पोले मकै ! नपोले भोकै !!

कविता

पेशल आचार्य

तिम्रो सहर
यो तिम्रो सहर
मेरा लागि जैले नि पराया
जैले नि निर्मोही
गरी खाने
हामी गरिब
हामी पसिनाजीवी
हामी भुइँ मान्छे
तिमी एलिटहरू
तिमी सुकिला मुकिलाहरू
हाम्रो पसिनाको गन्धले
तर्कन्छौ
हाम्रो लुगाको रङले
हर्कन्छौ,

हिजो पुरातन सोचका
बा थिए
आज तिमी नयाँ पन्थका
युवा छौ
तर दुवैको केमेष्ट्री
ठ्याम्मै मिलेको छ
सोच दुवैको एउटै देखिएको छ
सहरबाट गरिबी हटाउने या
गरिब हटाउने !

मलाई बुझाऊ
संसारको कुन सहरमा
गरिबहरू छैनन्
लण्डन
टोकियो
न्यूयोर्क
बेजिङ
सिडनी
न्यू दिल्ली
या तिम्रै
काठमाण्डूमा,

मेयर हुन त
ओरिजनल बुद्धिमा पनि
मेयर हुनु प-यो
जस्तै कि हर्क
गोपाल
या अरूहरू !
जो जनतालाई
दाजुभाइ
र देशलाई
घर मान्छन्,

हामी त
पोले मकै, नपोले भोकै हुन्छौं
कम्तिमा हामीलाई
गरी खान देऊ !
बालबच्चा बचाउँन देऊ !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button