
कथा पश्चिम नेपालबाट आरम्भ हुन्छ र शनैःशनैः अघि बढ्छ
मनकली उपन्यासमाथि पाठकीय नजर
पेशल आचार्य
मन्थली, रामेछाप
विगत् एकडेढ दशक यता नेपाली साहित्याकासमा उपन्यास लेखन र प्रकाशनको क्षेत्रमा निक्कै होडबाजी देखिएको छ । विभिन्न परिचयमा स्थापित सर्जकहरूले समेत उपन्यास लेखेर आफ्ना अघिल्लो परिचयलाई नयाँ कलेवर दिने काम गरेका छन् भने कसै कसैले चाहिँ आफ्नो पहिलो परिचय नै आख्यानकारका रुपमा दरिलोसँग राख्ने काम गरेका छन् । यी दुवै तरिकाले लेखिए पनि आख्यानले नेपाली साहित्यको भण्डारलाई भर्ने काम गरेको छ । यो कम्तिमा भाषा सेवीका लागि खुसीको कुरा हो ।
यही मेसोमा उपन्यासकार विमला अधिकारी देवकोटाकृत मनकलीलाई लिन सकिन्छ । सरल र सरस भाषाशैलीको प्रयोग गर्दै सामान्य कथावस्तुलाई अनुभूतिजन्य प्रस्तुतिमा चोपलेर गम्भीर सन्देश प्रवाह गर्न उनी आफ्नो पहिलो उपन्यासमै सफल भएकी छन् । जुन सन्दर्भमा उनलाई आगामी कृति लेखनका लागि शुभकामना दिन सकिन्छ ।
उनको यो प्रथम लेखनी रहेछ– आख्यान कित्तामा । उपन्यास खोलेर पढ्न थालेपछि जोकोही पाठकले यसलाई नसिद्धिउन्जेलसम्म पट्याएर राख्न चाहँदैनन् । यदाकदा प्रुफमा पाइने केही झीना त्रुटिले मिठो मालपुवामा मियाँ लागेको भान भने हुन्छ ।
उपन्यासमा कथावस्तुको विकास हुँदै गएपछि कहिले आँखा चिसा पारेर त कहिले घाँटी अँठ्याएको महसुस गर्दै हरेक पाठक कथा सक्नकै ध्याउन्नमा रहन्छन् । उपन्यासमा आँखा दौडाउँदै जाँदा यस्तो लाग्छ कि नारी भनेकै दुःख पाउनका लागि त जन्मेका होइनन् अनि पुरुष पीडाका अवतार ! कथामा उनले मनकलीको जीवन भोगाइलाई सक्दो आफ्ना तर्फबाट न्याय प्रदान गरेकी छिन् ।
उपन्यासको कभरमा डा.कृष्णहरि हुमागाईंले गम्भीर भावाकृतिमा यसो भनेका रहेछन् जसमा जोकोही प्रबुद्ध पाठकले समर्थन नगरिरहन सक्दैनन् –‘आफ्नो संघर्षशील समयको सदुपयोग गर्दै अवनरत गीत, कविता, मुक्तक लेख्दै र अभिनय समेत गर्दै आएकी आख्यानकार विमलाको उपन्यास लेखन सम्मको प्रयास अन्त्यन्तै गर्व गर्नलायक छ । कथालाई पात्र एवम् स्थान वर्णनले जीवन्त बनाएको महसुस भयो । ‘मनको किनारा’ की मुक्तककार, ‘नौगेडी’ नाटकी कलाकार, अब मनकलीकी उपनयासकारका रूपमा विमला अधिकारी देवकोटालाई साहित्यिक सफलता एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना प्रकट गर्न सकिन्छ ।’
विवेच्य मनकली विमला अधिकारी देवकोटाद्वारा लेखिएको र सम्वत् २०७८ माघमा प्रकाशित भएको मध्यम आकारको (पृष्ठ ः २५५ मा समेटिएको) उपन्यास हो । पुस्तकको छपाइ, कभर, भित्री कन्टेन्ट सेटिङ् ठिकै भए पनि भूमिका लेखनमा चाहिँ सात सातजना लेखकलाई स्थान दिइनाले जीब्रो नचपाई भन्ने हो भने भूमिकामा अभिव्यक्त वाणिहरू दोहोरिएका छन् । कुनै पनि कृतिमा भूमिका एकजनाको नै काफी हुन्छ या नराख्दा पनि बेस् ।
