किताबका कुराः त्यो खन्युको रुख र गोमा, जसले मलाई अनुसन्धानमा ताने

रामेश्वरी पन्त

सायद स्वस्थानी कथा सुन्नसक्ने हुँदा म पनि पुगनपुग सातवर्षकी थिएँहुँला । तल रुम्टाको घरमा साँझको खाना खाइसकेपछि मझेरीमा गुन्द्री ओछ्याएर सबैजना गोलोगरि बस्थ्यौं । माइल्दाइले रातो टालोले बेरेर राखेको स्वस्थानीको किताबलाई टालोबाट बाहिर निकालेर दुबैहातले उचाली निधारमा लगाएर ढोग्नुहुन्थ्यो र अगाडि राखेर पढ्ने तयारी गर्नुहुन्थ्यो । हामी हातमा फूल लिएर दाइको वरिपरि बस्थ्यौं । त्यतिन्जेल आमाले पनि जुठोभाँडा, चुलोचौका सकिसक्नुहुन्थ्यो ।

पुस–माघ महिना खासै फूलको मौसम होइन । गाउँघरमा यतिबेला पाइने फूल भनेको या त धुर्सेलीको फूल हुन्थ्यो या टटलोको । खरबारीमा टटलोको रुख थियो । कार्तिकमा खर काट्ने बेलामा दाइहरूले टटलोको कोसा टिपीदिनुहुन्थ्यो र घरमा लगेर दलिनमा सिउरेर राख्थ्यौं । यो कोसा पाकेपछि पट्ट फुट्थ्यो र त्यसभित्रबाट पत्रैपत्र परेर बसेको सेतो र नरम फूल बाहिर निस्कने कोशिश गथ्र्यो । फूल अचम्मै राम्रोसँग मिलेर, पत्रैपत्रगरि टाँसिएर बसेको हुन्थ्यो । कोसालाई अलिकति फोक्याइदिने बित्तिकै सलल्ल गरि फूलजति भुइँमा थुप्रो लाग्थ्यो । त्यसैले यस्तो नहोस् भनेर टटलोको कोसालाई डोरीले बाँधेर दलिनमा सिउरिनुहुन्थ्यो आमाले । त्यो कोसा कत्रो हुन्थ्योभने सिधा ठड्यायो भने मान्छेजत्रो । म भन्दा त कति अग्लो कति ! त्यही धुर्सेली र टटलोको फूल अनि बदाम, उखु र मेवाका टुक्राको प्रसाद थालीमा राखेर स्वस्थानीवाचन शुरु हुन्थ्यो ।

उबेला माइल्दाइले सुनाउने स्वस्थानी कथामा कोको आउँथे त्यो त्यति याद छैन मलाई । मलाई याद भएकी त त्यही गोमा हो । पुग नपुग सात वर्षको कलिलो दिमागले सुनेको स्वस्थानी कथामा सात वर्षकी गोमाको सत्तरी वर्षे शिवशर्मासँग बिहे भएको र गोमालाई अन्माएर पठाएपछि गोमा गएको बाटो हेरिरहेका उसका बाबुआमा शिवभट्ट ब्राम्हण र सती ब्राम्हणी गोमा आँखाबाट ओझेल परेपछि अझै देखिन्छे कि भन्दै रुखमा चढेर पर–परसम्म हेरिरहेको र हेर्दाहेर्दै रुखको हाँगा भाँचिएर खसि दुबैजना मरेको घटनाले साह्रै नरमाइलो लाग्थ्यो ।

गोमाको यो कथा पढ्दा दाइको आवाज पनि केही अड्किअड्कि आएजस्तो लाग्थ्यो । आमाले धोतिको सप्कोले आँसु पुछ्नुहुन्थ्यो । दिदीहरूका अनुहारमा हेर्थें, आँखा पिलपिल ! आफ्नै उमेरकी गोमालाई त्यस्तो नराम्रो बुढोसँग बिहे गरेर घर पठाएको र यता गोमा गएको हेर्दाहेर्दै रुखबाट खसेर बाबुआमा मरेको कुरा सुनेर मेरोभने घाँटीमा केही आएर अड्केजस्तो लाग्थ्यो ।

