उनी जले अनि ढले
सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक, हालः लिमासोल, साइप्रस
नवजात एउटा बिहानीसँगै
नमिठो मृत्युको खबर
यत्रतत्र सर्बत्र
चैत्रको हुरीले निम्ताएको
डढेलो जस्तैगरी सल्क्यो
सामाजिक संजालभरी
न्युज च्यानलको हेडलाईन बने थरीथरी
उनी जलेर ढले
म नजलेर कहालीलाग्दो खबर सुनेर ढलेँ
उनी जलेर मरे
उनको त्यो भयंकर निर्णयले
२१ औं शताब्दीको
मानवअधिकारको कुराहरु चुरचुर भए
उनी जले अनि ढले ।
लाज लजाएर अनशन बस्न थालेको छ रे
सत्य तितो यथार्थ
बिडम्बना विछिप्त भएर
अरब सागरको सामुन्द्रीक छालहरुमा
देहत्यागको प्रयास हुँदै छ रे
आकस्मिक अकालमा
जल्नु, मर्नु, झर्नु, खस्नु बनेको छ नियति ।
अस्ति भर्खर
जिन्दगीको हिसाबकिताब मिलाउन
परिवारबाट टाढिएको
टाढाको बिरानो मुलुकमा
नवजवान युवा
नवजात सपनासँगै
जल्दै गरेको घरसँगै जले
आर्की एउटी युवती
प्रेम नदीमा हामफालेर पौडिन खोज्दाखोज्दै
अमुल्य जिन्दगीलाई सस्तो बनाएर
आफैले आफैलाई मारे
खुदलाई पेट्रोल बनाए
दनदन जले अनि ढले ।
हिजो फेरि
आगोको कथा दोहोरियो
देश चलाउने टाउके ठालुहरुको अगाडि
नमिल्ने कुरा खोई किन हो कुन्नी मिलाएर
उनी दनदन जले अनि ढले
उनी जले, ढले अनि टाढा गए
उनको धृष्टतालाई
कायर त भन्दै भन्दिन म
उनको निर्णयलाई सम्मान पनि गर्न सक्दिन म ।
उनी त जले
तर उनको जलाईसँगै
देश हाँक्ने जिम्मेवार मान्छेहरुको
स्वाभिमान जले
अस्तित्व जले
बहुलट्ठिपना जले
हेपाहापन जले
उनी जले अनि ढले ।
हुनुपर्ने भन्दा
नहुनुपर्ने कृत्यहरु पटकपटक दोहोरिँदा
सगरमाथाको उचाई
मौन भएर झुक्न थालेको छ
बुद्धको शान्तित्वमा
अशान्तिको बादल मडारिन आँटेको छ
ऋषि–महर्षीहरुको पावनभुमी
स्वर्गजस्तै नेपाल
आधुनिक युगको
आधुनिक मान्छेहरुले जिन्दगीलाई
ब्यापारिकरनको खुद्रा बिकाऊ
सामाग्रीको रुपमा लिँदा
लोभ, मोह,ईर्ष्या, डाहाको खालमा
महत्वाकांक्षीलाई च्याँखे थाँप्दै
मिहेनत भुलेर
धैर्यता बिर्सेर
नजल्नु पर्ने जल्दैछ
नमर्नु पर्ने मर्दैछ
नहुनुपर्ने हुँदैछ
सुल्टो होइन, उल्टो–उल्टो हुँदैछ
उनी जले अनि ढले ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)