
म त ‘म’भित्रै हराएको मान्छे
संजय महतो
बाह्रदशी-३, राजगढ, झापा
कुन नजरले हेर्छौ मलाई
म त ‘म’ भित्रै हराएको मान्छे
जहाँ तिमी ले न देख्न सक्छौ
न त मलाई छेक्न नै सक्छौ
किनकि
म त ‘म’भित्रै बिलाएकोअदृश्य मान्छे ।
कुन शहरमा खोज्छौ मलाई
म त ‘म’ भित्रै हराएको मान्छे
न त तिमीले छुन सक्छौ
न त चाहेर अङ्गाल्न नै सक्छौ
किनकि
म त ‘म’भित्रै बाटो बिराएको यात्री ।
कुन नामले बोलाँउछौ मलाई
म त ‘म’ भित्रै हराएको मान्छे
न त तिम्रा ओठले बोलाउन सक्छौ
न त कतै लेखेर राख्न नै सक्छौ
किनकि
म त ‘म’भित्रै न्वारान नभएको मान्छे
म त ‘म’भित्रै हराएको एउटा मान्छे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)