राम्रो नराम्रो जे गर्छ, विचारले गर्छ

कविताः विचार

राधाकृष्ण पन्त
मध्यपुर, ठिमी

सुख र दुखको कारण
परिस्थिति भन्दा बढी
विचार हुने हुँदा
वैचारिक दरिद्रता नै
दुख, अभाव र पीडाको
खानी भएकोले
ठूलो वनमा माकुरोले
जाल बुनेर
जालभित्र आफैँ हराएझैँ
विचारहरुको जङ्गलमा
कुविचारहरुको जाल बुनेर
मानिसहरु आफैँ हराउँदा रहेछन् ।

अपवित्र विचारले मनभित्र
घर बनाएपछि
तनावमा डुबेर मान्छेले
हत्या र आत्महत्याको बाटो रोज्दो रहेछ ।

हिंसा र समस्याको मूल कारण
समस्त कुण्ठा र अहङ्कारको विकास
मन, बुद्धि र चित्तमा परेपछि
राम्रो र नराम्रो देखिरहनु
विचार शक्तिकै अर्को रुप
कुविचार शक्ति रहेछ ।

संसारको सबैभन्दा ठूलो शक्ति
विचार भन्ने जानेपछि
विचार नै ठूलो बल बुझेपछि
यसैमा अपरिमित शक्ति जानेर
व्यक्तिको ठूलो तागत
विचारभित्र भेटाइन्छ भन्ने जान्नेले
सशक्त वैचारिक प्रवाहबाट
विस्तारै विस्तारै
घर परिवार समाज हुँदै
सत्ता र व्यवस्थाहरु बदल्दैजाँदा रहेछन्
र अन्तमा
राष्ट्र नै बदल्न सक्दा रहेछन् ।

विचारहरुबाट नै व्यक्तिलाई
चरित्रवान बनाउँदै
अध्यात्मवादी बनाउने प्रयासहरुले गर्दा
मानिसहरु प्रतिकुलतासँग जुद्धै
संघर्ष गर्ने हिम्मतहरू जुटाउँदै गर्दा
विचारहरुको शक्तिबाट नै
पराजयलाई विजयमा
बदल्न सक्दो रहेछ ।

अपवित्र विचारलाई
पवित्र विचारहरुसँग जोड्दै जाँदा
देहभित्रको देवत्वलाई
जागृत गरिसकेपछि
विचारको गमलामा
करुणा र वात्सल्यको फूल
फुलाउन सक्दो रहेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button