
उमेरले २५ काटिसकेछ, जिन्दगी भित्रभित्रै फाटिसकेछ

बिराज आचार्य
उमेरले २५ काटिसकेछ
जिन्दगी भित्रभित्रै फाटिसकेछ ।
पढाईले इन्जिनियर
जुनी यत्तिकै बित्ला भन्ने डर ।
सँगैको साथी १२ पछि नै उडेर गयो
आफ्नो दिन पढाइसँगै जुधेर गयो ।
साथी धनी भइसक्यो आत्मनिर्भर भइसक्यो
आफूलाई जागिर नै नपाइएला भन्ने डर भइसक्यो ।
बाको टोपी फेर्ने सोच, आमैको चोली टाल्ने सोच
प्रेमिकालाई भित्र्याएर खुसी खुसी पाल्ने सोच ।
खुसी र सुखले टाढैबाट पाहिला मोडिसके
सबैले मलाई पत्याउन छोडिसके ।
सबैले भन्छन्, नेपालमा काम छैन, विदेश जा
मनले भन्छ यो देश छोडेर अन्त नजा ।
उनीहरू भन्छन्, विदेश जा भविष्य बना
मनले भन्छ, रगत पसिना देशमै खन्या ।
सम्पति नकमाउँदा वचन धेरै खाइने रहेछ
सामिप्यता हैन, सबैलाई सम्पति चाइने रहेछ ।
मबाट कोही खुसी छैन, न समाज न त घर
प्रेमिकाले पनि लुसुक्क छोड्छे भन्ने डर ।
काम नगरी पढाइ गर्न अवस्थाले दिँदैन
पढाइ नपुगी जागिर सरकारी संस्थाले दिँदैन ।
कसैसँग पनि कुरा गर्न जागर चलाउँदिन
उनीहरूको प्रगति सुन्छु, आफ्नो केइ सुनाउन पाउँदिन ।
मनमा अनेक कुरा खेल्दै गएको छ
सच्चा साथी त चिया सङ्ग चुरोट भएको छ ।
उमेर बाकी नै छ केही गरम्ला नी भन्छु चित्त बुझाउँछु
फेरि आधी उमेर त हिँडेछ सम्झेर सिरानी रुझाउँछु ।
यस्तै अवस्थामा पनि देश छोड्ने सोच गरेको छैन
केही गर्छु भन्ने आशा मरेको छैन ।
त्यो आशा मरेको दिन म पनि त नरहुँला
सासले छोडेपछि त कसो सबैको प्यारो नभउँला ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)