‘कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनि’बाट शुरु भएको कथा जब दाइले ‘ईति श्री स्कन्द पुराणे माघ महात्म्य …’ भन्दै अन्त्य गर्नुहुन्थ्यो, हरेक अध्याय सकेपछि हातमा लिएको फूल स्वस्थानीको किताबमा चढाउँथ्यौं । दाइले एक दुई अध्याय पढेर त्यस दिनको कथावाचन टुङ्ग्याउनुहुन्थ्यो । सबैले हातको फूल स्वस्थानीको किताबमा चढाएर ढोग्थ्यौं र प्रसाद (कहिले बदाम, कहिले उखुका टुक्रा त कहिले मेवाका चाना) बाँडेर खान्थ्यौं र सुत्न जान्थ्यौं ।

ओछ्यानभित्र पसेपछि पनि निकैबेर गोमाको बिहेले पिरोल्थ्यो मलाई । त्यो सानी बच्ची त्यस्तो बूढोसँग कसरी बस्ली ? भात पकाउन, भाँडा माझ्न सक्ली कि नसक्ली ? बिहानै उठेर कसरी दैलो पोत्ली ? झिसमिसेमै पँधेरोबाट गाग्रीभरि पानी बोकेर कसरी ल्याउली ? त्यो बूढो लोग्ने शिवशर्माले बिचरी गोमालाई माया गर्ला कि कुट्ला ? बुबाले कहिलेकाहीँ रिसको झोंकमा आमालाई कुटेको देखेकी मैले कामगर्न सकिन भनेर शिवशर्माले गोमालाई कुटेको कल्पना गर्थें र निकैबेर निदाउन सक्दिनथेँ ।

घर अगाडि आँगनको डिलमै एउटा बडेमानको खन्युँको रुख थियो । त्यसको एउटा हाँगो तेर्सो परेर गएको थियो । बाँकी दुईवटा हाँगा सिधै माथि अग्लिएका थिए । कान्छादाइ र दिदी ती सिधै अग्लिएका हाँगामा चढ्न सक्नुहुन्थ्यो र मज्जाले बस्नुहुन्थ्यो तर म भने सकिनसकि त्यही तेर्सो परेको हाँगामा जान्थेँ र केही पर पुगेर खसिन्छकि भनेर डराईडराई एकैछिन बसेर ओर्लिहाल्थेँ ।
हाम्रो घरबाट अलिपर खेतैखेत गएपछि एउटा कुवा थियो । त्यहीँबाट एउटा बाटो माथि गाउँतिर लाग्थ्यो, अर्को बाटो तल ओरालो झर्दै ओझेल पथ्र्यो । म, प्रायः खन्यूँको बोटको त्यही तेर्सो हाँगोमा सकिनसकि चढेर एकैछिन बस्थेँ र स्वस्थानी कथाको यात्रा गर्थें । यस्तो लाग्थ्यो– गोमाको बिहे यही घरबाट भएको थियो र बिहेपछि बूढो दुलहा शिवशर्माको पछि लागेर सानी फुच्ची गोमा आमाले दिएको पोको खोकिलामा च्याप्दै ऊ त्यही खेतको आलीआली हिंड्दै गएर त्यही कुवासम्म पुगिहोली र त्यसपछि ओरालो लागेर अलप भइहोली । अनि छोरी कुवाबाट ओरालो लागेर आँखाबाट ओझेल भएपछि गोमाका बाआमा खन्यूँको यही हाँगामा चढेर हेरेहोलान् र देखिन छोडेपछि पनि तन्किएर हेर्नखोज्दा दुबैजना त्यहाँबाट खसेर मरेहोलान् ।