मनकली उपन्यासले वैदेशिक रोजगारीमा घरदेशबाट विभिन्न प्रताडनाहरू झेलेर बरू परदेशमा नै केही बिसेक सुख अर्जाप्ने भावना पो मिल्छ कि भनी जस्तोसुकै दुःख खेप्नसमेत पछि नपरी परदेश जाने कर्मशील महिलाका बारेमा दर्दनाक कथा समेटिएको छ ।
मनकली उपन्यासको छोटो भूमिकामा लेखक भारती गौतम आफ्ना अभिमत यसरी लेख्छिन् –‘विश्वप्रसिद्ध लेखिकाहरू जेन अस्टिन, भर्जिनिया उल्फ, माया एन्जेलो, टोनी मोरिसन, अमृता प्रितम, अरुन्धती रोयसम्मले कतिपय आफ्ना लेखनको केन्द्रविन्दु महिला जीवनलाई नै बनाएका छन् । त्यस्तै, नेपाली महिला लेखन इतिहासका चर्चित स्रष्टाहरूका धेरैजसो उपन्यासहरू पनि नारी जीवनमा नै केन्द्रित पाइन्छन् । पारिजातको शिरीषको फूल, वानीरा गिरीको कारागारदेखि लिएर गीता केशरी, भागीरथी श्रेष्ठ, विन्द्या सुब्बा, पद्मावती सिँह, सीता पाण्डे, इन्दिरा प्रसाईं अनि वर्तमान समयका सशक्त हस्ताक्षर सरस्वती प्रतीक्षा, मनीषा गौचन, निलम कार्की निहारिका आदिले पनि आफ्ना सिर्जनमा नारी जीवनका विविध पक्ष समेटेका पाइएको छ ।’
अब यसैमा मनकली उपन्यासकी सर्जक विमला अधिकारी देवकोटाको नाम बेहिचक जोडे हुन्छ । उनी आफ्नो पहिलो आख्यानात्मक सन्तानबाटै नेपाली आख्यान जगत्मा चिनिने उम्दो लेखिका हुन सक्छिन् ।
मनकली एउटी सङ्घर्षशील दुखित, पीडित, अन्धविश्वास र कुरीतिबाट पिल्सिएकी नेपाली छोरीको इतिवृत्तान्त हो भन्दा फरक पर्दैन । यहाँभित्र कुँदिएका उसका विवशताका कथाहरूले कसैलाई विद्रोहको ज्वाला बाल्न मन लाग्छ त कसैलाई सहानुभूतिका विन्दुहरु अविश्रान्त बर्साउन । नारी कथा कहने परम्परा नेपाली आख्यानमा नयाँ त होइन तर जे जतिले लेखेका छन् तिनले केही नयाँपन दिने यत्न जो गरेका छन् । आधुनिक नेपाली आख्यानमा मिहीनरूपले हेर्दा यो मेसो पाइन्छ ।
मनकलीको कथा पश्चिम नेपालबाट आरम्भ हुन्छ र शनैःशनैः अघि बढ्छ । हुन त सासू र नन्द लिङ्गीय आवरणमा दुवै महिला हुन् तर हाम्रो परम्परागत समाजमा उनीहरू नै एक विवश महिलाका लागि यति निष्ठुरी र क्रूर बनिदिन्छन् कि त्यो सोच्न पनि सकिन्नँ । नारीले नारीहरुबाटै प्रताडित भएका यी र यस्तै भावातीत सन्दर्भहरु महिलाकै कलमबाट लेखिनु बास्तवमा यथार्थको नजिक पुग्ने जमर्का समेत हु्न् ।
सासू र नन्दहरुलाई खालि ऊर्जा र इन्धन विनाका मेसिन मात्र चाहिएका छन् जो चौबिसै घन्टा कुदिरहून् । मैथिलीमा एउटा मुहावरा अत्यन्त चर्चित छ जसले भन्छ– ‘नोकर ऐसा होना चाही, जो भिख मागकर आए, चौबिस घन्टा हाजिर होए, घर कवै न जाऐ ।’ भनेझैँ उता, जोसँग जीवन बिताउने कसम खाएर आएकी मनकलीलाई आफ्नै लोग्नेले सम्म तातो ओछ्यान मात्र सम्झिएपछि कति फाट्यो होला उनको कोमल मन ?
