उसले मतिर सोज्याएको राइफल झुकाइ, मैले पनि तल गरें

कथाः जुनु

गोविन्द श्रृङ्खला

बिहानैदेखि बेचैन छु । भित्र कतै केही भए जस्तो अनुभव भैरहेको छ । सवै साथीहरु परेडका लागि चौरमा पुगिसकेका छन् म भने अझै तयार भएको छैन । म सिपाही, समयमै तयार हुनु पर्ने । हरेक समय स्फूर्ती मेरो परिचय बन्नु पर्ने तर आज मन लागि नलागि तयार हुनु मेरो बाध्यता बनेको छ । मेरो पाँच बर्षे सैनिक जिवनमा यस्तो कहिल्यै भएको थिएन । मेरा सिनियरले अल्छि साथीहरुलाई फुर्तिलो हुनु भनेको त बिशाल जस्तो पो हुनु भनेर उदाहरण दिनुहुन्थ्यो । मुलुकमा द्वन्द्व चलिरहेको छ । म यसै मुलुकको सिपाही । विगत केही बर्ष देखि मेरो दैनिकी युद्ध मैदान मै वित्ने गर्दछ । आज पनि मैले विद्रोहीलाई निशाना बनाउनु छ । यसै तानावानामा म घोत्लिरहेको छु । म भित्र पनि मानवीय समवेदना छ र एउटा मान्छेले अर्को मान्छेलाई गोलीको निशाना बनाउनु मेरा लागि पीडाको सूचक बन्छ तर युद्धले यस्ता समवेदनाहरु निर्ममतापूर्वक कुल्चिरहेको हुन्छ । सैनिक मनलाई कठोर बनाउन बाध्य बनाइरहेको हुन्छ । कर्तव्यपरायणताको नाममा युद्धको कर्मठ सिपाही हुनु मेरो दिनचर्या बनेको छ । कमाण्डरको आदेश पालना मैले गर्नै पर्छ । म आज युद्धरत विद्रोहीको अपरेशनका लागि जानु छ र त्यसैका लागि तयार हुंदै छु ।

मेरा हात खुट्टा लगलग काप्न थाले, हातको राइफल छुट्ला झै भयो । मानौ मभित्रको सैनिकले आत्मसमर्पण गरिसकेको छ । वैरीलाई समाप्त पार्ने सैन्य शक्ति निस्तेज बन्दै गरेको महसुश भएको छ र म अव सैनिक होइन सैनिकको भेषमा कातर बनिरहेको छु । मेरो अगााडिको दृश्य सपना थिएन । तीन बर्षको अन्तराल पछि एक्कासी जुन आकृति मेरा सामु देखा प¥यो एक पटक त मैले विश्वासै गर्न सकिन । तर सत्य मैले देखेको नै थियो । मैले जुनुलाई यस रुपमा देख्छु भन्ने कल्पना सम्म गरेको थिइन । उसको हातमा पनि राइफल थियो । ऊ पनि म जस्तै कम्व्याक्ट ड्रेसमा थिई । हाम्रो जम्काभेट आज अनौठो समय र परिस्थितीमा भएको छ, जहाँ हाम्रा लक्ष्य विल्कुलै भिन्न र अलग छन् । हामी विच रहेको त्यो भावनात्मक सम्बन्ध आज यस्तो मोडमा आइ पुगेको छ जसकोे अनुमान हामी दुवैले गर्न सक्ने कुरै भएन । हाम्रा आँखा जुधे । उसले मतिर सोज्याएको राइफल झुकाइ, मैले पनि राइफल तल गरें । साँझको गोधूलीसंगै वातावरणमा मान्छेका अनुहारहरु अस्पष्ट र धुमील बन्दै गएका छन् । तैपनि मैले उसको अनुहार प्रष्ट देखिरहेको छु । मैले उसको अनुहारमा देखिरहेको छु एउटा दृढता अनि अनौठो आत्मविश्वास । मैले देखेकि जुनु, जसको अनुहारमा तीन बर्ष अघि सम्म मेरा लागि माया छचल्किएको पाउंथे, आज मैले देखिरहेको छु एक किसिमको आक्रोश,दृढता अनि युद्ध प्रति समर्पण । उसमा देखिएको आत्म विश्वास,समर्पण र दृढताले मलाई पनि आश्चर्यमा पा¥यो किनभने मैले उसको कोमल हृदयलाई नजीकबाट बुझेको थिएँ,भोगेको थिएँ र चिनेको थिएँ । ऊ अत्यन्तै कोमल र भावुक केटी हो । हामी स्कूल पढ्दाको समय मेरो स्मृतीपटलमा अझै पनि ताजा छ, लाज संकोच र स्त्री सुलभ लज्जा अनि भावुकता उसका गहना नै थिए । मैले कति पटक उसको तर्फबाट स्कुलमा शिक्षकहरुसंग उसका कुरा राखेको थिए । तर आज मैले उसमा ती सवैको अभाव महसुस गरिरहेको छु । हामी आँखै आँखाले बोल्यौं त्यो भन्दा बढी त्यहाँ सम्भव पनि थिएन । मैले एउटा चिट लेखेर उसको हातमा राखि दिएँ उसले पनि अवाक त्यो समाति । फायरिङ्गको आवाज सुनियो । दुवैतिरका लडाकुहरु भागाभाग गरें, हामी पनि यसै भागदौडका विच विछोडियौं । हाम्रो अपरेशन त्यस दिनका लागि स्थगित भयो । हामी व्यारेकमा फक्र्यौ । म त्यो रात निदाउन सकिन । मैले जुनुलाई नै सम्झिरहें । जुनुमा आएको परिवर्तनलाई अनेक तरहले विश्लेषण गरि रहें । के कारणले जुनु बन्दुक उठाउन बाध्य भई ? मेरो मथिगंलमा मन्थन भैरह्यो,निद्रा पटक्कै लागेन,कोल्टे फेरिरहें थाहा भएन मेरो मन्थनले कति खेर विश्राम लियो ? भोली पल्ट सहकर्मीको आवाजले म व्यूझे । झ्यालको छिद्रबाट घामको किरणले चिहाउंदै थियो ।

