कुनै पनि कृतिमा भूमिका नलेखाउने प्रतिज्ञा गरेकी छु

व्यङ्ग्य: भूमिका

नगिता लेप्चा राई
जलपाईगुड़ी, भारत

सस्तोमा आफ्ना कुराहरू विज्ञापन गर्न हिजोआज निकै सजिलो भएको छ ।

फेसबुकवालमा नयाँ गाड़ीसित छोरो वा छोरीको उपहार भनी पोध्ट गर्नोस्…सारा संसारभरि गाड़ीको किनेको हल्ला फैलिन्छ । फेसबुकको भाषामा भाइरल ।

घरमा नवजात शिशु जन्मिनु मात्रै पर्छ फेसबुकमा नयाँ नानीको फोटो बोष्ट। त्यो पनि भाइरल ।

सुंगुरले एकै बेथमा एक दर्जन पाठो-पाठी ब्याएको फोटो पोष्ट गर्नुहोस्…लाइक आएको आएकै । यसैले म भन्छु फेसबुक जिन्दाबाद ।

हिजोआज कुनै साहित्यिक कृति प्रकाशित हुनुभन्दा एजभान्सड कृतिको नामसहित तिनको कभर डिजाइन पोष्ट गर्ने एक प्रकारको हावा नै चलेको छ । मलाई पनि त्यो हावाले भेटेको छ भन्ने कुरा यहाँ नभनी चूपो लागि बस्नु सकिनँ ।

मेरो पनि कृति प्रकाशित गर्ने घरबाट अनुमति पाएपछि गाउँकै चित्रकार दाज्यूलाई कृतिको कभर डिजाइन बनाउनु लगाएँ । दाज्यूले पनि पन्घ्र दिनमै सुन्दर कभर डिजाइन तयार पारेर मलाई पठाइदिनुभयो । डिजाइन देखेर म आफै दङ्गै परेँ । तुरुन्तै फेसबुकमा पोष्ट गरिहालेँ- मेरो नयाँ कृति चाँढ़ै तपाईहरूको हात-हातमा आइपुग्नेछ ।

मेरा हजारौं साथीहरूले मलाई फेसबुकमै अग्रिम बधाई शुभकामना दिएर मलाई फुरुक्कै पारे । कृति कहिले छापिने हो त्यसबारे केही कुरै भएको छैन । नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भनेजस्तो कृति छापियोस् कि नछापियोस्…मतलब छैन । तर कभर डिजाइन मात्रै पोष्ट गर्नु पनि मेरो निम्ति गौरवको विषय थियो ।

यो हल्ला निकै फैलियो । धेरै ठूल-ठूला साहित्यकारले मलाई फोन गर्न थाले । अन्य कार्यक्रमतिर नमस्कार ग्रहण गर्न पनि गाह्रो मान्ने, फ्रेण्ड रिक्वेष्ट हेर्दै नहेर्ने साहित्यकार महोदयले मलाई रातदिन फोन गरेर कृतिबारे किसिम कुरा सोध्न थाल्नुभएको देखेर म छक्क परेँ ।

एकजना साहित्यकार सरले सोध्नुभयो, तपाईको प्रकाशोन्मुख कृतिको भूमिका कसलाई लेखाउनुहुने ?

मैले तत्कालै जवाब दिएँ– सर अहिले त्यसबारे केही सोचेकी छैन ।

एकजना परम सखीले सोधिन्– एई…तेरो वुस्तकको भूमिका कसलाई लेखाउँछस् ? अलिक राम्रोलाई हेरेर भूमिका लेखाइ माग है । कतिले त भूमिकामा के के लेखेर तेरो कृति लाष्ट बोरिङ बनाइदेला नि ।

सखीलाई पनि त्यस्तै जवाब दिएँ, खै मैले सोचेकै छैन ।

साहित्यमा भर्खर भर्खर देखा परेका तर आफूलाई भने निकै पोपुलर, हिट साहित्यकार दाइले भने- तपाईको पुस्तक निस्किँदैरहेछ । खुसी लाग्यो । मेरो शुभकामना । भूमिका लेख्नु चाहिँ मलाई दिनुहोस् ल । म दामी लेखिदिन्छु ।

मैले भनेँ- हेरुँ न सर ।

उनले भने, किन हेरुँ ? तपाईको पुस्तकको भूमिका लेख्न मलाई नै दिनुपर्छ भने छैन । त्यो डिपेण्ड अपन यू । बट..पुराना ब्याकडेटेड साहित्यकारलाई चाहिँ प्लिज भूमिका लेख्नु नदिनुहोस् है ।

मेलै सोधेँ, किन त्यसो भन्नुभएको हजूरले ? मार्केटमा जो चलन चल्ती साहित्यकार छन् त्यस्ता साहित्यकारलाई भूमिका लेख्न दिएको राम्रो होइन र सर ?

