
काल्पनिक कथाः जब आत्महत्याबारे सोच्छु, बाआमा झल्झली सम्झन्छु
बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी
तपाईंले बुझ्ने आत्महत्या र मैले बुझ्ने आत्महत्या निकै फरक छ । झुन्डिएर वा अनेक माध्यमबाट मान्छे मर्नु तपाईं आत्महत्या ठान्नु हुन्छ । म आफू भने ठीक विपरीत ठान्छु, आफ्नो मन वा आत्माको हारनै मनको मृत्यु अर्थात आत्महत्या हो । मेरो विचारको आत्महत्या धेरैको जीवनसँग आत्महत्या बन्दैछ, म मेरो पात्रमा लेख्दै गर्दा हजारौं युवाको मन र जीवनीसंग पक्कै मेल खान्छ ।
किन सोच्छु म आत्महत्या ? किन बाध्य भएँ ? जन्म लिएकै दिनदेखि प्रत्येक नेपाली नागरिकले झैँ ऋणको भारी मेरो कोमल छाला र टाउकोमा नपुरिएको तालुमा बोकाइदियो र मेरो भागमा पनि ऋण पर्यो । जन्मँदा जन्मदै ऋण बोक्नु पर्ने यो कस्तो देशमा जन्मिएका हामी ? पछुतो लाग्छ । आत्मग्लानी हुन्छ । एकातिर जन्मिँदा नै बोकिएको ऋण । अर्कोतिर बुवाको काँध र फुटेको पैताला । अर्कोतिर आमाको दूधको भारा । तिर्न नसके पनि एकदिन म खुसी बनाउँछु भन्दै देखेका ठूला सपना । साँच्चै सबैका ठूला सपना हुन्छन् । सायद सपना देख्न पैसा तिर्नु नपर्ने भएर होला । नत्र म सपना देख्न खोज्दैन थिएँ होला ।
उमङ्ग, रहर, बढ्दो उमेर, माध्यमिक शिक्षा जेनतेन पास गरियो । घरको अवस्थासंग हरेक कार्य गरी बल्ल बल्ल पास भएको म । सहरमा बोर्डिङ स्कुल पढेकासंग कम्पिटिसन गर्नु पर्छ जागिरको लागि । सबै युवा विदेश जाँदा सानोमा रहर लाग्ने मलाई समयसँगै बुझ्दै जाने बनायो कारण रैछ, बाध्यता । मेरो उमेरसँगैका साथी शहरमा बाआमाको काखमा बस्दै ठुला कुरा गर्दै ठूलै सपना देख्छन् र लाग्छन् साकार गर्न । अर्को, ती म र मजस्ता थुप्रै युवायुवती फेसबुकको पेजमा ऋणले च्यापिएर पीडा नसुन्दिने नेपाल सरकार, जिउँदै पेट्रोल खनाएर आत्महत्या गर्दै गर्दा भिडियो बनाउने सहर र संसद भवनको कुरा सुन्ने र हेर्ने पात्र छौ ।
मैले पनि आत्महत्या गरिसकेँ । देशको व्यवस्था, आफ्नो अवस्था । मन जलिसक्यो । के गरौं नगरौं माध्यमिक शिक्षापछिका अन्य क्लास, टेक्निकल पढ्ने कुरा सपना पो भयो । उमेर बढ्दै छ । आमाबुवासंग खर्च माग्न उमेरले लाजलाग्दो बनाउँदो रहेछ । पल्ला घरे काकीको छोरी आफ्ना मान्छेको पावर र पहुँचमा स्कलरसिपमा नाम निकालेर पढ्दै छे । उसको त राजनीतिक माहोल पनि झन् राम्रो । जागिर फ्याट्टै लगाई दिएछन् । फ्रीमा पढाइ, कमाएको पैसा घरमा पठाउँछे रे ।
छिमेकी आउँछन् घाँसको भारी बोकेर आएजस्तो, त्यही काकीको छोरीको कुरा लिएर, तुलना गर्दिन्छन् मेरो र उसको । म आमालाई हेर्छु अनि एक्लै कोठामा गएर रुन्छु । रुनु मेरो लागि कहा ठूलो कुरा भो र । हरेक रात मलाई गरिबी, बेरोजगारीले रुवाएको छ । वास्तवमा म पनि सोच्छु, यो सबै थेग्न नसक्ने बोझ बोक्नुभन्दा आत्महत्या गरे ठीक हुन्छ । आत्महत्या ठुलो कुरा होइन, यहाँ समाजले मेरो मृत्युपछि तमाम दोष देखाउँछ र सजाय बुवाआमाले भोग्नु पर्छ । बुवा आमाको मुहारले गर्दा मलाई रस्सीमा झुड्याउन सकेको छैन । हिजो आज म माध्यमिक शिक्षा पूरा गरेपछि सहरको सानो कोठा डेरामा लिएर बस्ने गर्छु । राम्रो ठाउँ जानु लगानी लगाउने पैसा छैन् । साहुको ऋण, बाआमाको वृद्ध अवस्था, मेरो जिम्मेवारी हेरचाह गर्नु पर्ने हुन्छ । ठूलो सहर राजधानी गएर आयोगका क्लास लिएर पढ्न मेरो आर्थिक अवस्था निकै कमजोर छ । के गरुँ ? लेवरमा काम गर्न सक्दिन कमजोर छु । अर्कोतर्फ अलिअलि पढेपछि जागीरको आशले कहाँ गाउँमा बस् भनेर मनले दिन्छ र ? आफन्तीले भन्न थाले, कि जागिर गर कि बिहे ।
आफन्ती न हुन्, बिहे नै कुरेर बसी राखेका छन् । मेरो आफ्नो खर्च ऋण अनि तनाव यो कसैले बुझ्न चाहँदैन । चाहोस् पनि कसरी, जागिर खान पनि त घुस भनौं या पैसा दिनु पर्दो रैहेछ । हरेक ठाँउ फाराम भर्छु ऋण खोजेर । कहिले पढाइ पुग्दैन । कहिले आफ्ना मान्छेको पावर त कहिले पुग्दैन पैसा । पैसा, शिक्षा र आफ्ना मान्छेको पहुँच नहुँदा मैले सक्ने सीप पनि आज टाढा राखेर टुलुटुलु हेर्न पर्ने अवस्था आउँछ । म जस्तै कति धाए होलान् अरु पनि ।
हिजोआज प्राय आत्महत्या सोचेर दिन रात बितेको हुन्छ । सानो कोठाका चार भित्ता मेरो संसार । त्यही भित्ताको माथि ढलाई गरेको माथिको भाग छत मेरो संसार रहेको छ । म युटुबमा हेर्छु रस्सी कसेर झुन्डिने तरिका । तर ठीक त्यही समय बाआमालाई झल्झली आँखामा देखाई दिन्छ र यादले निकै पीडा दिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)