बेरोजगार आँखाभित्र हाम्रो परिवर्तन सरकार

युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत

बेकारी बेरोजगार गरीबीको कुनै तन्त्र हुँदैन
न लोकतन्त्र
न स्वतन्त्र
न परतन्त्र
न राजतन्त्र
न यसको कुनै वाद हुन्छ
जातवाद
जातिवाद
मार्क्सवाद
लेलिनवाद
मावोवाद
समाजवाद
साम्यवाद
गान्धीवाद ।
गरीबीको दलदलमा छटपटिनेहरु
सधैभरि भोको हात फैलाउनेहरु
गरीबीको घुस्सी र लात खानेहरुको
के वाद
कस्तो वाद ?

के स्वतन्त्रता
के परतन्त्र
जुनै वाद
जुनै तन्त्रमा पनि
लुम्रे झुम्रे मागिखाने परम्परामा जिउनेहरुका निम्ति
के तन्त्र
के वाद ?

देशले गरेको विकासले
बेकारी बेरोजगार गरीबको पेट भर्दैन
झुत्रो फेरिदैन
तिर्खा मेटिदैन ।
यो झार(जंगल जस्तो उम्रिने गरीबीको उन्मुलन सरकारको योजना
नेताको भाषणले गर्न नसक्ने राजनीतिक कथा हो
सुनेर अघाउने
गमेर भोकाउनेहरुका निम्ति
के वाद
के तन्त्र
के परिवर्तन
के क्रान्ति
परिवर्तन त सत्तातिर जाने मात्र भएका छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button