तिम्रो मृत्युपछिको सुहागरात
सानुराजा श्रेष्ठ अञ्जान
पशुपति देउपाटन, पाचाटोल
आज पूर्णचन्द्रको रात र आज पूर्णिमाको रात
यसै पूर्णचन्द्रको मध्यरातमा
म कोठाको नीरवतालाई
भत्काउने सोच्दै थिएँ
अनायासै पर्दाहरू सरर हल्लिए
सिरिरी बतास आयो
मेरो स्वप्नागारभित्र तिमी आयौ
तिम्रो शारीरिक कस्तूरी सुगन्धले गर्दा
कोठाका रबरप्लाण्ट र मनिप्लाण्टका
नयाँ मुनाहरूले तिमीलाई स्वागत गरे ।
कोठाको शून्यताभित्र भित्तेघडीको
टिकटिके पर्खाललाई ढाल्न खोज्दै थिएँ
अकस्मात तिमी आयौ, तिम्रो आत्मा आयो
चहकिलो तिम्रो आत्माको प्रकाशले
मेरो कोठाको कुनाकुना जगमगाए
एकपटक त मेरो आङ जिरिङ भयो ।
तिम्रो मृत्युपछिको यो पहिलो भेटले
तिम्रो आत्मा र म सशरीरबीच
हाम्रो पहिलो तथा अन्तिम पटकको
सुहागरात मनाउन लागेको थियो ।
बाहिर असँख्य उल्लू, चमेरा र कुकुरहरूको भयानक भुकाइ सुनिन्थ्यो
तिमी क्रमश: ममा समाहित हुँदै गइरहेकी थियौ
र म क्रमश: तिम्रो आत्मासँगसँगै
अन्तरिक्षतिर लाग्दै थिएँ
तिम्रो आत्मासँगै आत्मा भएरै
सपनाबाट पनि टाढारटाढा भाग्दै थिएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)