मलाई मृत घोषणा नगर, मलाई सहिद घोषणा नगर

कविता: घोषणा नगर

कविता केशरी
विराटनगर

तिमी त बनाउन सिपालु छौ
तिमी त बोल्न सिपालु छौ
दिनलाई रात बनाउँछौ
रातलाई दिन बनाउँछौ
आफूलाई चील
अरुलाई तिल बनाउँछौ
घोषणा गर्न चतुर छौ -२
कहिले योद्दा घोषणा गर्छौ
कहिले सहिद घोषणा गर्छौ
मलाई तिमीसँग डर लाग्छ

समयको स्वाद एकैनास हुँदैन
जीवन भोगाई एकैनास हुँदैन
केही खल्ला गाँसहरू चेप्नु छ
केही थान अमिला रातहरू चपाउनु छ
केही तिता कोसेली निल्नु छ
केही खुड्किला अझै उक्लिनु छ
मलाई तिमीसँग डर लाग्छ

घाम प्रकाश दिएर रमाएको देख्नु छ
पानी बर्षिएर उन्मत्त भएको भेट्नु छ
धरती रजको वर्षादले नुहाएको
तयारीमा बसेको हेर्नु छ
चल्ला कोरलेको सुन्नु छ
जनता फुलेको पाउनु छ
देश खुलेको देख्नु छ
मलाई त तिमीसँग डर लाग्छ

अनन्त छ छैन जीवनको यात्रा
पैतालो छोटो रेखामा पुग्न सक्छ
मीठो बनाएर समयलाई
घटघट पिउनु छ
खुट्टाले थेग्न सक्छ सक्तैन
मलाई त उभिनु छ लड्नु छ
बिरामी पर्नु छ सन्चो हुनु छ
केही थुङ्गा भाकलहरू छन्
पूरा गर्नु छ
केही टुक्रा खुसीभेटाउनु छ
जसरी हावालाई चल्नु छ
पानीलाई बग्नु छ
मलाई पनि त केही गर्नु छ

खाल्डे सडकमा रथ हाक्नु छ
अगाडि भिर छ या चौडा सडक छ
हुन सक्छ निदाएको विशाल समुद्र
डुबुल्की मार्नु छ

भिरैभिर हुन सक्छ बाटामा
पल्टिन सकिन्छ भिरबाट
अँगालो लिएर बसाउनु छ
जसरी ढुङ्गो पल्टिदा
धर्तीले छाती थाप्न्छिन्
डुब्न सकिन्छ गहिराइमा
नाउ लिएर बसाउनु छ समुद्री तटमा
पारि पुगेर पनि यतै फर्किए हेर्नु छ
यहाँ धेरै धेरै कुरा गर्नु छ
तिमी त घोषणा गर्न सिपालु छौ
मलाई मृत घोषणा नगर
मलाई सहिद घोषणा नगर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button