
चियाबारीको सत्ता !

कविता
युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत
उभिरहेका पहाडहरूले
मलाई ऊजस्तै उभिरहन सिकाएन
पहाड आफैं कमजोर बनेर
पहिरो झरिरहेछ
फैलिएको हरियो चियाबारीले पनि
मलाई तन्नेरी हुन सिकाएन
चियाबारी आफैं
डेढ शताब्दी बूढो जीवन बाँचिरहेछ
‘म’ यही देशको नागरिक
जीवनका सबै ऊर्जा
यही माटोमा मिसिएर
धुलो बनेका छन्
रित्तिएका छन् रहरहरू
चुहिएका छन् पसिना
यहींको मरुभूमिजस्तै
माटो र बालुवामा
छैन गुनासो
कुनै पश्चाताप पनि छैन
एउटा भूगोलमा फैलिएको
मेरो स्वाधीन देशसँग
आरोप लगाउँदिन र गुनासो पनि गर्दिनँ
कमजोर बरु मेरो भाग्य हो
दोष भाग्यलाई दिन्छु
देशको सत्ताजस्तै
सत्ताले कहिल्यै सिकाएन
मलाई बलियो नागरिक बन्न
सत्ता आफैं सदियौदेखि
पराधीन सिंढी झर्दै र उक्लँदै
व्यर्थको समय व्यतीत गरिरहेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)