आज ममा एउटा अनौठो अनुभूति भइरहेको छ । मैले विद्रोही पक्षको एउटा सिपाहीलाई भेट्नका निम्ति आमन्त्रण गरेको छु, यस सुनसान ठाउमा, जहाँ फगत म एक्लै आएको छु । कस्तो अनौठो परिस्थिती ? हामी यसरी नै एक्लै भेट्ने गर्दथ्यौं केही बर्ष पहिले, मायाका मिठा मिठा कुरा गर्न तर आज एउटा भिन्न अवस्था र परिवेश हामी माझ सिर्जना भएको छ । केही क्षणको पर्खाइ पछि जुनु आइ, ऊ संग एउटा दश एघार बर्षको ठिटो पनि थियो । नियालेर हेर्ने हो भने त्यो ठिटाको अनुहार र जुनुको अनुहार मिल्दो जुल्दो लाग्दथ्यो । जुनु म नजीकै आइ,उसका आँखा ओइलाइसकेका थिए, रषिला नयन शुष्क बनेका थिए, मुहारमा कुनै चमक थिएन, ऊ सुगन्ध विनाको कागजी फूल जस्तै देखिन्थि । मैले उसलाई बस्ने संकेत गर,ें उ म नजीकै बसी । उसको देव्रे पट्टि पछाडि त्यो ठिटो पनि बस्यो । केही क्षण सम्म उसले पनि मुख खोलीन मैले पनि मौनता भङ्ग गर्ने शव्द भेटिन । उसले नै मौनता तोडिं “ मलाई यहाँ किन वोलाएको विशाल”? मैले अझै पनि बोल्ने शव्द भेटेको थिइन । केही क्षण मेरा आँखा एकोहोरो उसैको अनुहारमा केन्द्रित भए । मैले केवल यति मात्रै भनें, जुनु के भयो तिमीलाई ?

