स्वर्गमय बनेको छ हरेक छिन, जनतालाई बोकाई सारा ऋण

कविता: प्रजातन्त्र

मनिष कँडेल
राममणि ब.क्याम्पस, स्नातक तह, द्वितीय वर्ष

विशेष दिन इतिहासको
प्रजातन्त्र दिवस
गर्वलाग्दो दिन नेपालीको
अवस्थाले सबै विवश
तर
पर्वलाग्दो दिन नेपालीको!

सुन्छु केन्द्रमा
उत्सव भैरहेको छ अरे
उत्सव प्रजातन्त्रको
तर भोकै सुत्नुपरेको छ
श्री ७ हरू
खानलाई छैन भरे
कति मरे
कति लडे
ती युद्ध प्रजातन्त्रको
अब अत्तिभो
निकै शास्ति भो
प्रजा आस्तिक हो
तन्त्र चलाउने नास्तिक भो!

प्रजातन्त्र दिवस
गर्वलाग्दो दिन नेपालीको
अवस्थाले सबै विवश
पर्वलाग्दो दिन नेपालीको।

अर्काको शवमा टेकेर
सिंहदरबार पुगेकाहरु
राजनीतिको रोटी सेकेर
अर्काको रगतले नुहाएर
सफा दौरा सुरुवालमा
सजिएकाहरुका लागि
आज पक्कै पनि विशेष दिन
किनकी
स्वर्गमय बनेको छ हरेक छिन
जनतालाई बोकाई सारा ऋण
समाजवादको आडमा
भूँडीवादलाई अंगाली
जनतालाई बनाउँदै दिनहूँ क्षीण!

विशेष दिन इतिहासको
प्रजातन्त्र दिवस
गर्वलाग्दो दिन नेपालीको
अवस्थाले सबै विवश
तर
पर्वलाग्दो दिन नेपालीको !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button