
सर ! तपाई त मेरै हो, अरुको हुन दिन्न
पर्खाइ
कल्याणी तिमल्सिना
आदित्य होनहार केटा हो । उसलाई आफ्नो पढाइमा औधि मोह छ अनि बाबाबाहेक उसको अर्को कुनै देवता छैन ! दत्तचित्तले पढाइ र आफ्नो बाबा प्रति उ सड्॰कल्पित छ । गाउॅंघरमा उ मेहनती, अनुशासित, आज्ञाकारी भनेर चिनिन्छ । सायद उसका दौंतरीहरू बीच डाह पलाउॅंछ पनि होला । जे होस, आदित्य आफ्नु पढाइलाई अगाडी बढाउन उ आफू अरुलाई टिउसन कक्षा पढाएर समयलाई पलपल सम्पत्तिकरण गर्दै अब्बल सावित गर्दै “वरमे को गुणी पुत्रो नच मुर्ख … !” एक्लो छोरो भएरै पनि आफ्नु उपस्थिति सावीत गर्दै आइरहेछ ।
उसको टिउसन कक्षामा धेरै नै विद्यार्थीहरू पढ्दै छन । तिनीहरूको बीचमा एउटी नयाँ बिद्यार्थी थपिन पुगेकी छिन आशा ।
“स्वागत छ हाम्रो कक्षामा हजुरलाई, निर्धक्कसंग नबुझेको कुरा सोध्नु सक्नुहुन्छ अनि साथीहरूसँग आजभन्दा अगाडिका नोटहरू पनि माग्नु सक्नुहुन्छ ल !” भन्दै आशालाई स्वागत गर्यो र कक्षालाई अगाडि बढायो आदित्यले ।
पहिलो दिन आशा निकै डराएर बसिन कक्षामा । आदित्यले सबैलाई उक्तिकै महत्व दिएर पढाएको देख्दा आशा निकै नै खुसी भइन । पहिलो दिन थोरै थोरै बोल्ने कोसिस गरिन ।
दिनहरू बित्दैछ । आशाको पढाइ प्रगति मै छ । पास फेल त परीक्षाले देखाउला । तर आशा खुशी छे । कक्षामा सबै केटीसँग राम्रो चिनजान भएको छ । आदित्य निकै राम्रो बोल्ने नम्र व्यबहार र भद्र मानिस हुन । सबै केटीहरू आदित्यको पछाडि पछाडि सर सर भन्दै झुम्मिएको देखिन्छ । सबैजना आदित्य आएपछि मख्ख । उसले पढाउदा केटीहरू निकै चासो दिएर पढेझै गर्थे । यहि बथानमा आशा पनि छे । सबैको नजरमा अविवाहित आदित्य प्रिय भएर उभिएको छ । अब आदित्य कस्को भागमा पर्ने हो समयले बताउला !!
आशाको एउटा अब्बल बानी छ । मन परेको कुनै पनि सामान वा कुनै मान्छे आफ्नु हुनैपर्छ । यो ट्युसन कक्षामा पनि यो सुरु भएको छ । आशालाई पनि आदित्य मनपर्यो । उ मृदु भाषी छ । जवान छ । सुन्दर पनि छ । मेधावी छ ।तब, कस्लाई मन पर्दैन !?
पढाउदा शिक्षक र विद्यार्थीको आँखा एक आपसमा संगै टकराउॅंछन नै । यही क्रम जारी छ । लाग्छ अलि धेरै पटक वा पटकौं आशाका आंखाहरू आदित्यमा ठोकिएका छन । आशालाई यो अनुभूत छ । तर अन्जान छ आदित्य । आदित्यले आशा निकै राम्रोसंग पढाइमा केन्द्रित छ भन्ने ठानिरहेको छ । तर आशाको ईरादा अर्कै रूपमा उभिदै उभिदै उ नजिक नजिक आइरहेछ । उ भने बेखबर छ । पटक पटक आशा तपाईंले बुझ्नुभएको छ नि ? भनेर सोधेको पनि छ । आशाले मण्टो हल्लाएर सहमति हंसमुख भएर दिदैं आएकी छ ।
अब आशा पढाइ होइन, आदित्यलाई मात्र ध्यान दिएकी छ । आशाका नजर केवल आदित्यको उपस्थितिमा केन्द्रित छ । उसका आवाज आशाको कानभित्र पुग्न छाडिसकेका छन ।

अन्तिम बेन्चमा बसेकी आशाले एकदिन “सर ! मलाई आएन फेरि सिकाउनु न !” भनिन । आदित्यले कुनै अप्ठेरो नमानी समान गोचरमा सिकायो । तर मौकाको ताकमा रहेकी आशाले आदित्यलाई “आई लभ यू !” भनीहाली । आदित्य झस्कन पुग्यो । लेखिराखेको कलम हातबाट भुईंमा खस्यो । लज्जाभित्रबाट आदित्य यता उता हेर्यो र अनि फेरि आशालाई पनि हेर्यो । सपना वा भ्रममा उ लेख्न र सिकाउन छाडेर कक्षाको अगाडि पुग्यो ।
आशा मक्ख छे । तर आदित्य छट्पटीमा रह्यो ।
