तिमी जीवनको आशक्ति थियौ !

रविन्द्र केसी

खस्रा सम्बन्धका
चिल्ला भ्रमहरु भन्दा पर,
भावनाको अर्कै क्षितिजमा,
आज म मग्न भएको छु ।
जहाँ
उही सुर ताल र सरगममा
मायाका कालजयी गीतहरु
सुमधुर भावले गुन्जि रहेछन् ।
र त्यो,
ईन्द्रेणी देशमा
झरनाको मधुर झंकारसंगै
निश्छल प्रेमका जीवन्त धूनहरुले
आज
फेरी तृष्णा जगाएको छ
म अनुभुत गर्न चाहन्छु तिमीलाई
आखिर
अनुभुति नै त रहेछ नि जीवन पनि ।
हो
मलाई आभाष छ
तिमी केवल सुन्दर देह थिएनौ
फगत रुप बैँस र सौन्दर्य थिएनौ
तिमी
यो हृदयको स्निग्ध भाव थियौ
जीवनको उज्यालो सपना थियौ
अझ तिमी
तमाम सबन्धहरूका
चिल्ला भ्रमहरू भन्दा परको
एउटा दिव्य अनुभूति थियौ ।
तिमी नै
मनको शान्ति थियौ
सपनाको कान्ति थियौ
जीवनको आशक्ति थियौ ।

तिमी नै शून्य थियौ
तिमी नै अनन्त पनि थियौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button