गोमा त्यो कुवाबाट ओरालो झरेर कहाँ जान्थी मलाई थाहा थिएन । शिवशर्माको घर त झन कहाँ थियो थाहा हुने कुरै भएन किनकी गोमाका बाबु शिवभट्टले शिव शर्मालाई सिधै नदीकिनाराबाट उठाएर ल्याएको थियो । आफूले दुःखगरि केलाएको अक्षता दिइन भनेर भिक्षुरुप महादेवले श्राप दिएपछि रोइरहेकी गोमा, सातवर्षकी गोमाको कन्यादान गर्नका लागि वर खोज्न हिँडेको शिवभट्टले झमक्क रात परेपछि एउटा सत्तरी वर्षको कुप्रो, दाह्रा निस्केको, ¥याल चुहाउने कुरुप बृद्धलाई छोरीको लागि वरको रुपमा खोजेर ल्याएको र गोमाको बिहे गरिदिएको घर त्यही जस्तो लाग्थ्यो । आज पनि मेरो बालमस्तिष्कमा परेको त्यो छाप मेटिन सकेको छैन ।

अझै पनि स्वस्थानीको त्यो गोमा प्रकरण सम्झनासाथ मेरो मनमा त्यो रुम्टाको घर, खन्यूँको त्यो रुख र त्यही कुवा सादृष्य हुन आउँछ । सायद अहिले घरघरमा खानेपानीका धारा गएको हुँदा त्यो कुवा पुरियो कि अस्तित्वमा अझै छ थाहा छैन । छसात वर्ष अघि माइतिगाउँ गएका बखत मेरो बालापनको त्यो अमिट तस्वीर खिचिएको त्यो घर मानवबिहीन बन्दै भत्किएर केवल माटोको अलिकति थुप्रो मात्र बाँकी रहेको देखेर यो मन नराम्ररी चह¥यायो । न घर थियो न त्यो खन्यूँको रुख ! तर पनि मेरो कल्पनाकी त्यो सानी फुच्ची गोमा अझै जस्ताको त्यस्तै छ । अब त मलाई थाहा छ नि स्वस्थानीको कथा केवल एउटा ‘कथा’ हो र गोमाको बिहे त्यहाँबाट भएकै होइन । तर पनि मनले पटक्कै मान्दैन ।

कति जीवन्त कथा यो ! सायद यसैले पनि होला मलाई आफ्नो अनुसन्धानको फाँटमा यही स्वस्थानी कथाका बीउहरू छरेर एउटा सुन्दर सिर्जना गर्न सकूँ ताकि सबैलाई थाहा होस्–स्वस्थानी कथा के हो र यसभित्र केके लुकेको छ । अनुसन्धानको लागि अनुमति पनि मिल्यो र मेरो यात्रा अघि बढ्यो । करीब दुई वर्षको अथक प्रयासपछि मेरो अनुसन्धान पूरा भयो र उच्च मूल्याङ्कनका साथ यसले मेरो स्नातकोत्तरको प्रमाणपत्र प्राप्त गर्न सहयोग ग-यो ।

नेपालको सन्दर्भमा हेर्दा विश्वविद्यालयमा विद्यार्थीहरूले जति नै परिश्रमसाथ अनुसन्धान गरेर थेसिस बुझाए पनि तिनको मूल्याङ्कन भनेको लब्धाङ्क पत्रमा नम्बर चढाउन्जेलको लागि मात्र हो । त्यसपछि केही दिन विश्वविद्यालयका पुस्तकालयमा थुप्रिन्छन् र विस्तारै कवाडीको थैलामा पुग्छन् । मैले सोचेँ, मेरो यो मेहनत खेर फाल्नुहुन्न । यसलाई पुस्तकको रुप दिन्छु । आखिर नेपालको विश्वविद्यालयबाट स्वस्थानी व्रतकथामा अध्ययन अनुसन्धान गर्ने सायद पहिलो विद्यार्थी म नै त हुँ ! हुन पनि बुझ्दै जाँदा तीनतीन जना विदेशीले अध्ययन–अनुसन्धान गरिसक्दा पनि नेपाली अध्येयताको नजरमा स्वस्थानी व्रत परिसकेको भेटिनँ र अगाडि बढेँ ।

