ठूला कुरा चाहिएकै होइन, स-साना कुराको खाँचो हो

स–साना कुरा

पेशल आचार्य

ठूला कुरा गर्दा
ठूलो होइने भन्ने सोच
एक प्रकारको महारोग हो
नाथे टुथ पिक त चीनबाट आउँदो रैछ
जनै, गुन्द्रुक, चामल, तास र ग्यास लाइटर
यी त साना कुरा हुन्
ठूला कुरा कति हुन् कति ?

बकैनाको रुखमा सानो जुरेलीको गुँड थ्यो
रातिको बतास पानीले झारेछ
चिउला नपलाएका बचेरा झरी मरेछन्
सुतारनी बजुको लहरे खोकी
दुई महिना भयो अझै निको भा छैन
हेल्थ पोष्टको अहेब
उपरीमाथि थुपरी तालिममा गाको
दुई महिना भयो
भिटामिन एको क्याप्सुल त कात्तिकमा
मातृ शिशु कार्यकर्ताले खुवाइन्
डिपिटी र पोलियो खोप पियनका भरमा छ
सदरमुकामकै स्कुलमा
दरबन्दी अनुसारका शिक्षक छैनन्
प्लस टुमा पढाउने शिक्षक
प्रावि र बालकोटाका रहेछन्
हिजो विद्यालय निरीक्षक थे
कुखुरा खान पनि गाउँ छिर्थे
आज राज्यको पुनर्संरचना गरियो
गाउँपालिकाको अड्डा भाले भएको छ
न कक्षा अवलोकन
न मूल्यांकन
उसका अफिसमा कार्पेट
र टेबल देशी हालियो
शिक्षाको जग पढाइ र मूल्यांकनले दह्रो हुने कि
अफिस मेटेरियलहरुले ?
प्रश्नहरु निरन्तर जारी छन्,
शिक्षा त हजुर
रामभरोस छ ।

यातायात भनिसक्नु छैन
किलोमिटरको बीस रुप्पै पर्छ
गाउँको बसमा अचेल
छ न त सिडिओ कार्यालय छ जिल्लामा
तर सुन्दैनन् उनीहरु पनि
उनलाई आफ्नो नम्बर बढाउनै ध्याउन्न छ
विना लाइसेन्सका मोटरसाइकलहरु
गाउँमा छ्यास्छ्यास्ती दौडिन्छन्
कसैले कसैलाई केही भन्दैनन्
युरिया र डिएपी मल नपाएर गाउँमा
भनेजस्तो धान फलेन फलेन
अहिले गहूँ सबै पहेँलिए
कसैलाई चिन्ता चासो
भुट्टीभाँग छैन ।

सहरमा काँग्रेसको सरकार बन्न नपाएको रनाहा
ओलीलाई आफ्नो पार्टी ठूलो बनाएर
सरकार ढाली फेरि आफू
अर्को धारा समातेर सरकारमा जाने
साँढे अहम्
सवार भैसक्यो ।

यो देशमा ठूला कुरा र इस्सुले
कहिल्यै पनि स–साना कुराहरुलाई सुनेनन् ।

कथित ठूलालाई यो कुरा थाहा छ
तर गर्न चाहँदैनन्
जनतालाई
ठूला कुरा चाहिएकै होइन
स–साना कुराको खाँचो हो
जस्तोः सवारी लाइसेन्स, मालपोत, नागरिकता
र पासपोर्ट सिफारिस
पालिका स्तरका सरकारलाई दिन सकिँदैन र ?
अधिकार दियो भने आफू केन्द्रमा
के गरेर खुट्टो हल्लाउने ?
केवल यही चिन्ता छ
लाउकेहरुलाई
टाउकेहरुलाई ।

साना कुरा सुन्ने जुन दिनदेखि
संस्कार सुरु हुन्छ नि यो देशमा
तब हो त्यही दिन सारा कथित ठूला कुराहरुको
बेमौत मृत्यु हुन्छ
यो कुरा कतिलाई थाहा छ ?
यो कुरा धेरैलाई थाहा छैन ??


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button