गोफ्लेको गाजली गाथा गज्जब
दुई बर्षको पुन्यतिथीमा गाजली माया गुरुङ (आमालाई हार्दिक श्रद्धाञ्जली । अम्बिरबहादुर (गोफ्ले) गुरुङलाई गाजली गाथा लोकार्पण गर्न सफल हुनुभएकोमा हार्दिक बधाई। अटल मायाको चिनोको लागि धन्यवाद ।
पीताम्बर गुरुङ
आमा तपाईको जीवन कहानी तपाईंको कान्छा छोरा गोफ्ले (अम्बिरबहादुर) गुरुङले तपाई जीवित हुँदा तपाईसंग गरिएको कुराकानी (भलाकुसारी)को आधारमा लेखिएको गाजली गाथा कृति पढ्ने मौका मिल्यो । अहिलेको जमानामा सामाजिक संजालमा ब्यस्त हुने हामीले यस्तो किताबहरु बिरलै पढ्ने गर्छौं । हातमा मोबाइल भएपछि सकेसम्म छुँदा पनि छुँदैनौं किताब । फेसबुक, ईन्स्ट्राग्राम, टिकटक आदि भएपछि पुग्यो । यता सार उता सार दिन बितेको पत्तै हुँदैन ।
जीवनी यथार्थ तर पढ्दै जाँदा कुनै कथा अर्थात् उपन्यास हो कि जस्तो लाग्ने । जति पढ्दै गयो, त्यति नै पढ्न मन लाग्ने । म पनि सामाजिक संजालमा झुन्डिरहने मान्छेले पनि १९१ पेजको किताब २ दिनमा खत्तम । सामाजिक संजाल गोली मारो ।
पढ्दै गयो तपाईको जीवनी पढेर आँखाबाट हतपती बाहिर ननिस्कने आँसुले पनि बाहिर निस्कने बाटो तताई हाल्ने । आँसुले टिलपिल टिलपिल भएका आँखालाई पनि तन्काई तन्काई यो किताब त सिध्याउनै पर्छ भन्ने भित्री मनको भावनाको साथ सकिएको पत्तै नपाई पढेर सकेछु । तपाइको जीवनी पढ्दा मैले मेरो आमालाई पनि सम्झिदै पढ्दै गएँ । कथा ब्यथा उस्तै उस्तै तर मेरो आमाको भन्दा हजुरको कथा ब्यथा दर्दनाक भएको पाएँ ।
जन्मेदेखि नै दुख नै दुख । तपाई आफु मिजासिलो, सहनसिलाता र साहासिक भएपनि ११ बर्षमा नै तपाई भन्दा दोब्बर बढी उमेरका लक्का जवानसंग बिहे गरी अर्काको घर धान्न पुग्नु भएको तपाई कडा सासुको भनाई खप्न नसकेर १–२ दिन माईती गएर बस्छु भन्दा उतातिर माईती पनि कडा । बिहे गरेपछि एक रात पनि माईति घरमा नबसेको ब्यथा त छँदैछ । कडा स्वाभावकी सासु । सासुको तुच्छ व्यवहार खप्न नसकेर घरबाट निस्किएर ओडारमा बिताएको दिन, गोठमा बिताएको दिन, घट्टलाई बारेर सुत्ने घर बनाई बसेको दिन, स्याउल नै बार स्याउला नै छानो बनाई बसेको दिन, दिन रात ज्याला दारी गरेर दुईचार माना पिठो ल्याएर र्यालेर खोले बनाएर खाएको दिन, अर्काको भारी बोकेर आएको पैसाले छाक टारेको दिन, खानेकुरा नभए पछि रिठ्ठाको गेडाले छाक टारेको दिन, १५ बर्ष देखि ३४ बर्षको बिचमा ९ जना छोरा छोरी पाउँदा पनि सुत्केरी भएर मिठो मिठो खाएर तेल दलेर बस्नु त कता कता ज्यालादारी गरेर छोरा छोरी हुर्काउन चिन्तै चिन्ता । ९ जना छोरा छोरी जन्माए पनि ५ जना छोराछोरी गुमाउनु पर्दाको पिडा । गरिब भएर जिउँदाको जीवनी नै फरक । सबैको नजरमा भोटे, जड्याहा, फटाहा मात्र देखिने । उता दुई जना छोरीहरुले अन्य जातसंग बिहे गरेर गएकोले आफ्नो दाजुभाईले हेर्ने नजर पनि फरक । जीवनमा पिर र चिन्ता । आफ्नो जीवन कालमा स्थायी बसोबास नभएको । यस्तै यस्तै दुखका कुरा पढेर मेरो पनि मन छोयो ।
