छाेरी ! बा-आमा बस्ने तीर्थभन्दा पर मेराे कुनै मन्दिर छैन
प्रिय छोरी
तारा केसी
काभ्रे, पनाैती
प्रिय छाेरी !
तिमी विश्व मानचित्र पल्टाएर
आफू अनुकुलकाे देश खाेजिरहिछ्याै
म आफ्नै घरबाट हराएकाे मेरो नाम खाेजिरहेकी छु ।
तिमी महासागरकाे कुरा गर्छ्याै
आइफल टावर फन्काे मार्छु भन्छ्याै
म यति बेला मेरै चाेकसित बिरानाे छु ।
मलाई त बाग्मतिकाे सफा पानीमा
मेराे देशकाे प्रतिबिम्व हेर्न मन छ
लाग्छ,
म जन्मेकाे आँगनभन्दा पर मेराे भुगाेल छैन
सगरमाथाभन्दा पर मेराे कुनै देश छैन
म कसैकी छाेरी
कसैकी बुहारी
म तिम्रै नामबाट
तिम्रै आमा बनेर चिनिएँ
छिमेकभन्दा अलि पर मेराे परिचय छैन ।
जन्म घरमा ठूली भन्थे बा-आमाले
कर्मघरमा कान्छी भएँ
पछि याे देशकाे नागरिक भएँ
ठूली-कान्छी भएर ।
मलाई पनि तिम्रै जस्ताे नाम प्याराे लाग्थ्याे
तिमी जस्तै स्वतन्त्र भएर गगनमा उडुँ उडुँ लाग्थ्याे
तर मैले त तिम्रै लागि भाँचेकी हुँ उड्ने पखेटा
तिम्रैलागि थुनेकी हुँ
संसार चिहाउने स-साना सञ्झ्यालहरू
एउटै रूखकाे हाँगामा झुन्डिएर मैले
गरेकी हुँ सबथोक तिम्रा लागि ।
प्रिय छोरी !
काेसी तर्दा तर्दै काँसजस्तै सेतै फुलेका
बा- आमा बस्ने तीर्थभन्दा पर
मेराे कुनै मन्दिर छैन ।
तिमी यतिबेला
झाँगिन चाहन्छ्याै पीपल जस्तै
र फैलिन चाहन्छ्याै पर- परसम्म
साँघुराे भैसक्याे याे भुगाेल तिम्राे लागि
मलाई थाहा छ,
तिम्राे पदचाप पछाउँदै हिड्ने छन्, घाम- जून
एक अँगालो घाम च्यापेर पस्ने छ उज्यालो
तिम्रै लागिआशिर्वाद मन्त्र पढ्ने छन् बाजे-बजूले
तिम्राे स्वर्णिम भविष्यकाे लागि ।
म भने,
बल्दा बल्दै सकिने मैनबती न हुँ
अरूकै लागि बलेर सकिएँ ।
प्रिय छाेरी !
तिम्राे र मेराे लागि कहिल्यै याे समय
समानान्तर दुरीमा हिँडेन
म हिड्ने सानाे गाेरेटाे
र
तिमी दाैडने फराकिलाे राजमार्गले
कहिल्यै हामीलाई छाेएन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)