हो किन होइन? तपाईले एकदमै ठिकै भन्नुभयो । स्वीकार्छु तपाईको विचार हण्ड्रेड पर्सेण्ट । तर खासमा तपाईसित मेरो कस्तो घनिष्टता छ । भूमिका लेख्ने चान्स मलाई पनि दिनुहोस् न भनेको पो । आफ्नो सम्झेर मनले जितेर । हेर्नुहोस् म्याम…जोसुकैलाई भूमिका मै लेखिदिन्छु भन्नु भएऩ । तपाईसितै मेरो अर्कै सम्पर्क छ र त भूमिका लेख्नु मागेको ।

मैले भनेँ, होइन सर…तपाईको भूमिका बजारमा चलेन भने ?

उनको स्पष्टिकरण, मेरो भूमिका लेखाइ हेर्नुहोस् न एकपल्ट । पाठकलाई म यस्तो ग्रिपमा ल्याउँछु कि तपाई पछि छक्कै पर्नुहुन्छ ।

मैले नम्र स्वरमा भनेँ, त्यसमा कुनै डाउट नै छैन नि ।

मलाई उनले जबरजस्ती गर्न थाले । म भने मेरो प्रकाशोन्मुख कृतिमा भूमिका लेखाएर पृष्ठ खेरो फाल्नु छैन । मैले उनलाई भनेँ, हुन्छ सर म सोँचेर एक दुइ दिनमा रिप्लाई दिन्छु नि ल ।

फेरि उनको अड़्को, नाथे सानु भूमिका लेख्नुको निम्ति तपाईलाई कहाँ पर्खिरहुनु भन्नुहोस् त ।

यसरी तार तारको फोर आउन थाल्यो अन्य साहित्यकारहरूबाट । उनीहरूले मेरो कृतिको भूमिका म लेखिदिन्छु भन्न नसके पनि भूमिका लेख्नु चाहिँ मैले उनलाई नै पाण्डुलिपि दिनुपर्ने करा स्पष्ट भयो ।

कतिले उनको लबीका ठूला साहित्यकारलाई भूमिका लेख्नुदिनु भनी नाम सिफारिस गरे ।

अहिलेसम्म जति पनि कृतिहरू निस्कन्छन् । ती कृतिमा लेखिएका भूमिका पनि लबी गरेर, तेल मालिस गरेर वा सिफारिसकै आधारमा लेखिएका हुन् भन्ने प्रश्नले मलाई गिजोलिरह्यो । विषयसित सम्बन्धित भूमिका लेख्न दिनुपर्ने होइन र ? फेरि थप जिज्ञासाले मेरो प्रेसर बढ़ायो ।

सोचेँ, मेरो कृतिको भूमिका लेखिदिँदैमा भूमिका लेखकको भूमिका लेखेर मेरो प्रकाशान्मुख कृति बजारमा हट केकजस्तो बिक्री होला? कि भूमिका लेखकको भूमिका देखेर मलाई नगद राशिले सम्मान गर्ला? कि भूमिका लेख्ने रहर मात्रै उनको ।

मलाई डाइरेक्ट भूमिका लेख्छु भन्ने साहित्यकारले फेरि फोनमा भनेँ, खै म्याम तपाईको कुनै रेसपोन्स आएर आजसम्म । यसो गर्नुहोस् न ठिकै छ मलाई भूमिका लेखाउनुहुन्न भने ठिकै छ । तपाईको विचार र सोँचमा म वाधा उत्बन्न गर्न चाहन्नँ । तर तपाईलाई लाष्ट रिक्वेष्ट गर्छु मलाई एक पेज शुभकामना लेख्न दिनुहोस् न म्याम…प्लिज । उनले मलाई वाक्कै दिक्कै लगाउन थाल्नुभयो । उनको रिपिट कलले मलाई इरी भइसकेको थियो । फोन काटिदिएँ । त्यसदिन कम्तिको पनि पन्ध्रपल्ट फोन गर्नुभयो । पटक्कै रिसिभ गरिनँ,,,,गर्दै गरिनँ ।

त्यसै दिनदेखि मेरो कुनै पनि कृतिमा भूमिका नलेखाउऩे प्रतिज्ञा गरेकी छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button