मृत्युको देशमा बाँच्ने बहानामा मरिरहनु पर्दैन

मृत्युको ठेगाना

ठाकुर बेलवासे

मृत्युको देश
पक्कै पनि सुन्दर छ
सभ्य र अनुशासित छ ।

मृत्युको समाज
पक्कै पनि शालीन छ
सद्भावपूर्ण छ ।

म कल्पना गर्छु
मृत्युको राज्यमा
छलकपट र लोभलालच छैन
अहंकार र असत्यको अनुहार देख्न पाइँदैन
वस्ती हरिया रुखजस्ता हुन्छन् होला
समाज नीलो आकाश जस्तो हुन्छ होला ।

मृत्युको देश
मृत्युको राज्य
मृत्युको समाजको ठेगाना
म खोजिरहेको छु ।

म कल्पना गर्छु
मृत्युको देशमा
बाँच्ने बहानामा मरिरहनु पर्दैन
अनुहारमा सत्यको रंग पोतेर
मनभरी असत्यको वादल कोक्नु पर्दैन
मृत्युको समाजमा
मान्छेका नाममा अपराधी बनेर
आफ्नै हत्या गर्नु पर्दैन ।


मृत्युको राज्यबारे सोचिरहन्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button