माटो माग्दछ पाखुरा तरुणका देऊ मलाई भनी
नेपाल सम्झीकन
प्रेम घिमिरे ‘अग्निकवच’
यो धर्ती हँसिलो छ स्वर्ग सरिको ब्रह्माण्डको हो मन
डाँफे नाच्छ यहीँ मुनाल मधुरो लोरी सुनाईकन ।
सीताराम विवाहको जनकको वृत्तान्त भज्छन् जन
टेके गौतम बुद्धले पद यहीँ आलोकका सज्जन ।।
चाँदी झैँ छ टलक्क टल्किरहने धौलागिरी टाकुरा
तन्नेरी जनका बहादुर सँधै छन् पौरखी पाखुरा ।
नेपाली भृकुटी उदाउन पुगिन् चम्केर तारा बनी
पुर्खाको पसिना र रक्तकणले नेपाल हाँस्दैछ नि ।।
बग्छन् कल्कल गाँउदै नदनदी सम्वृद्धिका खातिर
झर्ना झर्झर झर्दछन् मधुरता छर्दै नमानी पिर ।
हाँस्छन् हैमशिला मुसुक्क मनले हेर्दै फुलेका तरी
हाँस्दैनन् किन खै यहाँ रसिकले छोड्दा मनैका परी ।
खाँचो नित्य छ है फुलाउन यहाँ बेली, चमेली पनि
माटो माग्दछ पाखुरा तरुणका देऊ मलाई भनी ।
सारा शक्ति लगाउँदा प्रगतिको के मूल फुट्दैन र
छोडी दौलतको मुहान घरमा के खोज्न जाने पर ।।
मेरो भूमि सदा छ दिव्य शिरमा नेपाल लेखौँ भनी
घोकौँ साँझ,बिहान नित्य महिमा सम्झेर आमा पनि ।
छोडौँ देख्न विदेशभित्र सपना हे! बैँसका लोचन
खोलौँ इन्द्रिय एकपल्ट दिनमा नेपाल सम्झीकन ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)