“सुन्छौं मलाइ के भयो भन्ने कुरा ? सुन्न सक्छौं ”? उसको वोलीमा कठोरता र आक्रोश स्पष्टै थियो ।

म पनि अत्यन्तै शालीन हुंदै वोलें “भन जुनु म पनि सिपाही हुं जस्तो सुकै कठोर कुरा पनि सुन्न सक्छु” ।

“त्यसो भए सुन” जुनुले अगाडि भन्दै गई “ तिमी जस्तै सैनिकले मेरो अस्मिता लुटे यति मात्रैले पुगेन ती दुष्टलाई, मेरा निर्दोष बाबा आमा र ठूलो भाईलाई मेरै आँखा अगाडि निर्ममता पूर्वक गोली हाने” ।

मैले सोधें “यो कसरी भयो”?

“त्यही त म भन्छु कसरी मारिए मेरा निर्दोष वावा आमा र भाई ” ? उस भित्रको पिडा उम्लिरहेको थियो उसले अगाडि भन्दै गई“करिव अढाइ बर्ष अघिको घटना हो हाम्रो गाँउमा व्यापक रुपमा सर्च भयो, हाम्रो घरमा पनि सर्च गरियो । सर्च कै क्रममा एक जन सिपाहीले म माथी हातपात गर्न थाल्यो बाबाले प्रतिकार गर्नु भयो । प्रतिकार कै कारण उहाँलाई विद्रोहीका नाममा मारियो ” ।
मैले सोधें, “अनि तिमीलाई कसरी छोडि दिए त ”?

उसले अगाडि भनी, “ती भक्षकहरुको झम्टाइले म बेहोश भएछु । रक्सिको नशाले मातेका ती नरभक्षकले मलाइ पनि मरेको भन्ठानेर गएछन्” ।

“अनि त्यस पछि के भयो” ?

“यो मेरो कान्छो भाई (केटातर्फ संकेत गर्दै) धान राख्ने धनसारको पछाडि लुकेको रहेछ । सिपाही गएको थाहा पाए पछि ऊ रोएको आवाजले मेरो वेहोसी खुलेछ” ।

“अनि के भयो ?” मैले विस्मयका साथ सोंधें ।

“अनि मैले हार गुहार गरें, छिमेकीहरु आए र म त्यो रात छिमेकीहरुकै संरक्षणमा बसें ।”

मैले भने “तिमी माथी ठूलो अन्याय भएछ जुनु ।”

यस पछि ऊ वोलीन उसका आँखामा एक किसिमको प्रतिशोधको ज्वाला दन्किरहेको थियो । मैले देखें, मान्छे भित्रको त्यो कोमलाता कति छिट्टै कठोर हुंदो रहेछ । मान्छेहरु आफैमा केही पनि होइन रहेछ समय र परिस्थितीले मान्छेको लक्ष्य, कर्म र व्यबहारमा कति ठूलो प्रभाव पार्दो रहेछ । जुनुको जीवनमा आएको पीडादायी क्षणले उस भित्रको कोमलता माथी कठोरताले विजय प्राप्त गरेछ । मलाइ लाग्यो आज म जुन ठाउमा छु यसै संस्थाको एकजना उसको जिन्दगीको दुष्ट बनेको रहेछ । जुन संस्थालाई मैले अनन्य आस्था गर्छु त्यसैलाइ जुनूले अत्यन्तै घृणा गर्छे ।
ओहो कति दुखद घटना ? कठोर मान्छेको मुटु पनि च्वास्स दुख्ने । मैले जुनुका कुरा सुने पछि आँखा पुछें । मैले जुनू जस्ता सयौं लडाकुहरुलाई गोलीको निशाना बनाइ सकेको छु तर पनि आज मेरा आखा रसाएर आएका छन् । हामीलाई विद्रोही भनेको केवल देशको दुश्मन मात्र हो भनेर सिकाइन्छ तर विद्रोही पनि निश्चित लक्ष्य बोकेका हुन्छन् भन्ने हेक्का किन गरिदैन ? यदि यिनीहरुले भने जस्तो गरि परिवर्तन भयो,मुलुकको मुहार फेरियो र परिवर्तनको वाहक यिनीहरु नै भए भने त्यस दिन हामी राष्ट्रका दुश्मन हुन सक्छौं । मारामार र काटाकाटको यो श्रृङ्खलाको अन्त्य जरुरी छ । मेरो अन्तरमनले यस्तै भनिरहेको छ ।

म एकोहोरिएको देखे पछि जुनूले मलाई हेर्दै बोली “विशाल तिमी जुन धरातलमा छौ त्यो मेरो धरातल हुनसक्दैन” ।

“जुनू तिमी मुलुकको मुहार फेर्न लडेको भन्छ्यौ म पनि देशका खातिर लडेको छु हाम्रो धरातल किन एउटै हुन सक्दैन ”?

