
म समुन्द्रको गहिराइमा डुबेर घामको ताप खोजिरहेछु
मेरो अवस्था
प्रेम नेउपाने ‘प्रहर’
रुम्तेक, सिक्किम, भारत
म समुन्द्रको गहिराइमा डुबेर
घामको ताप खोजिरहेछु
अनि आफ्नो बारीमा इलामे फूलाएर
स्वनिर्भर भारतको अभियानमा लागेको छु ।
मेरो छोराछोरीलाई
उच्च शिक्षा हाँसिल गर्न
विदेश पठाइरहेको छु
अनि आफ्नै घरको भुईतलामा
विदेशीलाई दोकान चलाउने
स्विकृती दिइरहेको छु ।
मेरा प्रतिभाहरू नसोध्नु महाशय
अरुले लगाइएको नबुझ्ने संगीतको तालमा
खुब नाच्न जानेको छु
आफु सत्ता ओगटिरहन
आकाशका जून ताराको सपना देखाई रहें
तर चियो गरिनँ
मेरो आँगनको सिमाना कता सर्दैछ ।

म रमाईरहें छिमेकीले घोडा चढेको देखेर
ताली बजाईरहें
छिमेकीले दिएको सस्तो मुसुरी दाल खाईरहें
आफ्नो बारीका डिलमा
कहाँ रोप्न भ्याएँ र मैले
कालो दाल, मस्याम, तुने बोडीहरू ।
मेरा दौराका तुनाहरू चुटिएपछि
मिल्काएँ एक कुनामा
अनि एमाजन र फ्लीपकार्डको सहायता लिएर
रिबोक र इमिरेट्सका
सजिला र भरिला कपडाहरू मगाई रहें ।
पसल चलाउने भैयाले
मटितेल र चामल सँगसँगै
मेरै घर बेचिसकेछ
म डिस्कोमा नाचिरहेको बेला ।
उफ् ! कस्तो भुलिएछ
उफ् ! कस्तो सुतिएछ
भविष्य अन्धकार बनाएर
वर्तमानमा कस्तो रमाईएछ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)