यसरी पूर्वीय दर्शनमा आधारित नेपाली मौलिक धर्म, संस्कृति र परंपरालाई पाश्चात्य संस्कृतिमा हुर्केका अमेरिकी महिलाले यतिधेरै चासो र महत्व दिएर अध्ययन, अनुसन्धान गरिएको स्वस्थानी व्रत कथाको बारेमा अहिलेसम्म कुनै पनि नेपालीबाट चासो राखेर अध्ययन नगरिएको हुनाले पनि नेपाली जनमानसमा अत्यन्तै लोकपृयता पाएको यस स्वस्थानी व्रत कथा र यसले समाजमा पारेको प्रभावको बारेमा अध्ययन गर्ने उत्सुकता जागेर आयो । अतः आफ्नो अध्ययनको विषयमा साढे चारसय वर्ष अघिको स्वस्थानी कथामा वर्णित समाज, सामाजिकता, ऐतिहासिक पृष्ठभूमि एवम् स्वस्थानी कथा भित्रको सामाजिक, मनोवैज्ञानिक र लैङ्गिक पक्षहरूलाई समेट्ने प्रयत्न गरेँ ।

नेपाली समाजमा अत्यधिक श्रद्धा पूर्वक व्रत, पूजा र पाठ गर्दै आएको स्वस्थानी व्रत कथा सनातन हिन्दु परंपराको अभिन्न पाटो बन्दै गइरहेको देखिन्छ । वर्षभरिका एघार महिना रातो कपडामा बेरेर अत्यन्त जतनकासाथ थन्क्याएर राखिने स्वस्थानी व्रत कथाको पुस्तकले बाँकी एक महिना अर्थात् जाडो मौसमको माघ महिनाभरी निकै महत्व पाउनुको पछाडि के कस्ता कारणहरूले भूमिका खेलिरहेका छन् त ? साथै ती कारणहरूको धार्मिक, सामाजिक, साँस्कृतिक एवम् मनोवैज्ञानिक प्रभाव के कस्तो रहेको छ त ? भन्ने विषयले आजसम्म पनि नेपालका प्राज्ञिक थलोहरूमा बहसको निम्ति स्थान नपाउनु साँच्ची नै एउटा चासोको विषय भएको छ । नेपाली समाजमा निकै महत्वका साथ गहिरो सम्बन्ध स्थापना गर्न सफल स्वस्थानी व्रतकथालाई प्राज्ञिक संस्थाहरूले किन महत्व दिन चाहेनन् ? जब कि यही विषयमा विदेसी हरूले अत्यन्त चासो पूर्वक स्वस्थानी व्रत कथा र यसले समाजमा पारेको प्रभावबारे अध्ययन, अनुसन्धान गर्दै यसै विषयमा विद्यावारिधि समेत गरेको पाइएको छ ।

यस अनुसन्धानको क्रममा मैले धेरैजना विद्वानहरूको सहयोग लिनुका साथै उपलब्ध भएसम्म उहाँहरूका सामाग्रीहरू पनि अध्ययन गरेकी छु । यस क्रममा ऐतिहासिक जानकारीको प्रमुख स्रोत काशीनाथ तमोटको लेख र जेस्सिकाको शोधपत्रलाई बनाएकी छु । अन्य विद्वानहरूसँग भने आफै भेटेर र तथा फोनबाट उहाँहरूका बिचार लिएकी छु ।