“विशाल तिमी मालिकका लागि लड्छौ म जनताका लागि लड्छु भिन्नता यहि नेर छ कसरी एउटै हुन्छ”?

मैले भावनाको सहारा खोजें “अन्नतः भावनाका हिसावले मान्छेको धरातल एउटै होइन र ?

जुनु अलि आक्रोशित हुंदै बोली “यो प्रश्न मलाइ होइन तिम्रा ति साथीहरुलाइ सोध जसले मेरा बावा आमालाई विद्रोहीका नाममा मारे त्यती वेला उनिहरुको मानवीय धरातल के थियो ? विशाल तिमी मालिकले अह्राएको काम गर्छौ हामी विवेक प्रयोग गर्छौ ।

“जुनू त्यसो होइन सैनिकले आदेशको पालना गर्छ विवेक होइन , राज्यको निर्देशन मान्नु हाम्रो कर्तव्य हो”

“कर्तव्य पालना गर्ने नाममा विवेक शून्य हुनु कत्तिको जायज हुन्छ” ?

“म तिम्रो कुरासंग सहमत छु तर कहिलेकाहीं अनुशासनको सीमा पनि हुन्छ ।”

“विवेकलाई अनुशासनको अधिनस्त राख्नु हुंदैन विवेक सधै भरी सर्वोपरि हुन्छ ।”

“म तिम्रो यस कुरासंग पनि सहमत छु तर आदेशको पालना… ।”

“हो मैले भन्न खोजेको पनि त्यही हो आदेशको अगाडि विवेक निस्तेज हुन्छ”

मेरा अगाडि उसको तर्कलाई उछिन्ने शव्द छैन, म मुकदर्शक बन्न पुग्छु । मैले बुझेकी जुनूमा धेरै परिवर्तनहरु भएछन् अव उस भित्रको कोमल मनमा कोमलताको कुनै अवशेष छैन । हुन त म पनि कठोर भैसकेको छु । मैले पनि विद्रोहीका नाममा धेरैको ज्यान लिने काम गरेको छु । मैले त्यसलाई जिवन निर्वाहको लागि कर्तव्य पालना गरेको भन्ने अर्थमा लिएको छु । तर आज मलाई लागिरहेको छ वास्तवमा मेरो कर्तव्यपरायणता विवेकशून्य त थिएन ? मैले आफ्नो कर्तव्य पालनाको नाममा धेरै निर्दोष र ववुरा जनताको रगत बगाएको छु । आदेश मान्ने नाममा विवेक गुमाएको छु । हुन त मलाई जुनू पनि एकपक्षीय रुपमा कसैका लागि लडिरहेकी छे भन्ने लाग्छ । उसले पनि कसैको आदेशमा बन्दुक उठाएकी हो । उसको मन भित्र लागेको घाउमा मलम लगाउने उत्तम विकल्प त्यही नै हो भन्नेमा म सहमत हुन सकेको छैन तथापि उसले आफ्नो अन्तरमनको आवाज सुनेकी हो भन्नेमा भने म पूरा पूर विश्वस्त छु । बनदुकले कसैको जीवन रक्षा गर्न सक्दैन तर पनि सुरक्षाका नाममा बन्दुक नै उठाइन्छ । कसैको जीवन रक्षा गर्न नसक्ने साधनले सुरक्षा कसरी दिन सक्छ ? मैले यस प्रश्नको उत्तर भेटेको छैन ।

मेरो विचार तन्द्रलाई विथोल्दै जुनु वोली “विशाल धेरै अवेर भयो अव जानु पर्छ ।”

मेरो आवाज खोसिएको थियो मैले केवल सम्मती सूचक टाउको मात्र हल्लाएँ र भने “हुन्छ हुन्छ ।”