तर कान्छा छोरा गोफ्लेले १ देखि ५ कक्षा सम्मको पढाई एकैपटक पढेर जिल्ला स्तरीय परीक्षामा पास भई लगातारको पढाई पश्चात एसएलसी पनि पास गरेर गाउँको शिक्षक भएर सबैको नजरमा सर भए पछिको अवस्थाले भने बेग्लै मोड लिएको कुराले भने अबका दिन केहि मात्रामा भए पनि सहज हुने देखिएकोले खुसी लाग्यो । अब त सबैले नमस्कार गर्न थाली हाले नी ।
आमा आज साउन १९ गते । तपाइको देहावसान भएको दिन । तपाइको जन्म र देहावसान चाहि साउन महिनामा नै भएको रहेछ । गते मात्र जन्मेको अगाडि र देहावसान पछाडि । आजको दिन त तपाईंको आत्मा पनि कति खुसी भई रहेको होला हगि । यत्रो मासको अगाडि तपाईको कान्छा छोराले तपाईको जीवनी गाजली गाथा नामक किताब सार्वजनिकीकरण (लोकार्पण) गरेकोमा । तपाईको आँखाले प्रत्यक्ष नदेखे पनि आत्माको आँखाले त पक्कै देख्नु भएको छ होला । खुसी हुनुहोस् आमा । जिउँदो सुपुत्र जन्माउनु भएको रहेछ । तपाइको जीवनी गाजली गाथा पढ्नेहरुले यो गाजली गाथा काल्पनिक पनि होलान्, कति कुरा बनावटी होलान् भनेर सोच्नेहरुको लागि पनि यो सार्वजनिकीकरण कार्यक्रम आफ्नै गाउँ आफु पढेको चन्डेश्वरी बिध्यालयमा नै गरेर यो यथार्थ हो भन्ने पुस्टि गरेका छन् । कार्यक्रममा माननीय संघिय सांसद, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, पर्यटन ब्यबसायीहरु गाउँका दाजुभाइ तथा इष्ट मित्रहरु जम्मा भई भब्यताका साथ सम्पन्न भएको थियो । तपाईको छोरा गोफ्लेले साच्चै नै साथी भाई धेरै कमाएकै रहेछन् । यसमा कुनै दुईमत छैन । तपाइको छोरा गोफ्ले जब बिध्यालयमा हुने गरेको हाजिरी जवाफ प्रतियोगितामा भाग लिने र जहिले पनि पुरुस्कार लिएर आउने अनि बिध्यालयमा शिक्षक भएपछि गोफ्लेको नाम पनि अम्बिरमा परिवर्तन भयो, अहिले आएर तपाइँको छोराको नाम अम्बिर मात्र होइन, अम्बिरको अगाडि महा थपेर महाअम्बिर भएका छन् । यो कुरा गाजली गाथाले पुस्टि गरेको छ । अम्बिरको नाम अब गाजली गाथाको साथ सधैं अम्बर (अमर) रहने छ ।
कार्यक्रमको आयोजना भने लेम तमु (लाम्छाने) समाजले गरेको थियो भने सह आयोजक थिए गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) ।
तपाईहरु पनि ज्ञानबर्द्धक गाजली गाथा गाथा पढ्न नछुटाउनु होला है ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)