कुनै भारी त्यस्ता हुन्छन्, टेकाउन सकिँदैन

मुक्तकहरु

सुरेश राई
खोटाङ


केही पीडा त्यस्ता हुन्छन्, देखाउन सकिँदैन
कुनै कथा अरुलाई लेखाउन सकिँदैन
थाक्दाखेरी बाटैभरी बिसाउनी भए पनि
कुनै भारी त्यस्ता हुन्छन्, टेकाउन सकिँदैन !


कोही धुवाँ उडेर जानुछ कोही माटो सडेर बन्नुछ
दिन महिना अनि वर्षमा यो जिन्दगीलाई गन्नुछ
तेरो मेरो हो दुई दिनको, माया मोह हो दुई दिनकै
सद्भाव राखेस् सबैमा, बस् यत्ति मलाई भन्नुछ !


साँझसँग त लड्दै थिएँ, झरीले पो गर्नु गर्यो
रिमरिम् साँझ सिमसिम् पानी, तिम्रो याद बढ्नु बढ्यो
तिम्रो याद यति धेरै आयो आज मेरी माया
सिरानीमा मुख लुकाई आज मैले रुनुपर्यो !


धेरै कोमल कमलको थुङ्गा बन्न सक्दिन म
कठोर बनूँ कठोर दर्शी ढुङ्गा बन्न सक्दिन म
मानिस हुँ माया गर्छु मायै पाउने आश राख्छु
आफै खिइ दुनियाँ तार्ने डुङ्गा बन्न सक्दिन म !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button