
म्हेमे ! तिमी ‘जण्डा लामा’ हौ
म्हेमे
सरमान सुब्बा ‘रसिक’
मनको चिहानघारीमा शङ्ख, झ्याम्टा
ग्यालिङसँगै ठुलो ढ्याङ्ग्रो
ढ्वाङ् ढ्वाङ्ग् ढ्वाङ्….
छनन छम छम छम
टुँsssssssss
यस्तै खै के के हो के के
गुञ्जी रहन्छ शोकको धुनहरु।
मनको लाश तेर्सिरहेको छ
अर्धचेतनाको न्यानो बाकसभित्र
भन न म्हेमे
के गर्नु पर्छ?
भड्की रहेको आत्माहरुले
श्रदान्जली स्वरुप
एक मुठ्ठी माटो होइन
तर बासभुमि खोज्दैछ अस्तित्वको ।
म्हेमे तिमी जण्डा लामा हौ
सिँहे, सिण्डे, भूत प्रेत
तिम्रो एक फू मन्तरमा
कायल हुन्छ
घायल हुन्छ।
बुम निकाल र हेरिदेउ
मेरो पनि जोखाना
किन भट्की रहेछ मेरो पनि आत्मा
किन तर्साई रहेछ मलाई
मेरै अनुहारले?
हँ म्हेमे?
म्हेमे
मलाई पनि सिकाई देउन
भुत-प्रेत खेद्ने मन्त्रहरु
म पनि खेद्न चाहन्छु भूत प्रेतहरु
बुम पढ्दै छम छम नाच्दै
हातमा म्हाणे घुमाउँदै
लखेट्नु मन लागेको छ
अरुको प्रगति हेर्न नसक्ने
आँखी डायनहरुलाई
गरीबको बी पी एल कार्डमाथि
राजनीति गर्ने दोबाटेहरुलाई।
म्हेमे
म मर्ने मान्छेहरुको निम्ति होइन
जिउँदा मुर्दाहरुको निम्ति
चिहान हेर्दैछु।
बाँचेर पनि धरतीको बोझ भएर
आफ्नै निम्ति पनि केही गर्न नसक्ने
निकम्माहरुको निम्ति
आफ्नै घरको छानोमा ढुंगा वर्षाएर
दुश्मन तर्साउन खोज्ने लमुतेहरुको निम्ति
आफु पनि घर नबनाउने
अरुको घर पनि भत्काउने
बाँदरे सन्तानहरुलाई
जिउँदै गाड्नु छ
जिउँदै चिहान देखाउनु छ ।
म्हेमे
किन हो किन
ग्रह शान्तिको निम्ति
तिमीले भने जस्तै
ईश्वरको नाम जपी रहन्छु
हातको माला जप्दै
म्हाणे घुमाई रहन्छु
अनि फन फन घुमी रहन्छ
आफ्नै सौर्य कक्षवरीपरी
समस्याको ग्रहहरु ।
म्हेमे
म पनि माथि माथि
चिताको धुआँ सँगै उडौं भन्छु
उडेर स्वर्ग पुगौं भन्छु
रहरको पखेटाहरु फरफराई रहन्छ
फर्र फर्र फर्र फर्र
घरमास्तिर गाडेको लुङ्दर जस्तै ।
म्हेमे
हाम्रो सन्तानको त
खै के के नपुगेको हो कुन्नि
सपनाको वायुमण्डलभरि
विचारको प्रदुषणहरु
यता उता मडारिरहन्छ ।
म्हेमे
साँच्चै हामी लुङ्दर हौं लुङ्दर
रङ्गिन कपडाहरुमा प्रिन्टेट अक्षरहरु हल्लाउँदै
उभिरहेको लुङ्दर जस्तै
अरुकै ग्रह शान्तिको निम्ति
नबुझिने उद्देश्यहरु लिएर
फरफराई रहेका छौं
बर्बराई रहेका छौं ।
म्हेमे
हाम्रो त ग्रह दशा
राम्रो छैन भन्नु हुन्थ्यो होइन?
आफ्नै पहिचानलाई पुरेर
अरुकै स्वार्थ लाभको निम्ति
परम्परागत गाडिएको
लुङ्दर हौं हामी केवल लुङ्दर ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)