बा र आमाले जति प्रेम ऊ आफैले पनि गर्दैन आफूलाई
विद्या खड्का
हिजो बा
दिनभरि सन्तानको भविष्यको लागि दगुरेर पनि
रातमा अनिदो बस्थे
छोरालाई दूध ख्वाउँदै आमाचाँहि निदाई कि ?
सिरकभित्र कलिलो चिचिलो निसास्सियो कि ?
आज छोराको
आँखा लोलाएका तर कान टाठा हुन्छन्
बा ओल्टे कोल्टे गर्दा ऐया भन्छन्
ऊ झसङ्ग भएर बिउँझन्छ
बा बिमार हुँदाका रातहरूमा
पटक पटक उठेर बिस्तारै चाल बुझ्छ
पानी पिउन उठ्न नसकी बलाईरहन्छन् कि ?
उठ्न नसकेर लडिरहेका पो छन् कि ?
जब बा चारबजे ढोका खोलेर बाथरूम छिर्छन्
तब बा ठिक छन् भन्दै निदाउँछ ।
सानो बेलादेखि
बा उसको अलादिनको चिराग हुन्
ऊ झाँक्रीको कुचो बनेर बाका दुखाईहरू हर्न नसकेकोमा दुख मान्छ
कताबाट कसरी
बाको औषधि जुटाउँ भन्नू परेको छैन
र पनि कहिलेकाहीँ बा काकुरा र बच्पने व्यवहारले
दिक्क हुँदै रिसाउँछ, झर्किन्छ
फेरि थक्थकाउँछ
बा त भगवान् हुन् मेरा लागि
म छोरा बन्न पनि सकिन कि बाका लागि ?
घाम जस्तै छर्लंग छ
उमेरको उकाली चढ्दै गर्दा
बाका शारीरिकसँगै
उसको मनको कष्ट घट्ने होईनन्
तर पनि ऊ पुकारिरहन्छ
डाँडामाथि बसेरै पनि
हेरिरहनु है बा
न्यानो हात शिरमाथि राखिरहनु है बा
किनकि
डाँडा माथिबाट जुन अस्ताएदेखि नै
उसले जानिसकेको छ
बा र आमाले जति प्रेम
ऊ आफैले पनि गर्दैन आफूलाई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)