५ दृश्यमा वर्तमान नेपालको असली समाजवाद

लघुकथाः समाजवाद

गोविन्द श्रृङ्खला

दृश्य १

‘आमा, औषधी पसल बन्द छ’, पाँचसयको नोट आमालाई फर्काउदै गौरव बोल्यो ।

‘औषधी पसल बन्द छन् ?’, आमाको प्रश्न ।

‘हो, आमा सबै बन्द छन्;, गौरवको प्रतिउत्तर ।

गौरवको बावु दमको रोगी इनहेलरको अभावमा ऊ छटपटिइरहेको छ, औषधी पसलहरु सबै बन्द छन् । औषधी व्यबसायीको आन्दोलन छ रे आज ।

दृश्य २

यातायातका साधन चलेका छैनन्, हिजोसम्म बन्दको हल्लै थिएन । एक्कासी बिहानैबाट सडकमा मोटरहरु तेस्राएर बन्दको घोषणा, यातायात व्यबसायीद्वारा सरकारसँगको सहमति अनुरुप भाडादर पुनरावलोकन नभएको भन्दै यातायात बन्दको घोषणा । वावुको अन्तिम संस्कारका लागि गाउँ जान लागेको रमण बीचबाटोमै अलपत्र, ऊ नपुगुन्जेल बावुको दाहासंस्कार हुन सक्दैन, एक्लो छोरो, हिजोदेखि शव तुलसीको मठमा राखिएको ,घरको माहौल अत्यन्तै शोकमग्न ।

दृश्य ३

खाने पानीको वील आमालाई दिंदै कन्छो बोल्छ, “आमा लिनुस् यो वील ।” एक महिनादेखि धारामा पानी आएको छैन, ट्याङ्करको पानी किन्दा किन्दा हैरान, तर वील भने ठिक २५ गते नै आइपुग्छ ।

दृश्य ४

फोनको घण्टी बज्छ । राजमतीले फोन उठाउँछिन् ।

“शैलेशको घर हो ?”, उताबाट प्रश्नसहितको सोधनी ।

“हजुर, हो”, राजमतीको उत्तर ।

“तपाइको छोरा ट्रमा सेन्टरमा, छ तुरुन्त आउनुस्”, अकल्पनीय खवर सञ्चार आमाको कानमा ।

“बिहान सकुशल हिडेको छोरोलाई अचानक के भयो ?”, आमाको उद्वेलित ममता ।

खाने पानीले खनेको खाडलमा बाइक खसे पछि शैलेस गम्भीर घाइते ।

दृश्य ५

घरको टिभीमा समाचार आउँदै छ, “… दल सरकारबाट समर्थन फिर्ता लिंदै बाहिरियो, प्रधानमन्त्रीद्वारा अन्य दलहरुसँग सरकारमा सहभागिताका बारेमा छलफल सुरु ।”

चुनाव भएको झण्डै चार महिना पुग्न लाग्यो, अझै सरकारले पूर्णता पाएको छैन, जनताका समस्या ज्यूँ का त्यूँ छन् । देशमा वेथिती छ, जिम्मेवार हुनु पर्ने निकाय लगामविहीन छन्, नियमन् र नियन्त्रण छैन, विकास निर्माण अलपत्र छ, राज्यको प्रणाली अस्तव्यस्त छ, के का लागि सरकार ? फेरिरहन र छलफल गरिरहनका लागि मात्र सरकार बनेको हो ? दलका नेताहरुले भन्ने गरेको समाजवाद सायद यही हो । प्रतिनिधीमूलक दृश्यहरु, नलेखिएका र नदेखिएका अनगिन्ती दृश्य आवरणभित्र कैद ।

समाजवादको नयाँ मानक, नयाँ परिभाषा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button