मनकलीलाई आफ्नै लोग्नेका यस्ता पिरा वचनले कति पिरोल्दो हो –‘बर्सेनी ब्याउँछे तर छोरो पाउँदिन । यस्तालाई खुवाएर पालेर मात्र के गर्नु ?’
कति कुटिल र विषाक्त छ है मनकलीहरुको समाज ? वर्सेनि ब्याउन बाध्य कसले पार्छ ? के ब्याउन सजिलो छ कुपोषण भएकी महिलालाई ? लोग्नेलाई नै अगुल्टोले झोस्नुपर्ने हो नि तर मनकली यो सबै सहन्छे । ऊ विवश छे सहनलाई मानौं सहनलाई नै उसको जन्म भएको हो । माइतीलाई पनि पहिराले लगेर स्वाहा भएपछि उसको मन रूपि वश्त्र अड्याउने कुनै सान्त्वनाको दह्रो किला पाउँदिन ।
विवशतामा पिल्सिएर भत्भती मन पोलाउँदै मनकली क्लान्त मुद्रामा विदेश पुग्छे । बर्मा गयो कर्मसँगै भनेझैँ त्यहाँ पनि उसका दुःख पीडाका पहाडहरू अझ माथिमाथि चुलिन्छन् । सहानुभूतिको बुँद पनि कतै छैन जसले उसको व्यथित भएको हृदयलाई अपलक थुम्थुम्याउन सकोस् । कति प्रताडित र नीच हुँदै जाँदो छ है हाम्रो समाज जसले मनकलीजस्ता महिलाको पाइला टेक्ने धरती र ओढ्ने आकाससम्म क्रूर भएर ज्यादति गर्दै खोसिदिन्छ !
यसरी मनकली परदेशमा जताततै भकुण्डिएर रुँदैरुँदै स्वदेश फर्किपछि उसको अगाडिको परिवेश समाप्त हुन्छ । उत्सुकता र जिज्ञासामा समाप्त हुन्छे मनकली । पढ्दापढ्दै मनकलीको व्यथा र कथाले पाठकका आँखा चिसा र घाँटी च्याप्प अँठ्याउँछ । ‘एउटा दुःखको सागर र अनन्त पीडाको पहाडले लथालिङ्ग च्यातेको विवश, अभागी नारीको दुखान्त कथा हो’ मनकली उपन्यास ।
यो लेखकलाई लागेको एउटा कुरा अहिलेका मानिस यति व्यस्त छन् कि महाकाव्य र उपन्यास भनेपछि सर्लक्कै पन्छन् चाहन्छन् तर केही आख्यानहरुले तिनीहरुका शब्दकलामा समेटिएका जादुले तानेर मोहनी लगाउने सामथ्र्य राख्नाले जतिसुकै मोटा आख्यान भए पनि पाठक आँखा झिमिक्कै नगरी पढिसक्दा रहेछन् ।
हामी पतिपत्नी दुवैले यो उपन्यास एकएकप्रति पाएकोमा मेरी भार्याले उनलाई मैले पढ्न उपलब्ध गराएको एक दिनमै सिनित्तै पढेर सकिवरी मलाई पढ्न प्रेरित गरिरहिन् ।
मैले आफ्नो कामले गर्दा टारिरहेँ तर जब म आफ्नो दालरोटी निखन्ने फिल्डमा पुगेँ अनि बिजुली नभएका बेला किताब झिकेर अध्ययन गर्न थालेको करिब ३ घन्टामै सकेँ । दुई बसाइमा पढी सकिएको यो उपन्यासलाई मैले मेरो अध्ययन जीवनमा थोरै समयमा पढिसकिएका र दर्दले भरिएका कृतिमा ससम्मान दर्ज गरेको छु ।
मनकली उपन्यासकी सर्जक विमला अधिकारी देवकोटाजीलाई सफलताको असीम शुभकामना । अझ आगामी कृतिमा खिरिला र सशक्त कथाका बुनोटका साथमा स्थापित उपन्यासकार भई जम्न सफल हुनुहोस् । अहिलेलाई चाहिँ यत्ति भन्दै कलम रोक्न चाहन्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



