जसले काठमाडौं छिरेपछि ‘बाउन्न हण्डर त्रिपन्न घुस्सा’ बेहोर्‍यो

आयुरेखा

श्रीरामसिंह बस्नेत

ऊ सानै छँदादेखि घरको पिँढीमा बसेर उसका हजुरबाले गाउँलेका हात हेरी दिनदशा बताइदिने गरेको उसलाई अहिले पनि सम्झना छ । त्यही मेसोमा अलि ठूलो भएपछि उसले पनि हजुरबासँग हात हेर्ने विद्याको आधारभूत ज्ञान सिक्यो । ऊ गाउँमै पढ्यो, बढ्यो । लक्का जवान भएपछि जागिर खोज्दै राजधानी छि¥यो । त्यसअघि नै आफ्नो बाले हजुरबालाई दागबत्ति दिएको करुण दृश्य उसले देखिसकेको थियो ।

राजधानी छिरेपछि केही समयसम्म ‘बाउन्न हण्डर त्रिपन्न घुस्सा’ पनि बेहोर्‍यो । बल्लबल्ल सेनाको बर्दी लाउन पाएपछि उसका दिन फिरे । तर उसले हजुरबाको नासोका रूपमा पाएको हात हेरेर मानिसका भाग्यबारे भन्ने कला भने त्यागेन । फुर्सदको बेला ऊ साथीहरूको हात हेरेर शुभ÷अशुभ भनिदिन्थ्यो । साथीहरूमा पनि ‘यसले हात हेर्न जान्दछ’ भन्ने विश्वास दिलाउन ऊ सफल भएको थियो । कहिलेकाहीँ त देख्नेबित्तिकै ज्यान तनक्क तन्काएर बुट बजार्दै सलाम ठोक्नुपर्ने ऊभन्दा धेरै माथिका हाकिम पनि उसको अगाडि हत्केला पसार्न आइपुग्थे । हजुरबाले दिएको यो सीपले उसलाई ब्यारेकभर चिनाएको थियो ।

यसैबीच एक दिन शनिबार ऊ ब्यारेकभित्रै रुखको छहारीमुनि बसेर एकजना साथीको हात हेर्दै थियो । अचानक धर्ती काँप्यो । जताततै कोलाहल, वियोग र सर्वनाशको ताण्डव मच्चियो । धन्न उसको ब्यारेकमा ठूलो क्षति भएन ।

भोलिपल्टदेखि नै उनीहरू भुइँचालोले भत्काएको घरबाट मानिसको उद्धार गर्ने काममा खटिए । उसले पनि गाउँको आफ्नो घर सामान्य चर्किएको तर परिवारलाई केही क्षति नभएको सूचना पायो । परिवार सकुशल रहेको सूचनाले उसलाई आश्वस्त तुल्यायो र ऊ उद्धार कार्यमा पूरै डटेर खटियो ।

भत्किएको घरबाट पुरिएका लास झिक्ने क्रममा उसले एउटा सात–आठ वर्षको बालकको लास निकाल्यो । यसक्रममा त्यो बालकको दाहिने हत्केला उसको हातमा पर्‍यो । उसले हत्पत् बालकको हत्केलाको माटो पुछ्यो । हस्तरेखा पढ्न अभ्यस्त उसका आँखा त्यो बालकको हत्केलामा केन्द्रित भए । ऊ आश्चर्यचकित भयो । किनकि त्यो बालकको हत्केलामा आयुरेखा लामो थियो । उसले खुइय्य गरेर सुस्केरा हाल्यो र मनमनै कसम खायो, ‘अबदेखि जिन्दगीभर कसैको हात हेर्ने छैन ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button