
हजुरबाले बनाएको घर हाम्रो मात्र थिएन, भंगेरा, मलेवा र सारौंको पनि थियो
जनार्दन अर्याल
सानो छँदा
एकाबिहानै
भंगेराको चिरविरले व्यूँझाउँथ्यो
भंगेरी वचेरासहित
कौशीमा चारोको खोजिमा घुम्थी
अहिले एकादेशको कथा ।
हजुरबाले बनाउनुभएको घर
माटो, ढुंगा र काठको
घरभरी साना ठूला
प्वालैप्वाल
जहाँ भंगेरा, मलेवा
सारौंको बास हुन्थ्यो ।
माया, स्नेह र वात्सल्य
मान्छेमा मात्र होइन
चराचुरुंगी र जनावर सबैमा हुँदो रहेछ
कौशीमा पुग्दा
मलेवा, भंगेरा र सारौं
मसंग चारो माग्थे
खेल्न आउँथे
यहाँसम्म कि हातैबाट चारो खोस्थे ।
मेरो छोरोलाई अहिले म
यो सारौं, यो मलेवा र यो सारौं
चित्र देखाउँछु
मैले बनाएको
यो कंकृटको जंगलमा
यिनको बास बस्ने ठाउँ छैन
पानी पिउने भाँडो छैन
यी सबै दन्त्यकथाका
पात्र भएका छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)