नवबर्ष तिमी ‘यसरी’ आउनु है
टंक सुवेदी
पुराना घाउ सुकाएर स्वस्थ विचार लिएर आउनु
कसैले बाटो बिराउँदै भए मार्गदर्शक भएर सुपथ देखाउनु
अनायास कहि छुटेका सम्बन्ध भए मिलाएर ल्याउनु
अरुले सायद बिर्सिन सक्छन् तर म पर्खिरहन्छु तिमी पक्का आउनु
ठेगाना थाहै छ क्यालेन्डर हुँदै हरेक बर्ष म बाँचुन्जेल तिमी निरन्तर आउनु ।
सुख्खा खेत देखेर बिरक्तिएको मन छुन
पानी बनेर आउनु
अनिकालमा छट्पटीएको घरमा रासन बनेर आउनु
चिकित्सक बन्ने हुटहुटी बोकेको बिध्यार्थीकोमा उत्कृष्ट नतिजा लिएर आउनु
प्रसव वेदनामा रोइरहेकी नारीको काख
स्वस्थ बच्चाले भर्न आउनु
तिमी जब आउँछौ, सबैलाई पुग्ने खुशी लिएर आउनु ।
जब फेरि तिमी आउछौ सबैको मनमा आउनु
अभावले नाङ्गो आङ छोप्न पुग्ने कपडा ल्याउनु
सिटामोल समेत नपुग्ने ठाउँमा आधारभुत सेवा दिने सिप र औषधी पुग्नेगरी ल्याउनु
घाँस दाउरा र पानी खोज्दै विद्यालय बन्चित
कोहि बालबालिका नहोस् योजना लिएर आउनु ।
काखे नानी रुँदै बा भन्दा देख्न पाउने बनाउनु
क्षमता अनुसार काम पाउने रोजगारी ल्याउनु
जनताको सेवा गर्ने सेवक सबैतिर राख्नु सधै
सहयोगी मन जुटाउनु कुरितिको पर्खाल फुटाउनु
सबै मिले देश बन्छ प्रेरणा सधैं जुटाउनु
मेरो प्यारो अन्तरास्ट्रिय नयाँ बर्ष तिमी यो पटक आउँदा विकासको मूल फुटाउनु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)