
इन्दुको नाममा सुशीलले जे लेखे
इन्दु !
सुशील लामा
लिमासोल, साईप्रस
अरुण पश्चिम क्षीतिज पुगेर
डुब्ने तरखर गर्दै गर्दा
उदास साँझको आँगनिमा
उदास म अनि मेरो मन
सन्यासी अरुण अस्ताउन सकेको थिएन
नीलो छायाँमा केही सेतो बादलको
बुट्टासहितको आकाश
दिनले उज्यालोमै जन्माएको बेहोस इन्दुको कोमल अनुहार;
समयको फुलपातिले सजिएको
सेतो बादलको अट्टालिमा दुलहीको रमाइलो झलक
प्रीय इन्दु……!
चरी फर्के गुँड दैनिकको अन्त्य गर्दै;
दिनको अन्त्यमा अरुण सुत्दा,
आकाशका नीला पर्दाहरू सजाउदैँ टिलपिल
चम्केको एक हुल तारा हरुको साथमा
इन्दु चम्कदैं थियो ।
टाढा-टाढा सम्मको अध्यारो अन्धकार चिर्दै,
गतिमा विभाजित भएका
फाक्कल फुक्कुल अल्छेताराहरु
बिस्तारै बिउँझेर
सुदुर उत्तरमा, सलबलाउदैँछ ।
पातालो धुलोको मैलो पाप्रा हरुले
बादल काखी च्यापेर
इन्दु छेउछाउ पुगेर
इन्दुको सुन्दर रुपलाई कुरुप बनाउन खोज्दैछ ।
कठै प्रीय इन्दु….!!
त्यो अम्बरको निराकार
बिशाल रंगमञ्चमा चाँदी रंगको चमकले ढाकेको इन्दु
म बबुरो भुँई मनुवा रुखको टुप्पो चढेर
नजिकेर छुने ठूलो भ्रम
बादलले इन्दुलाई घेरेको छ
पटकपटक फेरि आर्को पटक
तिनीहरू बादल, वर्षा, चट्याँङ्ग मिलेर
उज्यालो र प्रकाश सबै रंगहरू
खोस्ने जालसाजी गर्दैछ ।
र पनि
इन्दु आफ्नो आश्चर्यजनक औचित्यमा
बैरिको दुस्साहसलाई ओझेल पार्दैछ ।
आहा कति राम्री इन्दु….!!!
नरम र न्यानो प्रकाशले चम्किरहेको अनुहार
तिम्रो ओजस्वी उज्यालो को आश्वस्त
अँध्यारो डरलाग्दो रात बेकार
संभ्रान्त शहर को
आलीशान महल देखि
अभावको पीडामा पिल्सिएका
सुदुर प्रीय गाउँको झुपडी र दलन,दैलोमा
तिम्रो प्रेमिल उज्यालो उत्तिकै
प्रिय इन्दु तिमि रातको कोमल उच्च रानी
तिम्रो उपस्थितिले मनहरु उमंगले पुलकित
देख्न सकिने
छुन नसकिने उदात्त अनुग्रहको साथ;
चम्किलो चमक बोकेर
सदा चम्किनु
प्रीय इन्दु…..!!!!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



