
जनकको शव विमानबाट निकाल्दै गर्दा देशमा नयाँ सरकारको शपथग्रहण
लघुकथाः मुक्ति
गोविन्द श्रृङ्खला
पुसको दोस्रो साता, वातावरण अत्यन्त शुष्क अनि मुटु कमाउने जाडो, पशुपती आर्यघाटको शवदाह स्थल । साँझको छ बजेको समय, पारिपट्टि दैनिक सञ्चालन हुने आरती, भजनको लयमा नाचरिहेका श्रद्धालु, वाग्मती किनार, ब्रम्हनाल नजिकै सुताइएको शव उपस्थित सवैका मुखाकृती मलीन, आर्यघाटको सजीव चित्रण ।
झण्डै एक महिनाको संघर्षपछि आजै अपरान्ह आइपुगेको जनक बुढाको शव अन्तिम संस्कारका लागि राखिएको छ । विमानस्थलमा जनकको शव विमानबाट निकाल्दै गर्दा देशमा नयाँ सरकारको शपथ ग्रहण कार्यक्रम हुँदै थियो । मुलुकको आमूल परिवर्तन गरेर आम जनताको मुक्तिको सपना देखेको होनहार योद्धा खाडी मुलुकबाट वाकसमा फर्किदै गर्दा क्रान्तिको नेतृत्व गरेको दल सरकारको पनि नेतृत्व गरिरहेको थियो ।
झण्डै एक महिना अघि कारखानामा दुर्घटनाको सिकार भएको जनकको शव समेत परिवर्तनको संबाहक बनेको सरकारले समयमा ल्याउन सकेन । सूदूरको विकट गाउँको जनकलाई परिवर्तनको नाममा बन्दुक बोकाइयो र शान्ति सम्झौतापछि अयोग्यको विल्ला भिराइ मुक्त गरियो । हजारौ जनकहरु यसै गरि अयोग्य भए र खाडीका लागि योग्य बन्दै गए । देशले काचुली फेर्ने देशमै रोजगारी सिर्जना हुने अनि सुन्दर मुलुकको सपना देखेका योद्धाहरु दिनै पिच्छे खाडीबाट बाकसमा देश भित्रिरहेका छन् । मुक्तिको आन्दोलनमा होमिएकाहरु संसारबाट सधैका लागि मुक्त भएका छन् ।
जनक बुढाको लाश जल्दै थियो, आर्यघाटको विश्रामगृहबाट कसैले रेडियोमा समाचार सुन्दै थियो, “ प्रधानमन्त्रीबाट गरिवी अशिक्षा र पछौटेपन मुक्त गर्ने घोषणा ।”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)