सुस्तरी आऊ जीवनमा मेरो हतार नगरी
आह्वान
रितु शाक्य
सुस्तरी आऊ जीवनमा मेरो हतार नगरी
हृदय रूपी आसनमा बस अलमल नपरी
सपना मीठा लिएर आऊ बिपना सिँगार्न
मनको धोको फुकाऊ, आज संकोच नमान ।
उषाको लाली लिएर तिमी मुसुक्क मुस्काऊ
जे जस्ता थिए अतीत हाम्रा सम्पूर्ण बिर्साऊ
मायाको दीप चम्कन थाल्छ समीप भएमा
हिलोले पनि सुगन्ध छर्छ कमल फुलेमा ।
चमेली बेली सुगन्ध छर्छन् चौतर्फी धरामा
श्रद्धाले मन भरिदा मेरो आनन्द तनमा
शरीर भिन्न आत्मा छ एक देवकै वरदान
हरेक जन्म साथमा तिम्रो बितोस् यो जीवन ।
झर्दछ शीत बिहानी पख शिशिर याममा
लिएर आऊ उष्णता तिमी हिमाली पाखामा
सुर्यको ताप धर्तीमा झार क्षितिज सजाऊ
मायाले बाँध साथैमा राख भू स्वर्ग बनाऊ ।
गन्तव्य आफ्नो सुचारु राखे लक्ष्यमा पुगिन्छ
फर्केर हेर्नू पर्दैन प्रिय सन्तुष्टि पाइन्छ
अनेकौं जन्म साथैमा तिम्रो हाँसेर बिताउला
जीवन लीला साथमा गरी साथैमा मरौंला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)