
सोझा सिधा निमुखालाई तिमीले के सिकायौ ?

शोभा पन्त तिवारी
बुढानिलकण्ठ–२, काठमाडौँ
पढ्न जान्यौ
तर बिना पैसा किन पढाउन जानेनौ ?
लेख्न जान्यौ
तर बिना पैसा लेखाउन किन मानेनौ ?
ठूला भई बोल्न जान्यौ
तर सोझालाई बोल्न सिकाएनौ किन ?
केही थोरै सिकाउँदा तिमीले किन पर्ने पैसा लिन ?
हेर्दा लाग्छ ठूला भनाउँदालाई नै रहेछ मस्तै,
सोझा साझा जनताले केही जानेनन् भए जस्ताको तस्तै ।
दुःख गरी बन्यौ ठूला पुग्यौ ठूलै ठाउँमा,
गम्कन र चम्कन थाल्यौ कहिल्यै चाहेनौ पुग्न आफ्नो गाउँमा ।
भेटेको बेला बोल्छौ तिमी भारी मनले पारेर ठिक्क,
यस्तै ठूलासँग सोझा जनता भएका छन् दिक्क ।
पीडित बनी गरिब दुःखी बसेका छन् गाउँमा,
कमाएका छन् गरिबको नामले माग्न पुगेका छन् ठाउँमा ।
पढी लेखी ठूलो बनी प्रमाणपत्र आफ्नै बिकायौ ,
नढाँटी भन त सोझा निमुखाहरुलाई तिमीहरुले के सिकायौ ?
नबुझ्नेले बोलाउँदा बुझ्नेहरु मान्छौ किन लाज ?
यस्तै व्यवहारले भएका छन् नबुझ्नेहरु समाजमा लज्जित आज ।
बनेको छ समाज साना–ठूला धनी–गरिब मिलेर,
गर परिवर्तन र विकास यी दुःखी गरिबलाई नि चिनेर ।
जता पनि जहिले पनि आफू र आफ्नालाई बिकायौ ,
नढाँटी भन त ठूलाहरु, सोझा निमुखाहरुलाई तिमीले के सिकायौ ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



