खगे

अर्जुन दाहाल

खगे… कट्टुमा हगे…
उसलाई यसैगरी जिस्क्याईन्थ्यो ।

स्कूल पढ्दा अफिस जान नमानेपछि,
नयाँ लुगा दिने आशा देखाएर,
अफिस लगेर सरले पिटेको कुरा सम्झिन्छ खगे।
उसलाई स्कूलबाट भाग्न छुट थियो,
कहिल्यै कुनै सरले पनि गाली गरेनन् ।

बाँसझ्याङमा स्त्री-पुरुषले समागम गरेको देखेर,
“यो तपाईंहरूले के गर्नु भएको ?” भनी
अत्यन्त बालसुलभ मिठो प्रश्न गरेझैँ,
उसको जिन्दगी पनि मिठासपूर्ण छ ।

खगेले विवाह गर्यो,
तर श्रीमतीले छोडेर गएको उसलाई रती भर पनि दुःख छैन,
उसले न त विवाह दर्ता गर्यो,
न त पारपाचुके दर्ता,
भन्दै थियो,
सासु आमालाई साविकको गौरादह गा.वि.स भवन
वरिपरि घुमाइदीयो,
नयाँ ठाउँ देखाउने भनी,
उसलाई ससुरालीको मतलब छैन ।

खगेले जागीरको लागि अन्तरवार्ता दिन गएको कुरा सुन्दा,
देशमा अन्तरवार्ता सेवा आयोगको जरुरी देखाउँछ ।
“ह्वाट इज योर नेम?” (तपाईंको नाम के हो?) प्रश्नः
खगेले शुद्ध नेपालीमा जवाफ दिएछ,
“नाम त ताल तालको छ, कुन चाहिँ नाम, ती फारममा हेर्नु न!”
पुनः प्रश्न
“ह्वाट इज योर अकुपेशन?” (तपाईंको पेशा के हो?)
खगेको जवाफ- “म जे पनि गर्छु” ।

सेक्युरीटि गार्डको लागि अन्तरवार्ता दिन जाँदा
उचाई नपुगेपछि
उसले टेबल मागेर, टेबल माथि बसी
उचाई पुर्याउन खोज्दा
“भाइ, तिमी झोला बोकेर जाऊ” भन्ने
राष्ट्रिय जवाफ पाएपछि,
उसले चुनाव र भोटको सहारा लियो ।

चुनावको बेला
नेताको घरमा खसी भुत्ल्याउने काम पाएको खगेले
जागिर पाएन ।
कहिले “अर्को पल्ट भोट माग्न आउँदा लखेटिन्छ”
भन्ने खगे,
वडा कार्यालयका अध्यक्षहरुलाई
अँगालो हालेर अर्को पल्ट झण्डा बोक्ने
आश्वासन दिन सक्ने खगे
कुनै नेता भन्दा कम छैन ।
नगरपालिकाको कार्यालयमा गएर
“म माओवादी हूँ” भन्ने खगे,
समय अनुसार
एमाले पनि हो, काँग्रेस पनि हो ।

म्यादी प्रहरीमा भर्ती हुन जाँदा
व्याकरण मात्र रहेछ प्रश्नमा,
उसले खोजेको निबन्ध “आफ्नो जीवनको लक्ष्य” नपाएपछि,
बौद्धिक कहलिएको समाज प्रति आफ्नो रुष्टता देखाउँछ
तर सफा मनले ।

कार्यालय सहयोगीको जागीरको लागि आवेदन दिँदा,
उसले अन्तरवार्तामा अड्कल गरेको प्रश्न-
“कोरोना भाइरसको लक्षण”,
उ कुनै विज्ञ भन्दा कम छैन ।

दिनेश अधिकारीको कविता हर्क बहादुरले छाप छोडेर
तेस्रो व्यक्तिको रुपमा साहित्य लेख्ने प्रयास
केही बिग्रिए पनि
मन्दिर र मस्जिद भन्दा पवित्र बाँच्ने खगे,
बिरामी व्यक्तिलाई निको,
र सद्धे व्यक्तिलाई बिरामी बनाउन सक्ने
अदभुत क्षमता भएको खगे,
आधुनिक समाजको मपाइँ र हेपाइँ हेर्दै,
हाँस्दै, हसाउँदै,
आफैं लजाउँदै
“आफ्नो जीवनको लक्ष्य” निवन्धमा
प्राण भर्न,
जागिर खोजिरहेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button