कविताः मन्त्री र मन्त्रीहरू !

पेशल आचार्य

मन्त्री र मन्त्रीहरूमा
त्यति नै फरक छ
जति पृथकता
तासमा सुरुमै किन्दा पाइने जोकर
र खेलमा खेलमा बनाइने
पछिल्ला जोकरमा फरक हुन्छ !

माफ गर्नुहोला महोदय !
क्षमा दिनुहोला माननीय !!
मैले यहाँ कसैको बद्ख्वाइँ गर्न खोज्या होइन
मैले यहाँ कसैको उछित्तो काढ्न लाग्या पनि होइन
म कसैको बद्ख्वाइँ गर्नलायक छैन
म कसैको उछित्तो काढ्न योग्यसमेत छैन
मात्र आफूले कर तिर्ने राज्यको
एउटा सामान्य नागरिक भएका नाताले
नयाँ मन्त्रीहरूलाई आफूले देखेको कुरा
भन्न खोज्या मात्र हूँ
जानेको कुरा सुझाएकोसम्म हूँ,

बनाउने क्रममा
‘मेन पावर व्यवसायी’
‘सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुँदै गरेका साहू !’
श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनाइएछन्
यसमा मेरो भन्नु केही छैन
बाद्बाँकी
मेडिकल डक्टर स्वास्थ्य राज्य मन्त्री नियुक्त भएकोमा
शिक्षा बुझेका गतिला मानिस शिक्षा मन्त्री भएकोमा
औधी खुसी लाग्या छ
‘अरू केही गर्नै पर्दैन
मात्र शिक्षकको मनोबल उच्च हुने गरी
शिक्षा ऐन ल्याउने
र कक्षा कोठालाई सुधार्ने काम भयो भने
गज्जब हुन्छ !’
हार्दिक बधाई शिक्षा मन्त्री
शिशिर खनालजी !

यी दुई कुरा भए भने
तपाईंले जित्नु भो
तपाईंमार्फत् हामीले जित्यौं
सोही जितको खुसीयालीमा
हजारौं अभिभावकले खुसी मनाउने छन्
लाखौं सिकारूका ओठका पत्रपत्रहरू
खिल्खिलाउने छन्
एउटा नयाँ युग बोल्ने छ
एउटा नयाँ विकास दौडने छ
शिक्षाको राजमार्गमा !

अनि फरक देख्नेछन्
नागरिकहरूले
भलिभाँती सिद्धान्त र व्यवहारहरूमा !
अनि पृथकता भोगिने छन्
–मन्त्री र मन्त्रीहरूमा !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button