
बालक नयाँ पुस्तक हो
बालक
भूमि देवकोटा
बालक बिहानी हो
मिर्मिरे सुन्दर आभा हो
कोमल घाम मजेरीमा
हाँस्तै उभिने
आरम्भ हो जगतको ।
बालक कोपिला हो
सप्तरङ्गी सुन्दर फूल हो
लहलह हुर्कदो बगैंचामा
बीज भै
निरन्तरता हो जगतको ।
बालक मूल हो
अनि, झरना नदी र समुन्द्र हो
कलकल बहदै धरामा
अमृत जीवकै
अविराम यात्रा हो जगतको ।
बालक फेरि गर्भ हो
अनेक अनेक आगत हो
फेरिदै नयाँ नयाँमा
अस्तित्व मनुष्यकै
अवछिन्न सृष्टि हो जगतको ।
बालक आमाको सुन्दर बाली हो
बाबाको पसीना हो
फेरिदै तोतेबोलीमा
साहारा भै उभिने
एउटै भविष्य हो जगतको ।
बालक मजेरी हो
आँगन,गल्ली र गाउँ हो
सिङ्गै पृथ्वी अस्तित्वमा
अनन्त चम्किरहने
नक्षत्र हो क्षितिजको ।
बालक आसा, भरोसा हो
प्रत्येक स्वासप्रस्वास हो
अक्सिजन मुटु फोक्सोमा
प्रत्येक तन्तुहरूकै
सन्जीवनी हो पुनः पुनः जिउने ।
बालक यात्रा हो
बिसौनी हो
सुसेल्दै सुस्ताउनुमा
अनेक देउरालीकै
बरपिपल हो चौतारीको ।
बालक नयाँ पुस्तक हो
कपि, कलम र झोला हो
अलिकति आँसु र मुस्कानमा
स्कूल यात्राकै
म आफैमा प्रतिबिम्ब हो भविष्यको ।
बालक डाक्टर हो
झाडुवाल हो
आदि अनेकअनेकमा
एक एक जोडकै
परिभाषा हो समाजको ।
बालक यस्तै यस्तै काल, महाकाल हो
सदा सदा हो
अक्ष्युण्य डोरीको पयोमा
एउटा त्यान्द्रो
थपिदै थपिदै अमरत्व हो जगतको ।
बालक मेरो त पुन्टे हो
पुन्टी हो
सम्पूर्ण आगतमा
चिरकाल बाँचिरहने
स्वयं म नै तीनै बालकहरू हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)