मैले आफ्नो अनुसन्धानको क्रममा अमेरिकी प्रोफेसर जेस्सिका भेन्टिन वर्केन्होल्जका स्वस्थानी व्रतकथाबारे प्रकाशित लेखहरूको अध्ययन गरेँ । यतिमात्र होइन, उनलाई अनुसन्धानको क्रममा सहयोग र निर्देशन गर्नुभएका भाषाविद् काशिनाथ तमोटलाई भेटेँ र उहाँबाट आवश्यक जानकारी र सामाग्री प्राप्त गरेँ । स्वस्थानी व्रतकथामा महत्वपूर्ण भूमिका रहेका महादेवको बारेमा कविताराम श्रेष्ठ दाजुले निकै सहयोग गर्नुभयो । त्यतिबेला उहाँ विदेसमा हुनुहुन्थ्यो र पनि मैले थेसिसको लागि स्वस्थानी व्रतकथा रोजेको सुनेर अत्यन्त खुशी हुँदै आफ्नो पुस्तक प्राप्त हुने ठाउँ बताइदिनुका साथै मौखिक रुपमा पनि धेरै सल्लाह, सुझाव र जानकारी उपलब्ध गराइदिनुभयो ।

यस्तै सन् १९८३ मा प्रकाशित पुस्तक ‘डेन्जर्स वाइभ्स एण्ड सेक्रेड सिस्टर्स’ नामक आफ्नो विद्यावारिधिको शोध पुस्तकमा समाजशास्त्री लेन बेनेटले स्वस्थानी व्रत कथा बारेमा लेखेकी छन् । उनले नेपालका उच्च जातीय हिन्दु महिलामा स्वस्थानी व्रत परंपरावारे लेखेकी छन् र स्वस्थानी व्रत कथालाई लैङ्गिक पाटोबाट विश्लेषण गरेकी छन् । त्यस्तै लिन्डा लुइस इल्टिस(सन् १९८५)ले साँखुमा हुने स्वस्थानी परंपराको तुलनात्मक अध्ययन गरेकी छन् र साँखुका नेवार महिलामा रहेको धार्मिक परंपरा र विश्वासबारे विश्लेषण गरेकी छन् ।

शोधपत्र बुझाएर प्रमाणपत्र लिएको पनि छ वर्ष पुग्न लागिसकेछ तर यसलाई पुस्तकको रुप दिने कार्य आफ्नै विविध कारण र कोरोना महामारीले गर्दा ढिला हुन पुग्यो । पुस्तकको पाण्डुलिपि तयार गर्दैगर्दाको आवस्थामा कोरोना संक्रमणले थलिन पुगेँ । शारीरिक र मानशिक रुपले यसको असर करिब छ महिनासम्म परिरह्यो र यसबाट तङ्ग्रिएपछि यसलाई पूर्ण रुप दिएर एकप्रति प्रकाशकको जिम्मा लगाएँ पनि । त्यसपछि लगत्तै जेस्सिकाले स्वस्थानी व्रतकथावारेको आफ्नो शोधपत्रलाई पुस्तकको रुपमा बजारमा ल्याएको जानकारीमा आयो । यस विषयमा विभिन्न उनका आर्टिकलहरू अध्ययन गरिसकेको भए तापनि पुस्तक पढ्ने विज्ञासा बढेर आयो र मार्टिन चौतारीमा गएर सो पुस्तक ‘रिसाइटिङ द गडेसेस, न्यारेटिभ्स अफ प्लेस एण्ड द मेकिङ अफ हिन्दुजम इन नेपाल’ ल्याएर अध्ययन गरेँ ।

जेस्सिकाले आफ्नो पुस्तकमा स्वस्थानी व्रत कथालाई नेपाल र भारतको राजनैतिक इतिहाको विकासक्रमसँग जोडेर विश्लेषण गरेकी छन् । उनले सिम्रौनगढका राजा हरिसिंहदेवकी रानी देवलदेवीलाई गोमा र उनको छोरा जगजितसिंहलाई नवराज भनेकी छन् । उनले आफ्नो पुस्तक(५४)मा गौतमवज्र वज्राचार्यको हवाला दिंदै लेखेकी छन् कि–मुश्लिमबाट पराजित हरिसिंहदेवको मृत्युपछि टुहुरो छोरा लिएर देवलदेवी भक्तपुरका राजा रुद्रमल्लको दरबारमा शरण लिन आउँछिन् । रुद्र मल्लले आफ्नी छोरी नायकदेवीलाई राजगद्दी सुम्पन्छन् । नायकदेवी विधवा हुन्छिन् । नायकदेवीको नायवी भएर शासन गरेकी देवलदेवीले आफ्नो छोरा जगजितसिंहसँग नायकदेवीको विवाह गराइदिन्छन् । यिनीहरूबाट एक छोरीको जन्म हुन्छ । नायकदेवीको मृत्यु हुन्छ, जगजितसिंह जेल पर्छन् । देवलदेवीले नातिनी हुर्काउँछिन् र जयस्थिति मल्लसँग विवाह गराइदिन्छन् ।

