सेतो चश्मावालीको ‘कालो चश्मा’

लुईस भोटिया सरु
रुम्तेक, शिकारिटार, पुर्व सिक्किम

एक्कासी
हिज तिमीले
मेरो सामु तिम्रो
कालो चश्मा उतार्दा
साँच्चै,
मलाई डर लागेको थियो
म भित्रभित्रै डराएकी थिएँ
तिम्रो नयनसित मेरो नयन जुझाउन
मलाई गाह्रो भैरहेथ्यो
कालो चस्माभित्र
लुकेको तिम्रो नयनले
कतै
मभित्रको म हरुमा
तिमीलाई लुकाएर राखेकी
त्यो
छविहरुलाई छर्लङ्ग देख्यौ कि ?
तिम्रो त्यो
नग्न नयनले
तिम्रो निम्ति
गुट्मुटाएर राखेकी भावनाहरुको
मनको लड्डु
तिम्रो समीप उभिँदा
कतै
सुइँको पो पायौ कि ?
हो
सत्ये–सत्ये भन्छु
अबुई
मलाई डर लागेकै हो
तिम्रो नग्न नयनले
मेरो मनको ढोका बाहिर
लगाएको पर्दाहरु
चाल मारेर उघार्दै
मेरो मनको सपनाहरूलाई
चियो गरे झैं लाग्दैथ्यो
जब तिमीले मेरो सामु
तिम्रो
कालो चश्मा उतार्दा
तिम्रो नयनले
चियो गरेर देखेको
मभित्रको म हरुलाई
तिम्रो निम्ति मनभित्र लुकाएर राखेकी
तिम्रो छविहरुलाई, सपनाहरूलाई
अर्कै
कालो चश्मा लगाउनेहरुको अघि
हल्ला नगरिदेऊ है
नत्र
फेर
कालो चश्मा लगाउनेहरुको ताँती लाग्दो हुन्
म भित्रको म हरुमा
चियो गर्नलाई
त्यसैले
अब उसो मेरो
आईपुग्दा
तिम्रो नयनलाई त्यही
कालो चश्माले ढाकेर राख
तिम्रो नग्न नयनसँग मेरो नयन जुझाउन
मलाई गाह्रो पर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button