
नारी चेत र सामाजिक व्यङ्ग्यमिश्रित ‘मेरो बालापन’
सरमान सुब्बा ‘रसिक’
नगिता लेप्चा राई साहित्यमा नयाँ अनुहार रहे पनि उनको लेखन अनुभवले खारिएको छ। विशेषगरी नेपाली साहित्यमा नारी हस्ताक्षर पुरुष हस्ताक्षरको तुलनामा कम मात्रामा गनिन्छन् तथापि साहित्य सिर्जनालाई हेर्नु हो भने नारी हस्ताक्षरहरुले लेखेका उपन्यास, कविता जे जति छन् त्यतिको स्तरीय सिर्जना कमै पुरुष सर्जकहरुले मात्र लेखेका छन्। प्रगतिशील साहित्यको कुरा गर्नु हो भने स्व पारिजातको (विष्णु माया वाइबा) नाम नलिई कुनै पनि बहस होस वा साहित्य त्यो अधुरो नै रहन्छ। यहाँ ‘मेरो बालापन ‘की सर्जक नगिता लेप्चा राई कृत पुस्तकको चर्चा गर्न अघि अलिकति नारीवाद साहित्य र सोंचको पनि प्रसङ्ग निकाल्नु पर्ने हुन्छ ।
नगिता लेप्चा राईको कविताहरुमा समाजिक ब्यङ्ग्य त छँदैछ तर अझ यस सँगसँगै नारीवादी विचारधारा पनि यत्र तत्र पाइन्छ। समाजमा नारीहरुमाथि हेरिने समाजको दृष्टिकोण पृतिसत्तात्मक व्यवस्थाको नमुना हो भन्ने उनको धेरै कविताहरुमा बुझ्न सकिन्छ। हुन त नारीवादी विचारधारामा बगेर लेख्ने नारी हस्ताक्षर उनी एक्लो भने होइनन्। नारीवाद सिद्धान्तलाई लेखनको माध्यम बनाएर साहित्य सिर्जना गर्ने धेरै नारी हस्ताक्षरहरु अघि आई रहेका छन्। हालै ‘परिवर्तित अनुहार ‘शिर्षक नामको उपन्यास लेखेर सुश्री रिणा सुब्बाले आफुलाई दह्रिलो नारीवादी हस्ताक्षरको रुपमा उभ्याई सकेकी छिन् जुन उपन्यासको विषयमा पनि लेख्ने जमर्कोमा छु। नगिता लेप्चा राई मूलरुमा व्यङ्ग्यकार हुन्। नारीवाद वास्तवमा उन्नाइसौं शताब्दीको उत्तरार्धको उत्पादन थियो भन्ने विश्वास छ र यो शब्द पहिलोपटक सन् १८९५ मा अक्सफोर्ड अंग्रेजी शब्दकोष अनुसार रिकर्ड गरिएको थियो भन्ने तर्क पनि रहेको छ। यद्यपि, उन्नाइसौं शताब्दीको उत्तरार्ध अघि महिला अधिकार र समाजमा महिलालाई कसरी व्यवहार गर्नुपर्छ भन्नेमा सुधारका लागि तर्क गर्ने व्यक्तिहरू स्पष्ट रूपमा थिए भन्ने बहसहरु यदाकदा सुन्न पाइन्छ। ‘मेरो बालापन ‘कविता संग्रहकी सर्जक श्रीमती नगिता लेप्चा राईले पनि यही नारीवाद सिद्धान्तलाई पक्रेर धेरै ठाउँमा नारीप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहारमा सुधार ल्याउन आफ्नो कविताको माध्यमबाट चेष्टा गरेकी छिन्।

जम्मा ४३ वटा छोटा मिठा कविताहरु यस संग्रहमा समावेश गरिएको छ। उनको यस संग्रहमा समावेश गरिएको पहिलो कविता शिर्षक ‘कविता’मा कवितालाई मनोरञ्जनको रुपमा मात्रै नहेरेर कविता एउटा विद्रोह पनि हो भन्ने तर्क राखेकी छिन्। उनले आफ्नो अडानलाई अझ स्पष्ट पार्दै-
‘मलाई म बनाउने
मेरी मार्गदर्शक हो मेरी कविता’
लेखेर कविताको परिभाषालाई अझ सशक्त पारेकी छिन्। ‘फगत नारी…. शिर्षकमा उनलाई स्वाभिमानी कविको रुपमा उभ्याएकी छिन्। उनी लेख्छिन्-
अबला नारी होइन म कदाचित्
दबिएकी अवहेलित नारी हुँदै होइन
स्वाभिमानले बाँच्ने अभिमानदेखि दस हात टाढा बस्ने
म नारी ।
नारी र पुरुषलाई एउटै सिक्काको दुई पाटाहरु हुन भन्ने धारणा रही आए पनि पृतिसत्तात्नक समाजले नारीहरुलाई गलत दृष्टिकोणले हेरिरहेको विषयलाई आफ्नो कविता मार्फत दर्शाउँदै भाग्य कोर्ने ईश्वरसित पनि उनी रुष्ट छिन् भने ईश्वर भन्दा पनि आफ्नो निम्ति आमा महान हुन भन्ने कुरोलाई यसरी पुष्टि गरेकी छिन्-
