कविताः ईश्वर
अशेष मल्ल
धर्मकाे व्यापार बढेपछि
बन्द हुन्छन् ढाेका
मन्दिर, मस्जिद र गिर्जाघरका ।
वेराेजगार हुन्छन्
पुजारीहरु ।
प्रेेमकाे साटाे
केवल
ओइलाएका फूल र
विषालु धूपहरु
किनबेच हुँदा
बन्द हुन्छन्
फूलका पसलहरु
धर्म र राजनीतिमा
फरक नभएर
धर्मकै नाममा
युद्द रच्न थालेपछि
किन बस्थे ईश्वर
पर्खालकाे घेराभित्र
भागबण्डा
किन मञ्जुर हुन्थ्याे
ईश्वरलाई
र धर्म धर्मका
व्याख्यामा किन
अल्झिरहन्थे ईश्वर
आफू अनुकुल प्रकट नभए
अस्तित्वमाथि नै
प्रश्न उठाउनेहरुकाे भिडमा
किन बस्थे ईश्वर
प्रतिपल हिंशा
हिंशाकै मनभरि
ईश्वर कहाँ रम्न सक्छन् र
प्रश्न त यस्ताे हाे
अहङ्कारकाे उन्मादले
मान्छे
आफैलाई ईश्वर ठान्न थालेदेखि
मानिससगैँ
आजित किन नहुन् ईश्वर ?
त्यंसैले सायद
बन्द छन् मन्दिर र मस्जिदका ढाेकाहरु ।