कालिम्पोङे कविताः रिक्सावाला गाउँछ पसिनाको हाक्पारे

विशाल नाल्बो

चर्को गरी लागेको छ घाम
बगिरहेछ निधारबाट धारा पसिनाको
चुढिएको छ पैतालाको चप्पल
बटारेर बटारेर बटारेर स्टेरिङ
ठेलाहरुले बिरुप बनाएको छ हातको पञ्जा ।

ऊ रिक्सावाला
छोरीको स्कूलको निम्ति घामपानी सहन्छ ।

आफ्नै हातले निमोठी मारेको
झल्झलाउँदो सेप्माङलाई सम्झिन्छ र खान्छ
लिम्बुनी माइलीको भट्टीमा लोक्कल वाइन्
अनि बेस्मारी गाली गर्छ तागेरानिङवाफूमाङ्लाई।

ऊ हरेक साँझ रक्सी खाएर
मेटाउँछ थकान् र बिर्सि पठाउँछ
केही बेरलाई समस्याको फक्ताङलुङ ।

ऊ रिक्सावला
श्रीमतिको हस्पिटल खर्चको निम्ति भोक सहन्छ।

ऊ पानी खाएरै टार्छ भोक
टार्छ औषधि नखाएरै असंख्य बिसन्चो
गाउँछ पसिनाको हाक्पारे
अनि तान्छ भाग्य हराएको गल्लीतिर रिक्सा ।

आधोकिन् गायिनको तुगेरो
सोमिते थेमान् थेमान् याम्बक् चोक्मारो ।

ऊ रिक्सावाला
बेस्मारी सम्झिन्छ आफ्नो भत्किएको घर
र, ठहराउँछ कल्पनामा बजारको चोकैमा बिल्डिङ ।

कुनै बेला
बढे छ भने अदुवाको भाउ
सप्रिएछ भने अलैँची
फूलेछ भने कुच्चो
अथवा सुध्रिएछ भने यो देशको अर्थनीति ।

ऊ थुन्सेभरी बोकेर खुसी फर्किने छ गाउँ ।

दार्जीलिङ, कालिम्पोङ, भारत ।


(
प्रिय साथी !
तपाईं पनि विशालजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button