यदि यो कुरा (देवलदेवी गोमा र जगजितसिंह नवराज) मान्ने हो भने महेश्वर जु जु राजोपाध्यायको पुस्तकमा उल्लेखित भक्तपुरको दत्तात्रयमा रहेको शिलालेखमा नवराजको न्वारानको दिन पण्डितले भनेको कुरा भनि लेखिएको नेवारी भाषाको “…यसको नाम नवराज भयो र पछि यो राजा हुने छ …” भन्ने कुरा के हो ? यो थप अध्ययन अनुसन्धानको विषय हुनेछ ।

यसैगरि जेस्सिकाले नेवारी भाषामा लेखिएको स्वस्थानी कथा नेपाली भाषामा आउनुलाई राजनैतिक परिवर्तनसँग जोडेर लेखेकी छन् । उनी भन्छिन्– जतिबेला संस्कृत भाषाबाट नेवारी भाषामा जयन्त देवले स्वस्थानी लेखे त्यतिबेला नेपाल उपत्यकामा नेवार(मल्ल) राजाले शासन गर्थे । त्यतिबेलाको स्वस्थानीमा गोमा, नवराज र चन्द्रावतीको कथा मात्र थियो तर १८औं सताब्दिपछि जब उपत्यकामा शाह राजाहरूको हातमा सत्ता आयो तब स्वस्थानी नेपाली भाषामा लेखिन थाल्यो । यसलाई जेस्सिका अर्कोतिर ‘भारतमाथि वृटिश साम्राज्यको प्रभाव’ पनि भनेकी छन् । नेपाली भाषामा लेखिन थालेपछि स्वस्थानीमा गोमा नवराजको कथालाई अन्तिममा राखेर शुरुका कथामा महादेव, सतिदेवी, पार्वती, कामदेव, बृन्दाका कथा राखिएसँगै स्वस्थानीमा पितृसत्तात्मक बिचारले प्रभाव जमाउन थालेको जेस्सिकाको भनाई छ । जसलाई उनी नेपालको सामाजिक राजनैतिक परिवर्तनको असर भन्छिन् ।

स्वस्थानी व्रतकथाको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा यो कथा सोह्रौं सताब्दिमा लेखिएको हो भन्ने कुरा विभिन्न विद्धानहरू र इतिहासकारहरूका भनाइबाट ज्ञात हुन्छ । सोह्रौं सताब्दिमा लेखिएको स्वस्थानी व्रतकथाले एक्काइसौं सताब्दिमा आइपुग्दासम्म सिङ्गो नेपाली समाजमा नै दह्रो प्रभाव जमाउन सफल भएको परिप्रेक्षमा यस कथाले नेपाली समाजमा पारेको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा मनोवैज्ञानिक असरबारे अध्ययन र अनसन्धान हुनु सान्दर्भिक लाग्यो । यतिमात्र होइन, स्कन्द, पद्म लगायत केही पुराँणहरूमा लेखिएका केही अंशहरूलाई सापटी लिएर लेखिएको एउटा सानो धार्मिक कथाले कसरी विस्तारै नेपाली हिन्दु समाजमा एउटा छुट्टै धार्मिक कथा वा पुराँणको स्थान लिएर धार्मिक पर्वकै रुपमा प्रशिद्ध हुँदैछ भन्ने चासो पनि महत्वपूर्ण लाग्यो ।