अर्को दिन आदित्यले आशालाई हेर्न सकेन । अरुहरूको अगाडी उ हतभ्रम छ । आशाले “सर मलाई फेरि आएन, यो हिसाब !” भनेर अर्को वल्छीमा अल्झाएर आफुतिर तानी । तर आदित्य आज आशाको वल्छीको धागोमा तानिएन र अगाडि बाटै “प्रश्न भन्नुस त म बोर्डमा लेखेर सबैलाई सिकाउँछु ।” भन्यो । आजको एक घण्टा कक्षा समय सकियो । आदित्य यताउता नहेरी ल भोली भेटौंला समेत नभनी सुरुमै कक्षाबाट निस्कियो ।
खेलाडी आशालाई भने खुब मिठो निद्रा लाग्दै दिनहरू गइरह्यो । आदित्य पनि मन मन आशालाई साथमा राख्न लागेको छ र निद्रा भागेको उसले भेउ पाएको छैन । केवल उ छटपटिमा छ । यो छटपटि जीवनमा विरलै आउने गर्छ जुन आज आदित्यको साथमा बसिसकेको छ । यो अर्कै कौतुहल अर्कै कोलाहल मनका तरेलीहरू चाहारेर भित्रभित्र कम्पित छन ।
आज भने आशाले गृहकार्यको प्रश्न उत्तरसहित कपिमा गरेकी छ । आदित्यलाई देखाईन । तर उत्तरपुस्तिकाको तलतिर “सर ! तपाई त मेरै हो, अरुको हुन चाहि दिन्न म ! राम्रोसंग सुन्नु नि मलाई र बुझ्नु पनि हस !” भनेर लेखिपठाएकी छ । आदित्यले मनमा उमड्॰ग उचालेर पुरस्कृत भएको उत्सव मनायो । तर बाहिर केही नबोली आशालाई कम तर मायावत हेराइ पठाएर कक्षालाई पहिला जस्तै सहज लग्ने प्रयत्न गर्यो तर बेलाबखत खुस्किएको कुरा आशाले पीएकी छ नै ।
त्यसैले आज कक्षामा पढाएको खासै कसैले बुजे जस्तो देखिएको छैन । आदित्य आफैँ अन्योलमा छ । तर उ निसंकोच निस्कने दौडमा छ ।
समयको गतिमा सड्॰कुचनबाट बाहिर निस्केर आदित्यले आशालाई सोध्यो “साँच्चै आशा हजुरले भनेको कुरा साँचो हो ?”
आशाले मुस्कान दिएर भनिन् “सर साँच्चै हो !!” उ पनि गदगद भयो र आखा मुखमण्डलबाट ल ठीक छ म तिम्रो साथ हुनेछु भन्ने संकेत पठायो । आशाले यो भावभड्॰गीलाई आंखाहरूले स्वागत गरी ।
आदित्य हिजोआज निकै खुसी देखिएको छ । अझ आशाको आँखामा आँखा जुदाउदा सन्सार मेरै हो भन्ने अनुभूती प्रष्ट संकेत गरिरहेछ उसको गतिविधिहरूबाट ।
केहि समय पछि आशाको जन्मदिन आयो आदित्यले जीवनमा पहिलो पटक उपहार किन्ने निर्णय लिएर बजार पस्यो । आशा सधैं ढिलो कक्षामा आउने कुरालाई केन्द्र बनाएर आदित्यले घडी उपहार नै उपयुक्त ठानेर किन्यो र आशालाई दियो । आशाले यो उपहार मुस्कुराउँदै लिएकी छ ।
“धन्यवाद !” भनिहाली समयको सदुपयोग गर्न उ माहिर छ नै । आदित्यको अनुहारमा छुटै चमक लहरिएर यताउता दौडियो !
यसरी दिनहरू गए र टिउसनको अवधि सकियो । तर टिउसनले सिउरेको फूल अर्थात मायाको भरखर सुरुवात थियो । त्यसपछिका दिनहरूमानआदित्य आशालाई भेट्न टाढा टाढासम्म पुग्थ्यो ।
समयक्रममा आशाले फेरि पनि भनिहाली “आदित्य ! मलाई हजुरको दुनियाँमा आउन पक्कै अली समय लाग्ने नै छ ! के हजुर मलाई पर्खिन सक्नुहुन्छ नि ?”
आदित्यले हाँस्दै भन्यो “जुन दिन कपिमा तिमीले लेखेकी थियौ – म अरुको हुन दिन्न, भनेर होइन त ?! हो, त्यो दिन देखि नै म हजुरको भएके हो ! हजुरलाई कुरीबसेको छु ! ढिला नगरी जीवनको सवेरै आउनु नि ल !”
“पक्का चाँडै आउनेछु !” आशाको ओठले सुमधुर स्वर गुन्जन गर्यो ।
“पर्खाई कष्टकर हुन्छ नि ख्याल गर ल !”
“हस ! यत्ति त बुझ्ने भएकी छु !!”
…
“भेट र सम्वाद अनि अर्घेल्याईंहरू जिन्दगीका पानाहरू बन्दै बन्दै आज ९ वर्ष भयो ! आशा ! म आज पनि हजुरलाई कुरेर बसेको छु ! आउने छौ नि ! मेरो आशा ! म पूर्ण भरोसा र विश्वासमा बसिरहेको छु । याद गर ल ! ढिला भएन र ?!”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)