नेपाल यात्राको छैठौं संस्करण ‘कतार कन्भास २०२३’ सुरु

कतारको दोहामा जारी कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा नेपालयात्रा कला प्रदर्शनीको छैठौं संस्करण ‘कतार कन्भास २०२३’ सुरु भएको छ ।

कला महोत्सवमा कलाकार पी सिंहका एक्रिलिक र वाटर कलरका चित्रहरूसहित कलाकृतिहरू राखिएको छ जसले नेपालको प्राकृतिक दृश्य, वन्यजन्तु लगायत नेपालका वास्तुशिल्पका दृष्टिले धनी प्राचीन मन्दिर र गुम्बाहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ ।

यसअघि युके र नेपालका विविध ठाउँमा कला प्रदर्शनी गरिसकेका सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न प्रतिबद्ध छन् । उनको योगदानलाई बेलायतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गाबहादुर सुवेदीले कदर गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा विशेष प्रयास गरेकोमा सिंहलाई २०२० मा सम्मान गरेका थिए ।

आफ्नो उत्साह व्यक्त गर्दै कलाकार सिंहले भने, कतारमा आफ्नो कलाकृति मार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै हर्षित छु । पाँच दिने प्रदर्शनीमा सयौं आगन्तुकलाई नेपाली कला, संस्कृति र परिदृश्य देखाउन पाउनु साँच्चै रोमाञ्चक छ ।

उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रियालाई पनि टिप्पणी गरे । लन्डनको एक बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा जोशका साथ रंग्छन् ।

यस कला महोत्सवमा सिंहकी छोरी रोस्लिनले पनि आफ्ना केही पानीको रंग र पेन्सिल कलाकृतिहरू प्रदर्शन गर्नेछन् । बेलायतमा बायोमेडिकल इन्जिनियरिङ गर्दै आएकी १९ वर्षीया कलाकारले भने, ‘यस कला महोत्सवमा नेपालका मेरा केही कलाकृतिहरू प्रदर्शन गर्न पाएकोमा म निकै उत्साहित छु ।’

ूकतार इन्टरनेशनल आर्ट फेस्टिभल २० देखि २५ नोभेम्बर २०२३ सम्म चल्ने छ, जसमा ६५ भन्दा बढी देशका कलाकारहरूको सहभागिता रहेको छ र हामी नेपालका कलाकृतिहरूको प्रतिनिधित्व देख्न पाउँदा खुसी छौं’, रश्मी अग्रवाल, फेस्टिभल प्रमुखले भनिन् । ‘उदीयमान प्रतिभाहरू, स्थापित मास्टरहरू, कला विशेषज्ञहरू, आलोचकहरू, र शिक्षाविद्हरूलाई एकै ठाउँमा ल्याउँदै, मूर्तिकला, चित्रकला, र डिजिटल र मूर्तिकला स्थापनाहरू सहित कलात्मक विषयहरूको व्यापक दायरा प्रदर्शन गर्दै महोत्सवले विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्दछू’, उनले थपिन् ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नरेश ढकालको समेत उपस्थिति रहेको थियो । उनले भने, ‘यहाँ कतार कला महोत्सवमा नेपालको प्रतिनिधित्व देख्दा गर्व लागेको छ । यो प्रयासको साँच्चै प्रशंसा गर्छु ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button