स्वस्थानी व्रतकथामा ‘स्वस्थानी परमेश्वरी’ अर्थात् नारीको शक्तिको महिमा वर्णन गरिएको छ र नारीले नै यो व्रत लिनुपर्ने कुरा भए तापनि स्वस्थानी कथामा नारीलाई नै हेप्ने, होच्याउने तथा लैङ्गिक हिंसा र विभेदका कुरा प्रसस्तै पाइन्छन् । नारीको महिमा गाएर लेखिएको कथामा नारीमाथि नै किन हिंसा र विभेद गरियो त ? भन्ने प्रश्न महत्वपूर्ण हुन आउँदछ । यसर्थ पनि स्वस्थानी व्रतकथा लेखिएको समयमा समाजको समग्र चरित्र कस्तो थियो भन्ने कुरा अध्ययन गर्नका लागि पनि तत्कालीन समयदेखि आजपर्यन्तसम्म उत्तिकै महत्व पाउँदै आएको एउटा धार्मिक साहित्य ‘स्वस्थानी व्रतकथाको पुस्तक’लाई आफ्नो अध्ययन अनुसन्धानको रोजाईमा राखेर यस भित्रका विविध आयामलाई यथासक्य केलाउने प्रयास गरेकी छु ।

स्नातकोत्तर समाजशास्त्रको शोधपत्र लेख्ने क्रममा विषय छनोटमा परेको स्वस्थानी व्रतकथा केवल मेरो आफ्नो रोजाई र चाहना मात्र हो भन्नु कृतघ्नता हुनेछ किनकी यो विषय मेरो मात्र रोजाई होइन । मलाई यस विषयमा लेख्न, अध्ययन अनुसन्धान गर्न प्रेरणा र साहस भर्ने काम समाजशास्त्रमा लैङ्गिक विषय प्राध्यापन गराउने आदरणीय गुरु श्री मीना उप्रेतीले गर्नुभएको हो । मलाई ‘कपि पेस्ट’ गरिएका वा झारा टार्ने खालका ‘परंपरागत थेसिस’ लेखेर प्रमाण पत्र हातपार्ने रहर बिल्कूलै थिएन । त्यसैले पनि कुनै नौलो र अलग विषय खोजूँ भन्ने लागिरहेको कुरा मीना म्याडम समक्ष राखेँ । त्यतिबेला माघ महिना, स्वस्थानीकै माहौल थियो । उहाँले भन्नुभयो– ‘तपाईँ पत्रपत्रिकामा कलम चलाइरहने मान्छे, विश्लेषण गर्ने क्षमता छँदैछ, स्वस्थानी व्रतकथा र साँखुको बारेमा एउटा राम्रो अनुसन्धानमूलक शोधपत्र तयार गर्नुस् । यो अरुको भन्दा फरक पनि हुन्छ र विशेष पनि ।’

मलाई पनि लाग्यो, विदेशी प्राज्ञीक थलोमा बहस हुने, विदेसी विद्वानहरूले अनुसन्धान, विश्लेषण र समिक्षा गरिएको विषयलाई किन म आफ्नै देसको प्राज्ञीक थलोमा यसलाई प्रवेश नगराऊँ ? स्वस्थानीको कथा त आफूलाई कण्ठै थियो । तर यतिले मात्र मेरो अभियान पूरा हुँदैन । त्यसपछि म यस पुस्तकको बारेमा कसकसले कलम चलाएका छन् र यसबारे कसकसले अनुसन्धान गरेका छन् भनेर ‘गुगल सर्च’ गर्नतिर लागेँ । यसबारे कलम चलाएका केही नेपाली विद्वान तथा संस्कृतिविद्हरूसँग संपर्क गरेँ । कतिसँग फोनमा र कतिसँग प्रत्यक्ष भेटेर स्वस्थानी कथाबारे जिज्ञासा राख्दै आवश्यक स्रोत सामाग्री एवम् सत्यतथ्य जानकारी लिने प्रयास गरेँ । राष्ट्रिय अभिलेखालयमा पुगेर विभिन्न समयमा लेखिएका स्वस्थानी व्रतकथाका पुस्तकहरूबारे जानकारी लिएँ । यसका साथै स्वस्थानी कथामा वर्णीत साँखु र शालीनदीको स्थलगत अध्ययन गर्नका लागि दुई वर्ष(२०७०–७१)सम्म स्वस्थानी व्रतअवधिमा साँखु पुगेर त्यहाँको धार्मिक, सामाजिक, आर्थिक र पर्यटकीय वस्तुस्थितिको अध्ययन पनि गरेँ ।

संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले ‘श्री श्री श्री स्वस्थानी’मा उल्लेख गरिएको दक्षको यज्ञस्थल अवलोकन गर्न म टोखा चण्डिश्वरी पुगेँ । त्यहाँ दक्षको शीर क्षेदन गरिएको मूर्ति र पूनः पशुको टाउको जोडिएको पशुमुण्ड दक्षको मूर्ति रहेछ । नजिकै दक्षको यज्ञस्थल भनिएको यज्ञकुण्ड पनि रहेछ जसको बीचमा सतीदेवीको मूर्ति रहेको छ । यी संरचनाहरू कहिले र कसले बनाएको हो भन्ने जानकारी हुन सकेन । यद्यपि त्यहीँ नै रहेको चण्डिश्वरीको प्राचीन मन्दिर र मूर्ति हेर्दा यसै स्थानमा नै दक्षले यज्ञ गरेको हुनुपर्छ भन्ने अनुमान गर्न नसकिने चाहिँ होइन । त्यसो त स्वस्थानी कथाको इतिहास र उक्त चण्डेश्वरी मन्दिरको इतिहास समकालीन हुन पनि सक्छ । अतः ऐतिहासिक एवम् साँस्कृतिक शहर टोखाको यो पहिचानको विस्तृत खोज एवम् अनुसन्धान जरुरी देखिन्छ ।

स्वस्थानी व्रत कथाको विश्लेषणात्मक समिक्षा गर्नका लागि यसमा उल्लेखित विभिन्न घटना र पात्रहरूका बारेमा विशेष जानकारी राख्नु आवश्यक भएकाले यी सँग सम्बन्धित विभिन्न पुराण तथा धार्मिक पुस्तकहरूको अध्ययन पनि त्यति नै जरुरी रह्यो ।

अन्ततः करिब दुई वर्षको समय स्वस्थानी कथाभरि नै खर्चिएर त्रिभुवन विश्वविद्यालय, मानिकी तथा समाजशास्त्र संकाय अन्तर्गत त्रि–चन्द्र कयाम्पस समाजशास्त्र÷मानवशास्त्र विभागको स्नातकोत्तर उपाधि प्राप्तीको आंशिक आवश्यकता पूरा गर्नको निमित्त शोध पत्र तयार पारि आवश्यक मूल्यांकनका लागि २०७२ सालमा विभाग समक्ष पेश गरेँ । शोधको विषय अलग र नौलो भएकाले र निकै मेहनत गरि तयार गरिएकाले पनि मूल्याङ्कन समितिबाट मेरो मेहनतको राम्रो मूल्याङ्कन हुन गयो । अन्ततः सोही वर्ष मेरो यस शोधपत्रसँगै म पनि स्नातकोत्तरको उपाधि प्राप्त गर्न सफल भएँ ।

यतिबेला ढिलै भए पनि आफ्नो अनुसन्धान कृतिलाई पुस्तकको रुपमा यहाँहरूसामु ल्याउन पाउँदा अत्यन्त हर्षको अनुभूति भइरहेको छ । आसा छ, यस कृतिले स्वस्थानी व्रत कथाप्रति रुचि, चासो र जिज्ञासा राख्नुहुने सबैलाई सन्तुष्टि दिन सक्ने छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. लेख पढ्दा पुस्तकप्रति मन तानियो । यहाँको प्रयासको उच्च मूल्याङ्कन होओस् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button