
मलाई कथाले छुँदैन, कविताले पनि छुँदैन

कविता: परै क्रान्तिकारीहरु काममा व्यस्त छन्
युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत
हामी राजमार्गका व्यस्त
तरुणी ‘स्टाफ’ होटल
मुस्कान फिटेर चिया बेचिरहेंछौ
घुँडाघुँडा लुङ्गी छोट्टयाएर
ग्राहक मनहरु खिचिरहेछौ
तिर्खालु मान्छेहरु
चुस्की लगाउँछन् हाम्रा ओंठहरुमा
दिक्दार यात्रुहरु
न्यानो ताप्छन् हाम्रा नखराहरुमा
मान्छेहरु काममा व्यस्त छन्
श्रमिक नामका श्रमिकहरु
औजारहरु छेउमा बिसाएर
सकि-नसकि राजमार्गका
‘माइलस्टोन’हरु ठेलिरहेछन्
गन्तव्य कति टाढा छ भन्ने
आउँदो पुस्तालाई थाहै नदिन शायद
सम्पूर्ण ‘माइलेज’_ हरु मेटिरहेछन्
परै क्रान्तिकारीहरु काममा व्यस्त छन् ।
यतिबेला
यतिबेला मलाई भने
मिरमिरेको कथा किन मनपर्दैन, किन ?
परिवर्तनको कविता किन मनपर्दैन किन ?
यतिबेला नै बेला
मलाई कथाले छुँदैन
मलाई कविताले पनि छुँदैन
असभ्यताको निर्लज्ज
अस्वीकृत दलाल भएँ कि क्या हो
कथाले मलाई
उभिन्डो झुण्डयाए जस्तो लाग्छ
च्याए पनि हुने
पसे पनि सकिने
आधा उधारै ढोका भएँ कि क्या हो
कविताले मलाई
टाँढबाट बलात मुन्टयाए जस्तो लाग्छ ।
यति नै बेला
बुझ्नुभो, यति नै बेला
‘म’
तँ हिँडदैछस् भनिरहेका
देवालयका समर्पित आवाजहरुमा
गाली अक्षता ठोक्किरहेको छु
गल्ली छाडिएर सडक त हुनुपर्ने आजसम्म
त्यहीँ गल्ती ढोगिरहेका
गल्ति यारहरु मात्र देखिरहेको छु
उखेल्न खोज्छु फेदैदेखि
यी उल्का अधोग मनहरुलाई
तर झनझन्
अत्याचारहरुमा भासिएको छु
झनझन्
व्यभिचारहरुमा टाक्सिएको छु
अहँ मलाई कथा मनपर्दैन
मान्छे व्यस्त भएको बेला
अहँ मलाई कविता मनपर्दैन
क्रान्तिकारीहरु काममा व्यस्त रहेको बेला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)