मिटरब्याजी

कृष्णहरि भट्ट

उत्पादन छैन
आम्दानी छैन
खर्च छ
जताततै खर्च छ
मुल्य बृद्धि छ
जताततै
चर्को करै कर छ ।

सिंहदरवार गाउँ गाउँमा भनेको यही रहेछ
हिजो राजा महाराजाको रहेछ
आज सिंहदरवारको भएछ
अहिले गाउँगाउँमा सिंहहरूको राजले
सुकेका आन्द्रा अनि जिर्लिङ परेर देखिएका करङहरू
शरीरमा भएको बाँकी रगतहरू सुकाउँदै
प्रचण्ड गर्मी अनि झरिमा
आफ्नो घोक्रो सुकाउँदै भनिरहेका छन
यो देश मिटरब्याजीको भयो ।

घरबाट निस्कानासाथ
घामको पैसा तिर्नु पर्छ
घरभित्र पानीको
पढ्न गाह्रो पढाउन गाह्रो
उपचार गर्न गराउन झन गाह्रो
वडामा गयो सिफारिस लिन गाह्रो
अड्डा अदालतमा त झनै गाह्रो
उत्पादन गर्ने ठाउँ छैन
आशा गर्ने गाउँ छैन
थेग्नै नसकेर भाग्दा पनि
खुनि व्यवस्थाले छोड्ने हैन
चौतर्फी घेराबन्दीको यो विवशता माथि
स्थानीय देखि केन्द्रसम्म मिटरब्याजी मिटरब्याजी

पीडा सहने अब सामर्थ छैन
निको हुने कुनै सम्भावना छैन
हिजो एक प्रकारको थियो
आज यसको प्रकार बदलिएको छ
मर्नु र बाँच्नुको दोसाँधको घिटघिटे श्वास लिएर
यो खुनी सत्ता विरूद्ध हाम्रा आवाज घन्किनु पर्छ
सहेर कति बस्ने अब सन्किनु पर्छ ।
हो, यो खुनि सत्ता विरूद्ध हाम्रा आवाज घन्किनु पर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button