बागबजारः एक रोचक तर मार्मिक कविता

बागबजार

गोविन्द श्रृङ्खला
काठमाडौ–१४ कुलेश्वर

बागबजार,
विद्यार्थी र युवाको लस्करमा,
देश हाँक्नेलाई कटाक्ष गर्दैछ ।

आफु अनागरिक उत्पादनको साक्षी बनेकोमा,
बैदेशिक अध्ययन परामर्शका साइनबोर्डहरुले,
सडकमा कुदिरहेका युवालाई,
वर्षौदेखि नियालिरहेछ ।

उनीहरुको अन्धकार भविश्यप्रति,
परामर्शको कथित उज्यालो छर्ने,
क्षणिक न्यानो,वागबजारको नियती,
बागबजारको बाध्यता ।

युवाको भविश्यमा देश मौन,
मौनताभित्रको अदूरदर्शिता,
देश युवाहरुको घृणा बन्दा,
बागबजारले भजाइरहेको छ,
युवाका सुनौला भविश्य
अनागरिक बनाउने खाका कोरेर ।

सडकका हरेक अवयवहरु
युवाका अनियन्त्रित पदचापबाट दुखी,
युवाका पीडाले मर्महात,
देशको माटो,
देश लुट्नेबाट निरिह,
माटोमै अस्तव्यस्त,
पैतालाको धुलो हिनताबोधले,
विक्षिप्त,
माटो हुनुको सार्थकता
खोजिरहेको छ
अनि,
युवाको चरम निराशालाई
पल पल अंकमाल गर्दै,
यी निर्जीव सडकहरुले
मान्छेका मर्मलाई सात्क्षात्कार गरेका छन्,
युवाका छटपटी महसुश गरेका छन्,
युवा शक्तिले खोक्रिदै गएको देशलाई,
आत्मसात् गरेका छन् ।

तर
मन भएका मान्छेले (राज्य चलाउने)
मान्छेको मन बुझ्न सकेनन्
देश बुझन सकेनन्,
आफ्नै आमाको क्रन्दन सुन्न सकेनन्
यसैले त बागबजार भन्छ
जाउ युवा जाउ,
तिम्रो भविष्य कोर्ने देश,
आफ्नै भविष्यमा विश्वस्त छैन ।

देश बनाउने इमान्दार,
देश चलाउने इमान्दार,
अनि
देश बुझने इमान्दार
देशले कहिले पाउला ?
वागबजारको प्रश्न
जवाफ छैन कतै ।

विमानस्थलका
प्रस्थान कक्ष भरिएकोमा समृद्धि देख्नेहरु,
विप्रेषणले अर्थतन्त्र बलीयो बुझ्नेहरु,
राज्यको ढुकुटीमा जागीर खानेहरु,
देशको सामथ्र्यलाई,घुडा टेकाउनेहरु,
यौटा प्रलयले,
नामेट नभएसम्म,
फल नदिने ऐजरुहरु
अन्तरकुन्तरका जराहरु
निमट्यान्न नभएसम्म
बागबजारका गल्ली गल्लीहरु
बैदेशिक अध्ययन परामर्शका,
साइनबोर्डहरुले रङ्गिरहनेछन्
होनहार युवाहरुलाई,
तेस्रो देशको अनागरिक बनाइरहने छन्
विमानस्थल फराकिलो बन्दै जाँदा,
देश साघुरिदैं गएको छ ।

एक दिन बागबजारका
सवै साइनबोर्डहरुमा खिया लाग्नेछ,
मान्छे नै नभएको शहर,
शून्य शहर, मृतः शहर
रित्तिएको शहर,
खण्डहर बनेको शहर ।

बागबजार,
काठमाडौको मुटु शहर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button