हुन पनि निक्कै अवेर भएछ, विगतको समय र घटनाक्रममा रुमलिंदा रुमलिंदै मैले कति छिटो विर्सेछु ऊ त भूमिगत छापामार हो जसलाई यति अवेर सम्म यसरी बस्न सुरक्षाका दृष्टिले खतरा हुन सक्छ भन्ने कुरा ।

मैले उसलाई विदा गरें । ऊ आफ्नो बाटो लागि । मैले ऊ गएको बाटो हेरिरहें मेरो दृष्टिले भ्याए सम्म । मैले सोचिं रहे उसको गन्तव्य कहाँ होला ? उसका पाइलाहरु अव कता मोडिएलान् ? उस भित्रको कठोरता के कोमलतामा रुपान्तरण होला ? मलाई लाग्यो म जसरी कसैका लागि लडिरहेको छु कर्तव्यका खातिर, ऊ पनि कसैका लागि लडिरहेकी छे कर्तव्यकै लागि । हाम्रो लक्ष्य र गन्तव्य फरक भए पनि आ–आफ्नो बुझाइको कर्तव्यमा लडिरहेका छौं । अन्ततः यस लडाइले मलाइ लागिरहेको छ हाम्रो सामुहिक विनाश सुनिश्चित छ । किन भने मेरो बन्दुकले पनि यसै देशका मान्छे मर्नेछन् र उसको बन्दुकले पनि यसै देशका नागरिक मर्नेछन् । अथवा हामी दुवैको बन्दुकले अन्ततः मान्छे कै ज्यान लिनेछ । हामी हाम्रो विनाशको शस्त्रलाई सदाका लागि मिल्काउन चाहिरहेका छैनौं । हामी सुनिश्चित मृत्युको खेल खेली रहेका छौं । भोली म पनि मृत्युको मुखबाट बच्न सक्दिन र ऊ पनि यस्तो नियतीलाई छल्न सक्दिन । फरक यति मात्र हो मेरो गोलीले ऊ मर्दा उसको तर्फबाट शहीद भनिन्छ भने उसको गोलीले म मर्दा मेरो तर्फबाट मलाइ शहिद घोषणा गरिन्छ । अन्ततः हाम्रो नियती भनेको फोस्रो सहिद सिवाय अरु केही हुन सक्दैन ।

जुनु निक्कै पर पुगि, मैले एक टक उसैलाई हेरिरहें । उसले मलाई विदाइको हात हल्लाई मैले पनि हल्लाए । मेरा आँखा रसाएर आए । मलाइ भक्कानो छुटेर आयो । चारै तिर अध्यारो भयो । मेरो शरिर थरथर काप्यो । म शक्तिहिन जस्तै बने । नजीकैको रुखको सहारा लिंदै थचक्क बसें । केही पर गोली चलेको आवाज आयो संगै एउटा नारी चित्कार पनि सुनियो । मेरो अन्तरमनमा कसैले “विशाल” भनेर पुकारेको अनुभूती भयो । त्यो चिच्याहट मलाई जुनुको झै लाग्यो । नभन्दै जुनु त हाम्रै साथीहरुको गोलीको सिकार हुन पुगिछ । म ऊ ढले तिर दौडिएँ । उसको शरिर अन्तिम छटपटाहटमा थियो । उसले अत्यन्तै पिडाका साथ बोली “विशाल” ।

“जुनु” उसलाई मैले छातिमा टाँसे । उसले त्यस पछि केही वोलिन । शरिर निस्तेज बन्यो । मैले उसलाई एकोहोरिएर हेरिरहें अघि सम्मको सुष्क अनुहार धपक्क बलेझै लाग्योे । अनुहारमा कहिंकतै चिन्ता र भयका रेखाहरु थिएनन् । लाग्दथ्यो उसले सहर्ष मृत्युवरण गरेकी हो ।

नजीकै कतै फेरी गोली चलेको आवाज सुनियो । स¥याङ्ग सुरुङ्गको ध्वनी तरङ्गित भयो । मान्छेहरु भागाभाग गरे झै लाग्यो । नेपथ्यमा “ए भाग भाग”को आवाज सुनियो । हावामा एउटा रगरगाउंदो गोलीको सनसनाहट भयो । मेरो छातीमा च्वास्स के विझ्यो, “अइया.. ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button