हुँदैनन् थिए कुनै नारीहरु शोषित यो क्रुर समाजमा
हुँदैनन् थिए कुनै आमा बुबा वृद्ध आश्रममा
जल्दैनन् थिए कुनै छोरी चेली दहेजको लोभमा
साँच्चै भाग्य लेख्ने अधिकार दिएको भए आमाको हातमा।
शायद आफु नारी हुनुको अनुभवले हुनु सक्छ सर्जक नगिताले नारी जातिले भोग्नु परेको पिडालाई खुबै मर्माहत तरिकाले ‘जिन्दगी नारीको…. शिर्षक कविता मार्फत वर्णन गरेकी पाइन्छन्।
छुन नहुने हुँदाको क्षणमा पेट दुखाइको पीडा
औषधी धेर सेवन गर्दा रगत बगाइको अर्को पीडा
माइत घर त्यागी अर्काको भित्ता टाल्नु पर्दाको पीडा
पराय घरमा सबैलाई खुसी दिन नसक्ने पीडा…
यसरी नारी जातिले भोगिरहेको पीडालाई आफ्नो कविता जिन्दगी नारीको शिर्षकमा प्रष्ट पारेका छिन् उनले।
पोथी बास्नु पर्छ यहाँ….. शिर्षक कवितामा उनले पुरानो मान्यतालाई भत्काउँदै नारीप्रति हेरिने गलत दृष्टिकोणमाथि पृतिसत्तात्नक पृष्ठ पोषकहरुलाई चेतावनी दिने काम पनि गरेकी छिन्-
बलात्कार बास्ने भालेहरुको
मुन्टो चुँडालेर घुरेन कटाउनु पर्छ..
भोलिको उज्यालोको निम्ति
भोलिको स्वतन्त्रता र सुरक्षाको निम्ति
अब यहाँ.. यो वर्तमानमा
यहाँ पोथी बास्नु पर्छ
पोथी बासेर यहाँ
नारी सुरक्षाको शंखघोष गर्नु पर्छ।
यी माथिको हरफमा सर्जक नगिताले नारी जातिलाई आह्वान मात्र होइन तर पुरुष सत्तात्मक परम्परामाथि विद्रोह पनि गरेकी छिन्। नारीहरु भगवान राम, कृष्णहरुको समयदेखिनै पुरुष जातिको विलास र मनोरञ्जनको साधन रहेको थियो भन्ने कुरा हामीले सातकाण्ड रामायण, महाभारत इत्यादि धार्मिक कथाहरुमा पढ्न पाइन्छन् ।सर्जक नगिताले पनि यस विषयलाई द्वारपार युगको श्रीकृष्ण लीलाहरुको उदाहरण दिएर राधा र मीरा जस्ती पुरुषको मनोरञ्जनको साधन भएर वर्तमानमा पनि बाँची रहेका तमाम पीडित नारीहरुको कथा व्यथालाई खुबै मार्मिक ढंगमा पेश गरेकी छिन् निम्न यस हरफमा-
राधा र मीरा दुवै श्यामका प्यासी
एउटी रानी एउटी दासी
फरक के थियो त दुवैको मायामा
एउटा मायामा पागलपन थियो
अनि अर्को पीडाको भोगाइमा
पनि श्यामकै चाहना थियो।
यी त भए नारीवादी विचारधारामा आधारित कविताहरुको केही अंश। सर्जक नगिता लेप्चा राई एक कुशल र सशक्त व्यङ्ग्यकार पनि हुन्। उनले राष्ट्रिय अनि अन्तराष्ट्रिय स्तरमा प्रकाशित हुने अनलाइन तथा डिजिटल पत्र पत्रिकातिर पनि धेरै व्यङ्ग्य लेखहरु प्रकाशित गरिसकेका छन्। हरेक व्यङ्ग्यमा पनि नारीवादी चेतना घुसाएर पाठकलाई नारीजातिले भोगिरहेको अवस्थालाई अवगत गराएकी छिन्।
‘मन्त्रीलाई पोल ‘शिर्षक कवितामा दह्रो राजनीतिक व्यङ्ग्य पाइन्छ। एक ठाउँमा यसरी व्यङ्ग्य बाण छोड्छन् उनी-
मन्त्रीज्यु साँच्चै तिम्रो आगमनको दिन
तिम्रा चम्चाहरु जतिले
भए भरका भिखारीहरु बटुलिई
ट्रकमा ओसारिई
तिम्रो भाषाणमा भीड पार्छन् ।
यसरी नै ‘हरियो बत्ती ‘परदेशीको उद्गार, लौ न कान्छा कस्तो युग आएछ, वाह! यो समाज ,सस्तै सस्तो, नेता तिमी महान, यस्तै छ यहाँको चलन इत्यादि कविताहरुमा पाठकहरुलाई हास्य र व्यङ्ग्यको खुराक खुवाएर भरमग्दुर मनोरञ्जन दिलाएकी छिन्। ठकुवा गरेरै भन्नु हो भने भारतीय नेपाली साहित्यमा हास्यव्यंग्यको क्षेत्रमा नारी हस्ताक्षरको रुपमा उनको नाम पहिलो पंक्तिमा उभ्याउँदा कसैमाथि अन्यथा नहोला।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)