बाटोले बाटैपिच्छे बाटो सोधेर हिँड्दा कहीँ पुगेन
बाटो
रासा
१. बाटो
बाटोलाई छाडेर बाटोमा
हिँड्दा
भड्खालोमा खस्यो ।
खसेको त्यो बाटो
फेरि बाटोमा उक्लिन खोज्दा
झन् भासियो ।
२. बाटो
चिप्लिएर लड्यो बाटोमा ।
बाटोको जीउभरि
हिलै-हिलो लाग्यो ।
तर पनि,
बाटो
पुन: उठेर हिँड्यो
अर्को बाटोमा ।
३. बाटोले
बाटोलाई बाटो सोधेर हिँड्दैन ।
बाटो
एक्लै हिँड्छ
र, ठाउँमा पुग्छ ।
४. बाटो
बेलगाम दौड्यो बाटोमा ।
खाल्डोमा पर्यो
र, लड्यो ।
फेरि दौड्न खोज्दा
बाटोले
थुप्रै बाटाहरू देख्यो ।
५. बाटोले
बाटैपिच्छे बाटो सोधेर हिँड्दा
कहीँ पुगेन ।
बाटो नसोधी हिँड्दा बरु
सिधै गन्तव्यमा पुग्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)