मेरो ठाउँको मेरै आफ्ना भनाउदाहरुले
मिठा-मिठा सपनाहरू देखाएर
नफस्ने भनेको मलाई गज्जबले फसाए
आफैंले आफैलाई बेच्न
अफुग नगदमा
बाउ-बाजेको बिरासत जिन्सीको पुर्जा
सर्बसुलभ सहाकारिमा धितो राखेर
माग्नेले मागे जतिको रकम भुक्तानी गरेर
म बेचिए आफैले आफैलाई
म बेचिएको मान्छे !
…
म बेचिएर आएदेखि
मेरो खुशीको रंग बदलेको छ
मेरो रहरको मुल सुकेको छ
मेरो उमंगको बगैंचामा कालो गुलाफ फुलेको छ
मेरो बिवासताको फाईदा लिएर
मलाई लिलाम गर्नेहरुको
चुलोमा भोक होईन
अनैको ब्यंन्जन पाक्दैंछन् रे
म बेचेर अपनाको ऎश्वर्यले
गाउँ छोडेर मुकाममा महल ठडाएको
खबरले म आफ्नै प्रारब्ध सम्झेर
खिस्स हाँस्ने गरेको छु, आजभोलि
मेरो लाला-बालाको सपना अपहरण गरेर
उनको सन्ततिको सुन्दर भविष्य निर्माण गर्दैछन् रे
म हेपिएर होईन
छलाएर बेचिएको मान्छे
मेरो सपनाहरू बिक्री भैसकेको छन्
मेरो कल्पनाहरु लावारिस भएर
उदास साँझहरुसँगै टहलिदैँ छन्
अब मसँग
खोक्रो मेसिन जस्तै चल्ने
तीस-पैंतीस धार्नी जत्तिको
हाड- मासुको सजिव थुप्रो हुँ
मेरो मन मरिसकेको छ
मेरो मस्तिष्कले के के सोच्न थालेको छ
सोचाईहरु
कहिले आगो बनेर बल्न खोज्छ
कहिले चट्याँङ्ग बनेर उस्को मति माथी खस्न मन लाग्छ
जस्ले मेरो सोझोपनालाई
खेलौन बनाई गयो
हो, म बेचिएको मान्छे !
…
ए, साँच्चिकै
तिमित बगरे जस्तै
नामुद मानिस बेच्ने ब्यापारी
सक्छेउ भने
अब,
मधुशालाबाट केहि दिनको
छुट्टी लिएर आउ
अनि एउटा भव्य
बदशालामा स्टल थापेर
मेरो मुटु,कलेजो, मृगौला लिने
मान्छे खोजेर
तिमी ब्यापारी बनेर बेचिदेउ
जुन बेचिएको पैसाबाट
कम्से कम मेरो बाला-बच्चाको
आधा बाटोमा छुटेको
शिक्षा पूरा हुनेछ
हो, म त आफैले आफैलाई बेचिएको
आधुनिक युगको
बिकाउ सभ्यता थाम्ने
अनौपचारिक अनौठो मान्छे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)